
रौतहट । रौतहटमा रहेका दुई जना पुरुषमा सोमबार कोरोना संक्रमण भएको पुष्टि गरिएको छ । जसमध्ये वृन्दावन नगरपालिका-९ का पुरुष तीन साताअघि कलकताबाट आएका थिए ।
त्यसैगरी देवाहीगेनाही नगरपालिका- १ का पुरुष दुई साताअघि दिल्लीबाट आएका थिए ।
दुबै जनाको जनपुरमा गरिएको आरडीटी परीक्षणमा पोजेटिभ देखाएपछि जनकपुरमै पीसीआर परीक्षण गरिएको थियो । पीसीआर परीक्षण नतिजा नेगेटिभ देखाएपछि बृन्दावन-९ का पुरुषलाई घर पठाइएको थियो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणका क्रममा उनको कोरोना परीक्षण नतिजा पोजेटिभ आएपछि उनलाई आइसोलेसनमा राख्ने तयारी भइरहेको बताइएको छ ।
त्यसैगरी दिल्लीबाट आएका पुरुषमा पनि कोरोना नेगेटिभ आएपछि उनलाई स्थानीय विद्यालयमा बनाइएको क्वारेनटाइनमा राखिएको थियो । उनलाई पनि आइसोलेसनमा राख्ने तयारी भइरहेको छ ।
रौतहट कोरोना संक्रमितको संख्या तीन पुगेको छ भने देशभर कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । हालसम्म १६ जना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएका छन् ।
रौतहटमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५४