भारतको अराजकता, अस्तव्यस्तता र अकर्मण्यताको असरबाट जोगिन नेपाललाई सजिलो हुँदैन । कोरोनाभाइरसको संक्रमणलाई भारतले पनि सुरुमा सामान्यरूपमा लियो । नेपाल भारतकै सिको गरेर बस्यो । जनतालाई पर्याप्त सुसूचित र आश्वस्त नपारी दुवै देशका सरकारले लामो बन्दाबन्दीको घोषणा गरे । दुवै देशमा दिनहुँ मजदुरी गरेर गुजारा चलाउनेहरूको संख्या ठूलो छ । तीमध्ये अधिकांश घर छाडेर कामको खोजीमा सहरतिर पसेका छन् । एकाएक बन्दाबन्दी हुँदा र बन्दाबन्दी (लकडाउन) भनेको जो जहाँ छ त्यहीँ रोकिने हो भन्ने थाहा नदिँइदा श्रमजीवीहरू बढी नै आत्तिए । र, उनीहरू जसरी पनि आफ्नै घर फर्कन थाले । भारतमा लाखौं श्रमजीवीहरू बसहरूमा घुइँचो गरेर वा पैदलै पनि सयौं किलोमिटरको यात्रामा हिँडेको दृश्य समाचारहरूमा देखिएको छ । संख्यामा फरकमात्रै हो त्यस्तै दृश्य नेपालका सडकहरू र सीमा नाकामा पनि देखिएको छ । उनीहरूको अवस्था निकै दयनीय देखिन्छ । आफ्ना नागरिक त्यसरी बिचल्लीमा पर्दा पनि बेवास्ता गर्ने सरकारलाई तिनका तर्फबाट शासन गर्ने नैतिक अधिकार हुँदैन । चीनमा बिचल्ली परेका लागि हवाईजहाज पठाएर उद्धार गर्दा सरकारलाई सबैले धन्य भनेका थिए । गरिब भएकै कारण अहिले श्रमिकहरूको उपेक्षा गरिएको हो भने धिक्कार भन्नुपर्ने हुन्छ ।
बन्दाबन्दी (लक डाउन) गर्नुको तात्पर्य मानवीय सम्पर्कबाट सर्ने नोबल कोरोनाभाइरस (कोभिड –१९) को संक्रमणको कडी तोड्नु हो । तर, बसमा घुइँचो गर्दा वा हुल बाँधेर लामो दूरीको पैदल यात्रा गर्दा संक्रमणको कडी टुट्ने सम्भावनाको साटो जोडिने डर बढी हुन्छ । दार्चुलाको पुल पारी नेपाल प्रवेश गर्न चाहनेहरूको भिडमा एक जनामात्रै पनि संत्रमित व्यक्ति रहेछ भने सबैलाई कोरोनाभाइरसले आक्रमण गर्न सक्छ । उनीहरू आआफ्नो परिवारमा पुगेर एक्लै बस्नुको साटो सबैसँग घुलमिल भए भने एकैपटक हजारौं जना संक्रमित हुन्छन् । संक्रमण रोक्ने एउटैमात्र उपाय व्यक्तिगत दूरी कायम राख्नु हो भन्ने बुझेका भए उनीहरू त्यसी एकै ठाउँमा थुप्रिने थिएनन् । सके त जहाँ थिए त्यहीँ बस्थे । नभए पनि वैयक्तिक सुरक्षामा ध्यान दिन्थे । यता पहाडका भित्री भागबाट तराई वा भारतका सीमावर्ती क्षेत्रमा पुग्न पैदलै हिँड्नेहरू पनि उत्तिकै संक्रमणको जोखिममा छन् । उनीहरूले तय गर्नुपर्ने पूरै गन्तव्य पैदलै जानु परेका खण्डमा महिनौ लाग्नसक्छ ।
यसरी बन्दाबन्दीका बेला हुल बाँधेर हिँड्ने वा जम्मा हुनेहरू प्रायः विपन्न वर्गका श्रमिक हुन् । तिनलाई सरकारहरूले जहाँ बसेको छ त्यहीँ खाने र बस्ने प्रबन्ध हुन्छ भनेर आश्वस्त पार्न सकेको भए यसरी बिचल्ली हुनेगरी पक्कै हिँड्ने थिएनन् । उनीहरूलाई त्यसरी रोक्न सकिएको भए संक्रमणको जोखिमबाट नेपाल र भारत दुवै छिटै नै उम्कने थिए । तर, यी श्रमिकहरूमार्फत कोरोनाभाइरस गाउँगाउँमा पुग्यो भने स्थिति कति भयावह होला भन्ने कल्पना पनि गर्न सकिँदैन । सरकारी अधिकारीहरूमा सुझबुझ मानवीय संवेदना नहुँदा स्थिति निकै डरलाग्दो हुन पुग्यो । राज्य नागरिकको जीवन रक्षा गर्नुपर्ने प्राथमिक दायित्वबाट चुक्यो । अब पनि भारतले के गर्छ भनेर बस्ने हो भने नेपाल थप संकटमा पर्नसक्छ । भारतबाट नेपाल आउने नेपाली नागरिकलाई सीमामा रोक्नु असंवैधानिक र अमानवीय हुन्छ भने उनीहरूलाई विनानिगरानी परिवारमा मिसिन दिनु संक्रमण फैलाउन सघाउनुजस्तै हुनसक्छ । यसैले नेपाली वा भारतीय श्रमिकहरू कुनै सडक वा बजारमा बिचल्लीमा परेका भए तिनको उद्धार गरेर जहाँ छन् त्यही ‘क्वारेन्टिन’मा राख्ने व्यवस्था मिलाउन स्थानीय तहलाई सरकारले तत्काल निर्देशन देओस् । भारतबाट नेपाल पस्नेहरूलाई सीमा क्षेत्रमै १४ दिन क्वारेन्टिनमा राखेर घरघर पठाउने व्यवस्थाका लागि सरकारले सशस्त्र प्रहरी बललाई खटाए बेस हुनेछ । भारतले श्रमिकहरूको उपेक्षा गरेर जोखिम निम्त्यायो भन्दैमा नेपालले त्यसको सिको नगरोस् । चेतना भया, यो उपेक्षा संक्रमणको विजय यात्रा बन्न पुग्नेछ ।