‘‘नागरिकको जीवन रक्षाभन्दा महत्त्वपूर्ण कुरा अरू हुन सक्तैन’’ भन्ने प्रधानमन्मन्त्री केपी शर्मा ओलीको कथनमा विवेक भएको कसैले पनि विमति जनाउँदैन । तर, उनको सरकारले घोषणा गरेका नीतिहरूमा भने नागरिकको जीवन रक्षा र सुविधालाई खासै महत्त्व दिइएको देखिएन । उदाहरणका लागि सरकारले बन्दबन्दीको (लक डाउन) अवधि एक साता बढाउने घोषणा गर्दा त्यसबाट दैनिक मजदुरी गर्नेहरूको जीवन सहज बनाउने कुनै विशेष कार्यक्रम समावेश भएन । स्थानीय तहबाट वितरण गरिएका सहायता पनि वास्तविक गरिबभन्दा राजनीतिक दलका कार्यकर्ता र तिनका कृपापात्रको हातमा परेको गुनासो सुनिएका छन् । परन्तु, प्रधानमन्त्री ओली आफ्ना सहयोगीहरूमाथि लागि भ्रष्टाचारको आरोपको बचाउमा बढी नै केन्द्रित रहे । कोरोनाको संक्रमणै भएको छैन भन्दै हिँड्ने उनका गैरजिम्मेवार मन्त्रीहरूको प्रतिरक्षामा समय खर्चेर उनले देशवासीमा आशा र भरोसा सञ्चार उत्पन्न गराउने अर्को अवसर गुमाएका छन् ।
प्रधानमन्त्री ओलीले मंगलवार देशवासीलाई सम्बोधन गर्ने क्रममा सामाजिक सञ्जाल, सञ्चार माध्यम र समाजमा सरकारप्रति व्यक्त रोषलाई ‘कुप्रचार’ र ‘बेमौसमी बाजा’ भनेर पुनः संवेदनहीनता प्रकट गरेका छन् । कोरोनाको महामारी सामना गर्न सिंगो राष्ट्र एक भएको र रहनुपर्ने यस अवसरमा उनले कटुतापूर्ण अभिव्यक्ति नदिएको भए बेस हुन्थ्यो । जनसाधारण यसै पनि कष्ट र त्रासमा छन् । सरकारले सुरुमा लामो समयसम्म कोरोनाको संक्रमण हुनसक्ने अवस्थालाई नै अस्वीकार गर्यो । त्यसपछि पनि अरू केही साता अकर्मण्यतामा बिताइदियो । अन्तिम अवस्थामा तातेको देखाए पनि सरकारको सिंगो संयन्त्र कमिसनको चक्करमा फस्यो । महँगो मूल्यमा कम गुणस्तरका सामान ल्याएपछि भएको चर्को आलोचनाको दबाबमा सरकारले नै ठेक्का रद्द गरेर ठेकेदारको धरौटी जफत गर्ने निर्णय गर्नु पर्यो । अहिलेसम्म सरकारले गरेको भनिएको काम यिनै हुन् । यिनको विरोध गर्दा ‘कुप्रचार’ भन्नु संकटका बेला देशवासीसँग एक भएर उभिनुपर्ने प्रधानमन्त्रीका लागि शोभनीय भएन ।
केही व्यक्तिले अज्ञान वा हेलचेक्य्राइँवश बन्दाबन्दीको उल्लंघन गरे होलान् तर बहुसंख्यक नेपालीले बन्दाबन्दीको घोषणालाई अवज्ञा गरेका छैनन् । मध्यपहाडबाट पैदलै हिँडेर तराई झर्ने वा महाकालीमा हाम फालेर नदी तर्नेहरूले बन्दाबन्दीको अवज्ञा गरेको ठान्नु न्यायोचित हुँदैन । सरकारका हर्ताकर्तामा नागरिकप्रति दायित्वबोध भए ज्यान जोगाउन भएका यस्ता घटनाको गम्भीर समीक्षा गर्नुपर्थ्यो । प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधनमा त्यस्तो समस्याको सम्बोधन गर्नुपर्थ्यो । ‘जो जहाँ छ त्यही बस्नु' भनेरमात्रै पुग्दैन भन्ने बुझ्नुपर्थ्यो । रह्यो ‘‘सरकारलाई असफल देखाउन र आफ्ना विभिन्न प्रकारका निहित स्वार्थ पूरा गर्न चलाइएका प्रचारबाजी’’ को आरोप । प्रधानमन्त्री ओलीले पनि बुझ्नुपर्ने हो अहिले प्रमुख विपक्ष र नागरिक समाजले सरकारलाई साथ दिएको देखिएको छ । सरकार असफल भए पनि विपक्षीहरू सत्तामा जाने सम्भावना छैन । यसैले अहिले सरकार असफल हुनेगरी ‘कुप्रचार’ गरेर कसैलाई लाभ हुन्छ भने तिनीहरू उनै अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रै होलान् । देशलाई बन्धक बनाएको नेकपाभित्रको आन्तरिक कलहको समाधान भित्रै खोज्नु उचित हुनेछ । प्रधानमन्त्री ओली आफ्नो स्वास्थ्य र राष्ट्रिय संकटको हेक्का राखेर महाभारतका दुई खलपात्र ‘धृतराष्ट्र’ र ’दुर्योधन’को संयुक्त अवतारमा प्रकट हुनुभन्दा शान्त, संयमित तथा विवेकी भइदिएको भए नेपालीलाई थोरै भने पनि भरोसा हुने थियो ।