किसानका खेतबारी बाँझै रहने र उद्यमीका कलकारखानाले उत्पादन कटौती गर्नुपर्ने देश समृद्ध हुनसक्तैन । नेपालको अहिले यस्तै अवस्थामा छ । शासकहरू जनतालाई ‘समृद्धि’ को सपना देखाएर आफन्तलाई पोस्न व्यस्त छन् । गाउँघरका खेताबारी भने बाँझै रहेका छन् । यसैगरी अत्यन्त सीमित औद्योगिक कलकारखाना पनि उद्यमीहरूले पूर्ण क्षमतामा चलाउन सकेका छैनन् । उद्योगहरूको क्षमताको दुई तिहाइ पनि उत्पादन गरिएको छैन । किसानहरू श्रमको मूल्यसमेत नउठ्ने भएपछि खेतबारी बाँझैँ राख्न बाध्य भएका भए हुन् भने उद्यमीहरूका अनुसार बजारको चर्को प्रतिस्पर्धा, सरकारको आयातमुखी नीति, प्रविधि र व्यवसायीको कमजोरीसमेतका कारण उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन गर्न नसकिएको हो । खेतबारी बाँझो रहँदा बाली कति घट्यो भन्ने तथ्यांक नभेटिए पनि औद्योगिक उत्पदन भने गत वर्षभन्दा २ प्रतिशत करिबले घटेर कुल क्षमताको ५७.१ प्रतिशतमा सीमित भएको छ ।
देशले ‘आधामन’ले अपनाएको भए पनि बजार अर्थतन्त्रमा प्रतिस्पर्धा त हुन्छ नै । उद्योगहरूलाई एकाधिकार दिनेगरी संरक्षण प्राप्त हुनसक्ने अवस्था छैन । यसैले नेपाल सरकारले देशभित्रको उद्योगलाई प्रतिस्पर्धा गरेर पनि फस्टाउन सक्ने अवस्था सिर्जना गर्नुपर्थ्यो । उदाहरणका लागि सडकका पूरै आयात गर्नुपर्ने अलकत्राको प्रयोगको साटो सम्भव भएसम्म सिमेन्ट र फलामे छडको प्रयोग गर्ने नीतिमात्र अपनाउने हो भने पनि सायद दुवै क्षेत्रका कारखाना पूर्ण क्षमतामा सञ्चालन गर्न र बजार पाउन सक्ने अवस्था हुन्थ्यो । तर, सरकारी अधिकारीले मुखले जे भने पनि नीति र अभ्यास भने ‘भन्सारमुखी’ नै छ । भन्सार उठाएर राज्य चलाउने नीति र मानसिकता रहुन्जेल किसानको खेतबाली बाँझो नराख्ने वा उद्यमीका कारखाना पूरा क्षमतामा चल्ने वातावरण बन्नै सक्तैन । यसैले नेपाली अर्थतन्त्र आत्मनिर्भर उत्पादनमुखी हुनुको साटो झन् झन् सेवा र व्यापारमा निर्भर हुँदैगएको हो ।
अहिले अर्थतन्त्रका प्रमुख खम्बा मानिने पर्यटन, विप्रेषण र मूल्य अभिवृद्धि गरिएका निर्यातमूलक उत्पादन विदेशको अर्थव्यवस्थामा निर्भर छन् । अन्तर्राष्ट्रिय जगतमा सानोतिनो हलचल हुनेबित्तिकै कुनै पनि क्षण यी तीनवटै क्षेत्र ‘तासको महल’ जसरी ढल्न सक्छन् । यसैले देशको माया भए सरकारले देशभित्र उत्पादन बढाउनेतर्फ ध्यान केन्द्रित गर्नुपर्छ । शासकहरूमा भन्सारको भरमा हैन अन्तःशुल्क बढाएर राज्य चलाउने सोच आवश्यक हुन्छ । पहिले नेपालको आन्तरिक खपत पूरा गर्ने र नेपाली कच्चा पदार्थमा आधारित उद्योगहरू फस्टाउने वातावरण बनाउनु जरुरी हुन्छ । पामको कच्चा तेल आयात गरेर यहाँ प्रशोधन गरी निर्यात गर्ने प्रकारका ‘भुइँफुट्टा’ उद्योगलाई प्रतिस्पर्धा गर्न छाडिदिए हुन्छ तर कृषि उत्पादन र नेपाली कच्चा पदार्थमा आधारित उद्योगहरूलाई पारदर्शी प्रक्रिया प्रक्रिया अपनाएर संरक्षण नगरे देश समृद्ध हुने त कुरै छाडौं स्वतन्त्र रहन पनि सक्तैन । चेतना होस् !