सार्वजनिक स्रोत साधन सरकारी संयन्त्रमा कार्यरत कर्मचारीका पैत्रिक सम्पत्ति हैनन् भन्ने सत्य स्थापित हुन राणा शासन अन्त्यपछिका सात दशकमा पनि सकेको छैन । यसैले सरकारी निकायहरूले सार्वजनिकमात्र हैन निजी सम्पत्ति पनि राज्यको भन्दै कब्जा जमाउने प्रवृत्ति छ । सार्वजनिक सम्पत्तिमा कब्जा जमाउनेमा सुरक्षा निकायहरू अझ अगाडि छन् । तीमध्ये पनि नेपाली सेनाले हात हालेपछि जनताले प्रयोग गर्दै आएका साधनस्रोतमा समेत पहुँच निषेध हुनेगरेको देखिएको छ । तर, केही समययता नेपाली सेनाका अधिकारीहरूमा पनि जनमुखी प्रवृत्ति देखिन थालेको छ । भक्तपुरको रानीपोखरी पुनःनिर्माण गर्न र त्यसमा जनताको पहुँच कायम गराउन नेपाली सेनाले स्थानीय सरकारसँग गरेको सराहनीय सहकार्य सेनामा देखिन थालेको जनउत्तरदायी प्रवृत्तिको संकेत हो । यस्तै नेपाली सेनाले काठमाडौंको टुँडिखेल र सैनिक मञ्चलाई सर्वसाधारणको पहुँच हुनेगरी सुधार गर्न लागेको समाचार अर्को सकारात्मक सन्देश हो ।
कुनै जमानामा एसियाकै सबैभन्दा विशाल ‘परेड गाउन्ड’ कहलिएको काठमाडौंको टुँडिखेल अतिक्रमणमा पर्दा पर्दा अहिले ससाना बन्द खण्डहरूमा परिणत हुन पुगेको छ । विडम्बना, टुँडिखेलभित्रको ‘खुलामञ्च’ नै यथार्थमा अहिले बन्द भइसकेको छ । नेपाली सेनाको मुख्यालय, क्लबका लागि बनाइएका भवनहरू, सैनिक पुस्तकालयदेखि बस पार्क र फोहोर थुपार्ने ठाउँका रूपमा समेत टुडिखेल मासिएको छ । यसरी टुँडिखेल मासिँदै गएपछि स्थानीय जनताका कतिपय चालचलन र परम्परासमेत अवरुद्ध हुन थालेका छन् । टुँडिखेलमा सर्वसाधारणको पहुँच नै नहुने र यसको अस्तित्व नै समाप्त हुने जोखिम बढेपछि काठमाडौं प्रबुद्ध नागरिकहरूसमेतको सहयोगमा सरोकारवाला समूहले ‘अकुपाइ टुँडिखेल’ अभियान सञ्चालन गरेका छन् । पुरानो टुँडिखेलको भूभाग पुनः एकीकृत गरेर सर्वसाधारण नागरिकका लागि खुला गर्ने त्यस अभियानको परिकल्पना रहेको छ । यस क्रममा नेपाली सेनाले टुँडिखेलमा सर्वसाधारणको पहुँच हुने गरी सुधारका कार्य गर्न लागेको समाचार सार्वजनिक भएको छ ।
विश्वकै प्राचीनतम सहरहरूमध्येको एउटा मानिने काठमाडौंको सांस्कृतिक गरिमा कायम राख्नका लागि पनि सहरको मुटुका रूपमा रहेको टुँडिखेल सामान्य जनताको सधैँ पहुँचमा हुनेगरी खुला रहनु आवश्यक छ । टुँडिखेललाई मुक्त गर्ने अभियानमा जुटेका अभियन्ताहरूको मूल चाहना पनि सम्भवतः यही नै हो । यस्तै, सेनाले सर्वसाधारणको पहुँचमा हुनेगरी टुँडिखेलको सुधार गर्न बनाएको योजनाको पनि मूल मर्म यही नै हुनुपर्छ । त्यस अवस्थामा नेपाली सेना र टुँडिखेलको ‘म्ुक्ति’का लागि अभियान चलाउने अभियन्ताहरूबीच सहकार्य तथा संवाद हुनु जरुरीमात्र हैन उपयोगी पनि हुनेछ । टुँडिखेल त्यसो त सबै नेपालीले चासो र चिन्ता लिनुपर्ने सम्पदा हो तर सरोकारवाला स्थानीय समुदायको त दिनचर्याकै अभिन्न हिस्सा हो । यसैले नेपाली सेनाले टुँडिखेल सुधारको योजना निर्माणकै चरणदेखि नै स्थानीय समुदायसँग संवाद र सहकार्य गर्ने अग्रसरता देखाओस् । सेनाले समुदायलाई उपेक्षा गरेको भान पर्न गयो भने टुँडिखेल सुधारको नयाँ योजनालाई ‘अकुपाई टुँडिखेल’ अभियानको प्रभाव कमजोर बनाउन गरिएको चालवाजीका रूपमा हेरिनसक्छ । यसैले सैनिक मञ्चको सुधारमा सीमित नगरी समग्र टुँडिखेलकै पुनःस्थापना योजना निर्माण गरेर काठमाडौंवासीलाई उपहार दिन नेपाली सेना अग्रसर होस् । नेपाली सेनाले मात्र अरूले गर्न नसक्ने वा नचाहने काम सजिलै गर्न सक्छ नि त !