‘‘सत्ताले भ्रष्ट बनाउँछ भने निरंकुश सत्ताले पूर्णतः भ्रष्ट बनाउँछ’’ भन्ने लर्ड अक्सनकै अर्को भनाइ छ – ‘‘निरंकुश सत्ताले नैतिकतालाई पनि भ्रष्ट बनाउँछ’’ । वर्तमान सरकारका क्रियाकलापले करिब दुई शताब्दी पहिलेका बेलायतका सम्भ्रान्त लर्ड अक्सनका प्राक्कथन पुष्टि गरेका छन् । पहिलेका काण्ड र बदमासी बिर्सने हो भने पनि कोरोनाभाइरस संक्रमणसम्बन्धी घटनामा देखिएका भ्रष्टाचार र बदनियतले सरकारलाई नैतिकरूपमै भ्रष्ट देखाएका छन् । सरकारले हतारमा किनेका सामान केही महँगो हुनुलाई स्वाभाविकै मानिएको थियो । धेरैले भ्रष्टाचार भएकै भए पनि संकट टरेपछि कुरा उप्काए हुन्छसमेत भनेका थिए । तर त्यसो भन्नेहरूलाई सामानको गुणस्तरसमेत कमजोर होला भन्ने पक्कै लागेको थिएन । शंकाको सुविधा दिनेहरू त नियतवश सामान किन्न ढिलो गरिएको भन्ने पनि पत्याउन तयार थिएनन् । तर, पतनको खाडलमा गिर्न उद्यतहरूले धेरैको विश्वास टुटाइदिए ।
कोरोना संक्रमणको परीक्षण र उपचारका लागि आवश्यक चिकित्सा सामग्र तथा उपकरणको खरिदमा भ्रष्टाचार भएको समाचार सञ्चार माध्यमहरूले सप्रमाण दिन थालेपछि त्यसको प्रतिवाद हुने अनुमान सहजै गर्न सकिन्थ्यो । तर, उनीहरू सञ्चार माध्यम नै बन्द गराउने मूर्खतामा उत्रने विश्वास गर्न भने कठिन हुन्छ । कारण, अहिले कसैले पनि त्यस्तो बदमासी गरेर धेरै समय लुकाउन सक्तैन । साथै, आफूविरुद्ध समाचार दिने सञ्चार माध्यममाथि उजुरी गर्ने विकल्प नअपनाएर बन्दै गर्न खोज्दा अभियोग नै पुष्टि भएको छाप जनमानसमा पर्छ । अभियोग सत्य नभए अदालतदेखि विभिन्न वैध निकायमा उजुरी गरेर न्याय खोज्ने हक सुरक्षित छँदाछँदै आत्तिएर सञ्चार माध्यम नै बन्द गराउनु हत्याराले देखिजान्ने साक्षीलाई मारेजस्तै हो । यस्तो मूर्खतापूर्ण क्रियाकलापबाट अभियोग स्वतः पुष्टि हुन्छ ।
अनलाइन पत्रिका ‘काठमाडौं प्रेस’ले चीनबाट सरकारले किनेको सामग्रीमा भएको भ्रष्टाचारको सचित्र समाचार प्रकाशित गरेको थियो । त्यसपछि समाचार हटाउनका लागि दबाब दिइएको र नमान्दा साइटमा समाचार अपलोड हुनै छाडेको जानकारी काठमाडौं प्रेसका सम्पादकले विज्ञप्तिमार्फत दिएका छन् । नेपाल पत्रकार महासंघले घटनाको छानबिन गरी दोषीलाई सजाय दिन माग गरेको छ । नेपालको संविधान, २०७२ ले सञ्चार माध्यम बन्द गर्न नपाइने प्रत्याभूति दिएको छ । यस्तो असंवैधानिक कार्य गर्नु उचित होइन भन्ने त प्रधानमन्त्रीको सचिवालयमा नियुक्त व्यक्तिहरूलाई पक्कै थाहा हुनुपर्ने हो । संकटका बेलामा चिकित्सा उपकरण र सामग्रीको गुणस्तरमा सम्झौता गर्नु हुँदैन भन्ने पनि तिनलाई थाहा नै थियो होला । तैपनि उनीहरू त्यस्तै काममा मात्र लागि रहेका छन् । लाग्छ, दुर्योधनको नियति यिनले पनि भोग्दैछन् ।
महाभारतको उद्योग पर्वमा कृष्ण दुर्योधालाई सम्झाउन गएको एउटा प्रसंग छ । पाण्डवलाई उनीहरूको अधिकार नदिनु अधर्म हो भन्दा कृष्णलाई दुर्योधनको उत्तर हुन्छ –
‘‘जानामि धर्मं न च मे प्रवृत्तिः ।
जानाम्धर्मं न च मे निवृत्तिः ।।
केनानि देवेन हृदि स्थितेन ।
यथा नियुक्तोस्मि तथा करोमी ।।’’
अर्थात्, धर्मका बारेमा थाहा छ तर मन लाग्दैन । अधर्म पनि थाहा छ तर त्यसबाट उम्किन सक्तिन । हृदयमा अवस्थित कुनै दैवी तत्त्वले जे जे भन्छ त्यसै गर्छु । यही प्रवृत्तिले हस्तिनापुरका राजकुमार दुर्योधनको पतन गरायो । ग्रिक दुःखान्तका नायक जानी जानी पतनको बाटामा लाग्छन् । उनीहरूलाई नियतिले त्यतै तानिरहेको हुन्छ । संकटका बेलामा समेत भ्रष्टाचारको मौका छोप्ने र त्यसलाई लुकाउन प्रेसको मुख थुन्न खोज्नु पतनको ढोका खोल्नु नै त हो ।