बन्दाबन्दी (लक डाउन)को १४औं दिन समाप्त गरेर नेपालीहरू अब सरकारले कस्तो प्रकारको ‘लकडाउन’ लागू गर्ला भन्ने प्रतीक्षामा छन् । दुई साताको लकडाउन सकिँदा जनमानसमा मुख्यरूपमा दुई प्रकारका विचार देखिएको छ । पहिलो समूह अलि सानो छ जो अब लकडाउन बिस्तारै खुकुलो बनाउँदै जानुपर्ने धारणा राख्छ । दोस्रो समूहमा त्यस्ता व्यक्ति छन् जो कोरोना (कोभिड–१९) सँग बढी नै त्रस्त छन् र अझै एक साता लकडाउन लम्याउनुको विकल्प नभएको ठान्छन् । यो समूह अलि ठूलै छ । किनभने धेरैको विचारमा दुई साताको लकडाउनले गर्दा नेपालमा कोरोना फैलन नपाएको हो । तर, यो समूहले तेस्रो साता सकिएपछि के गर्ने भन्ने सोचेको छैन । पहिलो लकडाउनको दसौं, बाह्रौं दिनसम्म पनि नयाँ संक्रमित देखिएका छन् भने नयाँले संक्रमण सारेका व्यक्ति अझै दस–बाह्र दिनपछि पनि देखिन सक्छन् र तिनले सारेका व्यक्तिमा अर्को दस बाह्र दिनपछि देखिन सक्छ । अर्थात्, नेपाललाई भाग्य र मौसमले साथ नदिएको खण्डमा हरेक पल्ट २१ – २१ दिनको लकडाउन थप्दै जानुपर्ने अवस्था हुनसक्छ । पहिलो २१ दिनपश्चात अर्को साता लकडाउन गर्नुपर्ने अवस्था आयो भने आर्थिक अभाव, मानसिक तनाव, भ्रष्टाचारका विभिन्न समाचारले गर्दा धेरै जनता लकडाउन तोड्दै सडकमा विरोध गर्न उत्रने जोखिम बढ्छ । त्यसैले बेलैमा विचार पु¥याउँदै अब एक साता विवेकपूर्ण लकडाउन लागू गर्नुपर्छ भन्ने बाह्रखरीको सुझाव छ । अहिलेसम्मका लकडाउन विवेकपूर्ण बन्न सकेको छैन । किनभने सडक खाली छ तर हरेक स्थानमा सडक, पेटी, चौतारा, चोकमा मान्छे भेला भएर गफमा व्यस्तै देखिन्छन् । बिहान र बेलुकी तरकारी र खुद्रा सामानको पसलमा अनुशासित भएर सामान खरिद गरेको देखिँदैन । अर्थात्, सहरी इलाकामा कोरोनाको संक्रमण समुदायस्तरमा फैलियो भने अहिलेको जस्तो लकडाउन रोक्न सफल हुँदैन । त्यसैले विवेकपूर्ण लकडाउन गर्नुको विकल्प देखिँदैन ।
के हो विवेकपूर्ण लकडाउन ? अहिलेको अवस्थामा विवेकपूर्ण लकडाउन भनेको देशभर प्रदेशस्तरीय लकडाउनलाई कायमै गर्ने । मिलेसम्म जिल्लास्तरीय लकडाउनलाई पनि अरु एक साता लगाउने । प्रदेशभित्रका स्कुल, कलेज, पार्टी प्यालेस, सिनेमा, नाटकघर, पौडी पोखरी, खेलकूद मैदान, मन्दिर, मस्जिद, चर्च, जस्ता धेरै मानिस भेला हुने स्थानको बन्द कायमै राख्ने । तर, मानिसलाई एक्लाएक्लै (आफ्नै परिवार भए दुईजनासम्म) सडकमा हिँड्न वा निजी सवारी साधनमा सवार हुन नरोक्ने । सार्वजनिक यातायातको हकमा ३० प्रतिशत क्षमतामा चल्न पाउने बनाउने र सबैले अनिवार्य मास्क लगाएकै हुनुपर्नेमा कडाइ गर्ने । अति आवश्यक वस्तुका पसल सुपरमार्केट्हरूमा एउटा दूरी राखेर कुनै पनि बेला खरिदविक्री गर्ने वातावरण बनाउने । अन्य प्रकारका पसललाई दिउँसो १० बजेदेखि ५ बजेसम्म खोल्न दिने । दिउँसो मात्र खोल्नु दिनुपर्ने चाहिं तापक्रम बढी भएको समयमा काठ, फलामजस्ता सामानमा वा वातावरणमा भाइरस लामो समय बाँच्दैन भन्ने वैज्ञानिक अवधारणाका कारणले हो । निजी कार्यालयहरू सबैलाई एकपल्टमा आधा कामदारमात्र राखेर चलाउन जानकारी गराउने । धेरै नै नजिक बसेर (तीन फिटभन्दा कम) काम गर्नुपर्ने कार्यालय, कारखानामा एक तिहाइलाई मात्र काममा बोलाउन पाउने नियम बनाउने । धेरै यस्ता कार्यालयलाई दुई सिफ्टमा काम गर्न प्रेरित गर्ने । सर्वसाधारणलाई सामाजिक दूरी कायम गर्न सिकाउने काममा सबै स्थानीय सरकारलाई परिचालन गर्ने । राजनीतिक कार्यकर्ता, सामाजिक कार्यकर्ता सबैलाई सामाजिक दूरी र स्वस्थ रहनसहनका लागि जनतामा जागरुकता ल्याउनका लागि परिचालन गर्ने । सबै कार्यालय, सार्वजनिक स्थानमा बारम्बार कीटाणुनाशक औषधि छर्ने । सुरक्षा निकायलाई सडक खाली राख्न र बल प्रयोग गर्न होइन जनतालाई सुरक्षित भएर हिँड्न सिकाउनका लागि तालिम प्रदान गर्ने ।
विवेकपूर्ण लकडाउन पालना गर्न र गराउन सहज छैन । एकैपल्ट सबैथोक बन्द गरेर गौँडामा प्रहरी तैनाथ गरी सहर शून्य बनाउन सहज हुन्छ । तर, समुदाय जिम्मेवार नभएको खण्डमा निःस्तब्ध सहरमा पनि टोल टोल, गल्ली गल्लीमा भाइरस सल्किरहन्छ । यसबाट बच्न जनतामा सचेतना जगाउनु नै एकमात्र उपाय हो । यसका लागि सचेत जनतालाई नै घरघरबाट अनुशासन कायम गर्न परिचालन गर्नुपर्छ । यति सबै गर्दागर्दै पनि भाइरसको प्रकोप बढ्यो भने पुनः कडा लकडाउनमा जानबाट रोकिनु पर्दैन । तर, जम्मा नौ जना संक्रमणका बिरामी भेटिएको वर्तमान अवस्थामा राष्ट्रिय आपतकाल घोषणा गरेर आर्थिकरुपमा देशलाई ध्वस्त पार्नुभन्दा बीचबीचमा सास फेर्न सहज बनाउनु नै बुद्धिमत्तापूर्ण र विवेकपूर्ण निर्णय हुनसक्छ ।