site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अब्बल अबका यी तीन

काठमाडौं । गत वर्ष रिलिज भएको चलचित्र ‘बुलबुल’ पछि स्वस्तिमा खड्कालाई दर्शकले हेर्ने दृष्टिकोण नै परिवर्तन भयो । प्रायः चुलबुले भूमिकामा देखिने स्वस्तिमाले आफू गम्भीर भूमिकामा पनि उत्तिकै अब्बल रहेको प्रमाणित गरिन् । 

रणकलाको क्यारेक्टरमा देखिएकी स्वस्तिमाले ‘बुलबुल’मा यसरी जिवन्त अभिनय गरिन्, उनको कामको चौतर्फी प्रशंसा मात्रै भएन राष्ट्रिय अवार्ड नै हात पारिन् । केही इन्टरनेसनल फिल्म फेस्टिबलमा पनि उनको चलचित्रले बाजी मा¥यो । ‘बुलबुल’ सँगै उनले नेपाली चलचित्र क्षेत्रमा उदयीमान सशक्त नायिकाका रूपमा आफूलाई चिनाइन् । 

‘बुलबुल’मै अर्की कलाकार पनि छिन्, रणकलाको साथी । अर्थात् एउटै रुटमा टेम्पो चलाउने टेम्पो चालक भीमा अर्थात् लक्ष्मी बर्देवा । स्वस्तिमाको अभिनय जति सशक्त छ, ‘बुलबुल’मा उति नै उम्दा अभिनय गरेकी छिन् लक्ष्मीले पनि । मुख्य भूमिकामा नरहेकाले उनको उति धेरै चर्चा त भएन तर अभिनयका पारखीहरूले उनलाई मजाले ‘नोटिस’ गरे । सपोर्टिभ भूमिकामै भए पनि उनले यही चलचित्रबाट अवार्डको स्वाद पनि चाख्न पाइन् । निफ फिल्म फेस्टिभलमा उनले उत्कृष्ट सपोर्टिभ महिला कलाकारतर्फ अवार्ड हात पारिन् । 

त्यसयता उनले अभिनय गरेको चलचित्र ‘सेल्फी किङ’मा उनी मुख्य भूमिकामा देखिइन् । चलचित्रको राम्रो समीक्षा भएन । तर लक्ष्मीको अभिनयको भने तारिफ भयो ।

गत साता रिलिज भएको चलचित्र ‘आमा’मा मुख्य भूमिकामा रहेका कलाकारमध्ये एक हुन्, सुरक्षा पन्त । यो चलचित्रमा उनको अभिनयलाई लिएर समीक्षकहरूले खुलेरै प्रशंसा गरे । उम्दा अभिनयले सुरक्षालाई आगामी दिनमा नपाली चलचित्र जगतमा सशक्त नायिकाको रूपमा उभ्याउने लेखे । त्यसो त यस अघि पनि छोटै भूमिकामा भए पनि चलचित्र ‘गोपी’मा देखिएकी सुरक्षाको अभिनय प्रशंसायोग्य थियो ।

‘होस्टल रिटर्न्स’मा निर्देशक दीपेन्द्र के. खनालले स्वस्तिमालाई झल्याक झुलुक देखेका थिए । त्यहीबेला उनलाई लागेको थियो, यो सम्भावना बोकेको कलाकार हो । काम लगाउन सक्यो भने अभिनय निकाल्न सकिन्छ । 

त्यसको केही समयपछि नै स्वस्तिमाको विवाह भयो निर्देशक निश्चल बस्नेतसँग । त्यसपछि उनको हातमा चलचित्र थिएनन् । निर्देशक दीपेन्द्रले चलचित्र बनाउने भए ‘लभ लभ लभ’ उनको दिमाग ‘होस्टल रिटर्न्स’की स्वस्तिमामा । अनुबन्द गरे । उनको कामको तारिफ भयो । 

“मैले स्वस्तिमामा होस्टल रिटन्र्समै देख्दा नै यो मान्छेमा सम्भावना छ भनेर लभ लभ लभमा लिएको हुँ । विवाह गरेपछि कसैले पनि काम नदिएको बेला मैले उसलाई पहिलोपटक सोलो हिरोइनका रुपमा लिएँ । त्यसपछि उनले पछि फर्केर हेर्नुपरेको छैन,” दीपेन्द्र भन्छन्, “बुलबुलमा जसरी उनले मिहिनेत गरिन्, त्यसपछि त उनमा भएको क्षमता सबैले थाहा पाए । उनी नेपाली चलचित्रमा अबका वर्षमा रोजाइकी नायिकाका रुपमा रहनेछिन् ।”

निर्देशक दीपेन्द्रलाई गम्भीर नायिका चाहिएको थियो । गम्भीर मात्रै भएर उनलाई पुग्दैनथियो ‘आमा’मा, उत्तिकै डेडिकेटेड पनि चाहिएको थियो । घाम, पानी, रातसाँझ नभनी सुटिङका लागि कुद्ने मान्छे चाहिएको थियो । त्यती मात्रै पनि होइन चलचित्रको चरित्रका लागि शारीरिक र मानसिक रुपमा त्याग गर्न सक्ने पनि चाहिएको थियो । यी सबै गुण र क्षमता भएको नायिका को होला ? सुरक्षाबाट यी सबै काम लिन सकिन्छ भन्ने लाग्यो दीपेन्द्रलदाई, त्यसैले उनले ‘आमा’मा सुरक्षालाई लिए । 

“सुरक्षा राम्रो कलाकार त हो नै त्यतिकै कामप्रति इमान्दार र डेडिकेटेड पनि । म जसरी चलचित्रमा लाग्छु, त्यसरी नै मसँगै चलचित्रका लागि ज्यान दिएर लाग्ने मान्छे चाहिएको थियो । यसका लागि सुरक्षा नै उपयुक्त पात्र हो भनेर मैले उसलाई लिएको थिएँ,” दीपेन्द्र भन्छन्, “मैले गरेको अपेक्षा अनुसार नै उनले काम मात्रै गरिनन्, चलचित्रकै लागि मायाले स्याहार गरेर पालेको लामो कपाल पनि काटिन् । चलचित्र भनेपछि तन, मन लगाएर काम गर्ने निरविकल्प कलाकार हुन् सुरक्षा । जस्तोसुकै क्यारेक्टरलाई पनि न्याय गर्न सक्ने उनको यो क्षमताले थोरै नायिकाभित्र उनलाई राख्छ ।”

सुरक्षाले नेपाली चलचित्रमा राम्रो काम गर्ने नायिकाका रुपमा आफूलाई दर्ज गरिसकेको दीपेन्द्र बताउँछन् । 

उनलाई कामप्रति साँच्चै इमान्दार भएर चरित्रलाई न्याय गर्ने महिला कलाकारमा लक्ष्मी पनि मन पर्छिन् । “मैले बुलबुलमा लक्ष्मीको काम हेर्दा, उनमा ठूलो सम्भावना देखेको छु,” दीपेन्द्र भन्छन्, “तर उनमा जति क्षमता छ त्यो बाहिर आउन सकको छैन । अवसर पायो भने आफूलाई प्रमाणित गरेर देखाउने क्षमता राख्छिन् भन्ने लाग्छ ।”

स्वस्तिमालाई फरकफरक क्यारेक्टर गर्न रुचाउने नायिकाका रुपमा आफूले देखेको निर्देशक विनोद पौडेल बताउँछन् । गरिरहेको कामभन्दा फरक काम आए त्यसलाई गम्भीर रुपमा लिने उनको स्वाभाव रहेको विनोदको भनाइ छ । 

“स्वस्तिमाले फरक कन्टेन्टलाई गम्भीर रुपमा लिने गरेको बुझेर निर्देशकले गाइड गर्ने हो भने उनीसँग धेरै काम लिन सकिन्छ,” निर्देशक भन्छन्, “उनी चाँडै रियाक्ट गर्छिन् । त्यसलाई समान्यरुपमा लिएर त्यसलाई बुझाएर काम गर्नसक्यो भने स्वस्तिमाले धेरै काम गर्न सक्छिन् ।” 

कलाकारको भावना र मनोविज्ञानलाई बुझेर काम गरेको अवस्थामा ‘बुलबुल’मा जस्तै थुप्रै काम लिन सकिने भन्दै विनोद भन्छन्, “क्रिएटिभसँगै रियालिस्टिक भएर सोच्ने उनको स्वाभावले उनमा ठूलो सम्भावना छ । अब्बल अभिनय क्षमता भएका थोरै नायिकामध्ये उनी एक हुन् ।” 

आफूलाई अफ्ठ्यारो लाग्यो भने किन भनेर प्रश्न गर्ने स्वस्तिमाको स्वभाव छ । उनको जिज्ञासा मेटाएर निर्देशकले काम लिन सक्ने विनोद बताउँछन् । 

लक्ष्मी मिहिनेती छिन् । थिएटरको पृष्ठभूमी भएकाले उनीबाट छोटो समयमा राम्रो काम लिन सकिने निर्देशक विनोदको भनाइ छ । 

“विषय प्रधान चलचित्रमा रमााउँछिन्, यो भनेको अभिनय क्षमता देखाउने बाटो पनि हो,” विनोद भन्छन्, “राम्रो क्यारेक्टर दिएर काम गर्न लगायो भने आफ्नै काम हो भन्ने सोचेर निखारिएको अभिनय गर्छिन्, यसले उनलाई निकै माथि उठाउँछ ।” 

विषय र क्यारेक्टर दिएपछि त्यसमा आफैं लामो समय लगाएर रिसर्च गर्ने लक्ष्मीको यो सवल पक्ष हो । यसले प्रतिस्पर्धामा उनलाई सधैं अगाडि लैजाने विनोद भन्छन् । चलचित्रसँगै लक्ष्मी म्युजिक भिडियोमा पनि व्यस्त कलाकार हुन् । उनी म्युजिक भिडियोमा अभिनयसँगै निर्देशन पनि गर्छिन् ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २०, २०७६  १४:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro