कोरोनाको डरले गाउँ फर्केको जनशक्तिलाई खेतीमा लगाउन सक्ने हो भने नेपालको ग्रामीण अर्थतन्त्रको दिगो उत्थान हुनसक्छ । अहिले नेपालकै ठूला सहर र वैदेशिक रोजगारीमा गएकाहरू समेतको ठूलो संख्या गाउँ फर्केको छ । बन्दाबन्दी केही खुकुलो हुनेबित्तिकै अर्को ठूलो संख्या घर फर्कने निश्चित छ । खाडीका कतिपय मुलुकले त कामदारलाई स्वदेश फर्कन म्याद दिन थालेका छन् । खाडी मुलुकहरू वैदेशिक रोजगारीमा जाने नेपालीको पनि प्रमुख गन्तव्य हो । मध्यपहाड र लेकाली भेगका गाउँमा अधिकांश पाखो बारी बाँझै छन् । तीन बाली हुने खेतमा सकेम मुस्किलले एक बाली लगाउने गरिएको छ । अन्न वा अरू बाली धेरै भएर खेतबारी बाँझो राखिएको भने हैन । खेतीका लागि चाहिने श्रमशक्ति नभएकाले खेतबारी बाँझो रहेको हो । कृषि योग्य जमिन बाँझो रहेन भने नेपालीलाई पर्याप्त खाद्यान्न देशभित्रै उब्जिन्छ । यसै पनि कोरोनाभाइरसको कहरबाट अर्थतन्त्रलाई जोगाउने हो भने खेतीमा विशेष जोड दिनुभन्दा उत्तम विकल्प नेपालसँग छैन । त्यसका लागि अहिले सबैभन्दा सही समय हो । देशभित्र ठूलो संख्यामा रोजगारी दिने उद्योग धन्दा छैनन् । व्यापक औद्योगीकरणका लागि देशमा पुँजी र बजार छैन । अन्तर्राष्ट्रिय बजारको भर नहुने रहेछ भन्ने कोरोनाभाइरसको प्रकोपले पनि पुष्टि गरेको छ ।
अहिले गाउँमा फर्कने लगभग सबै नै युवा हुन् । यो निस्क्रिय रहन र राख्न नहुने जनशक्ति हो । तर, गाउँमा खेतीबाहेक यति ठूलो श्रमशक्तिका लागि खासै अरू काम छैन । यता गाउँमा फर्केकाहरू सहर कहिले जान सक्ने हुन् भन्ने निश्चित छैन । त्यतिमात्र हैन सहरमा तिनले गर्दै आएका कतिपय काम फेरि सुरु हुने हो वा होइन र अनौपचारिक क्षेत्रका कामदारले काम पाउने हुन् कि हैनन् भन्ने पनि अनिश्चितै छ । कोरोनाभाइरसको संकटपछि अहिलेको विकासको ढाँचाका साथै काम गर्ने शैली र संस्कृतिमा पनि ठूलो परिवर्तन हुने प्रक्षेपण गर्न थालिएको छ । फलस्वरूप, प्रत्यक्ष श्रम आवश्यक पर्नेबाहेक अरू कतिपय काम घरैबाट गरिने वा मेसिनले गर्ने हुनसक्छ । यसैले सरकारले बेलैमा बुद्धिमानी देखाउने हो भने अहिले गाउँमा फर्केका युवालाई त्यहीँ खेतीमा संलग्न गराउन आकर्षक कार्यक्रम तत्काल लागू गर्नु आवश्यक छ । यस्तै संकट नभएको भए यस पुस्ताको खेती र माटोसँगको नातै टुट्ने थियो । अहिले माटोको मोह बााकी छँदै सम्बन्ध पुनः कायम गर्न सके त्यो स्थिर हुनेछ ।
नेपालले अहिले अपनाएको अर्थतन्त्रले परनिर्भरतामात्र बढाएकोे छ । कोरोनाभाइरसको छोटो प्रकोपले अर्थतन्त्रका आधारहरू वैदेशिक रोजगारी, पर्यटन, वैदेशिक मुद्रा कमाउने निर्यातजस्ता सबै क्षेत्र लगभग ध्वस्त भएका छन् । वैदेशिक मुद्रा आर्जन हुने बाटो बन्द हुँदै गएपछि उपभोग, आयात र भन्सार राजस्व पनि घट्दै जानेछ । त्यस अवस्थामा खेतीसम्म जोगाउन सके जनतालाई भोकमरीबाट जोगाउन कसैलाई गुहार्नु पर्नेछैन । यसैले सरकारले तत्कालै खेतीमा प्रोत्साहन गर्ने आकर्षक कार्यक्रम घोषणा गरोस् । गाउँ फर्केको युवा जनशक्तिले सहरको अनौपचारिक क्षेत्रमा श्रम गर्दा हुने आम्दानी गाउँमा आफ्नै खेतीबाट पाउन थाल्यो भने नहिचकिचाईकन काममा लाग्न सक्छ । उत्पादनले बजारमा सही मूल्य पाएन भने सरकारले किन्ने सुनिश्चित गर्ने र बाली तथा पशुको बिमा राज्यले गरिदिने हो भने सम्भवतः युवा जनशक्तिलाई खेतीतर्फ आकर्षित गर्न सकिनेछ । सरकारले यसै आर्थिक वर्षका लागि विनियोजन गरेको तर कार्यान्वयन हुन नसक्ने विकास आयोजनाको रकम रकमान्तर गरेरै पनि उपलब्ध गराउन सके गाउँको अर्थतन्त्रमा तत्कालमात्र हैन दिगो सकारात्मक प्रभाव पर्नेछ । सरकारले तत्काल ध्यान देखोस् !