चीनको वुहानमा अलपत्र परेका नेपालीप्रति संवेदनहीन भएर सरकारले फेरि ‘चुत्थो चरित्र’ देखायो । विपत्तिमा परेका नागरिकले गुहार मागिसकेपछि पनि उद्धारका लागि अग्रसर नहुने हो भने राज्यको कुनै अर्थ हुँदैन भन्ने सामान्य सत्य त सरकार सञ्चालन गर्नेहरूले बुझ्नुपर्ने हो । तर, तिनले यो यथार्थ नबुझेको वा बुझेर पनि बुझ पचाएको देखियो । वुहानमा विभिन्न काममा विशेषगरी अध्ययनका सिलसिलामा पुगेका नेपालीहरू कोरोना महामारी फैलन थालेपछि एकै ठाउँमा बसिरहन बाध्य भएका छन् । उनीहरू अरू मुलुकका वासिन्दाजस्तै नेपाल फर्कन चाहन्छन् । अहिले बसिरहेको ठाउँबाट बाहिर निस्कनेबित्तिकै उनीहरू निरीक्षणका लागि एक्लै राखिने ठाउँमा बस्नुपर्ने भएकाले बाहिरै ननिस्केर बसिरहेका रहेछन् । सामाजिक सञ्चाल र वुहानबाट आएका समाचारहरू हेर्दा कोरोना संक्रमण भएर हैन अत्यास र निराशाबाट उनीहरू छटपटिएको देखिन्छ ।
चीनको वुहान सहरबाट फैलन थालेको कोरोना नामको भाइरस अहिले संसारका सबै महादेशमा पुगिसकेको छ । चीनमा यसको संक्रमणबाट मर्नेको संख्या दुई सय नाघिसकेको छ भने संक्रमितको संख्या हजारौं पुगेको छ र संक्रमण फैलने दर निकै तीव्र गतिमा बढ्दैछ । चीन सरकारले सुरुमा कोरोना भाइरसको जोखिमको उपेक्षा गरेको थियो । प्रारम्भिक चरणमा संक्रमणका समाचारसमेत दबाउने चेष्टा गरियो । संक्रमणले महामारीको रूप लिएपछि भने चीन सरकार निकै सक्रियतापूर्वक यसको रोकथाम र उपचारमा संलग्न भएको समाचार सार्वजनिक भएको छ । विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमणकै कारण ‘विश्वव्यापी स्वास्थ्य संकट’ घोषणा गरेको छ । चीन सरकारले वुहान सहरलाई बन्द घोषणा गरेको छ । त्यहाँका नागरिकहरू नै आफूखुसी कतै जान पाउँदैनन् भने विदेशीको अवस्था कस्तो होला भन्ने सहजै अनुमान लगाउन सकिन्छ । यसैले पनि वुहानमा अलपत्र परेकाहरू बढी आत्तिएको हुनुपर्छ ।
अरू देशका नागरिकहरूलाई सम्बन्धित सरकारहरूले उद्धार गरेर फिर्ता लगेको देखेका नेपाली पनि सकेसम्म चाँडै स्वदेश फर्कन व्याकुल हुनु स्वाभाविकै हो । उनीहरू नेपाल आउँदा कोरोना भाइरस बोकेरै आउने पनि हैनन् । तैपनि, उनीहरूलाई परीक्षणबाट भाइरस मुक्त भएको पुष्टि नहुँदासम्म अलग्गै राख्ने व्यवस्था गर्न सकिन्छ । त्यस्तो व्यवस्था मिलाएर वुहानमा नेपाली जहाज पठाएर वा उतैको विमान भाडामा लिएर नेपालीलाई स्वदेश फर्काउन सरकारले अलमल गर्नु हुँदैन । वुहानका नेपालीको बिलौना संसारभर सुनिदा पनि नेपाल सरकारले बेवास्ता गर्नु अत्यन्त दुर्भाग्यपूर्ण हो । नेपालमा उपचारको सुविधा छैन भनेर उनीहरूको उद्धार नगरिएको हो भने त्यो अत्यन्त अमानवीय चरित्र हो । यत्रो राज्यले चाहेमा केही यस व्यक्तिलाई परीक्षण र उपचारको व्यवस्था मिलाउन नसक्ने पक्कै हैन । नेपाल सरकारले चाहेमा चीनले नै पनि तिनको उद्धार र नेपालमा उपचारको व्यवस्था मिलाउन सहयोग गर्न सक्छ । यसैले अहिले खाँचो छ सरकारको इच्छा शक्ति र मानवीय कर्तव्यबोधको । तत्काल वुहानमा अलपत्र परेका नेपालीको उद्धारको व्यवस्था मिलाउन हामी सरकारको ध्यानाकर्षण गर्छौँ ।