प्रहरी र प्रशासन त्यस्ता संस्था हुन् जो राज्यको चरित्र दमनकारी होस् भन्ने चाहना राख्छन् । कुनै पनि उदार सोचको राजनीतिक दल सरकारमा आउँदा भन्दा अनुदारवादी, निरंकुश र स्वेच्छाचारी प्रवृत्तिको नेतृत्व हुँदा प्रहरी र प्रशासन आफूलाई ज्यादा शक्तिशाली र प्रभावशाली ठान्छन् ।
अनुदारवादी सरकार पनि सधैं जनताको समर्थन र राज्यप्रतितिनको निष्ठा बढाउने कार्य गर्नुभन्दा प्रहरी र प्रशासनको माध्यमबाट विरोधी शक्तिलाई निरस्त बनाउने र जनतामा त्रास पैदा गर्ने अभिष्टसहित शासन गर्छन् ।
गायिका आस्था राउतप्रति प्रहरी प्रशासनले अहिले देखाएको रवैयाले पनि अहिलेको सरकार आफू विरुद्धको कुनै पनि विरोधको स्वरलाई दबाउन उद्दत छ भन्ने स्पष्ट देखाउँछ । अन्यथा, एक सार्वजनिक व्यक्तिले एक संस्थालाई सुधार्न बोलेका केही वाक्यले कसैको मान–मर्दन भएको छैन, कुनै संस्थाप्रति गलत लाञ्छना लागेको छैन ।
यदि आस्था राउतले रिसको झोंकमा बोलेका रोषपूर्ण वाक्यले कसैलाई क्षति भएको छ भने त्यो उनैलाई भएको छ । उनले बोलेका शब्दका कारण प्रहरी र प्रशासनको त्यति मान–मर्दन भएको छैन, जति अब प्रहरीले उनलाई कारबाही गरेर सबैलाई तर्साउन खोजेको कारण सो संस्थाप्रतिको आस्थामा कमी आउने अवस्था सिर्जना भएको छ ।
आस्था राउतले त्रिभुवन विमानस्थलको सुरक्षा जाँचमा ज्याकेट जचाउँदा जुन प्रकारको व्यवहार देखाइन् सो सही थिएन । एक प्रहरी महिलालाई आफूले पिउँदै गरेको कफी हातमा बोक्न लगाउनु, रिस देखाउनु र पछि कफी आफैंले बोकेर जान नखोज्नु सबैले उनमा चढेको घमण्डको पारो स्पष्ट रूपमा झल्काएको प्रहरीले सार्वजनिक गरेको सीसी क्यामेराको फुटेजमा देखिएको छ ।
आस्था आफैंले खिचेर सामाजिक सन्जालमा राखेको भिडियोले पनि उनमा पलाएको दंभ र अहम् देखिएको छ ।
महिला प्रहरीले ‘तँ’ भनिन् भन्ने भन्दा बढी उनको रिसको अरू सशक्त कारण देखिँदैन । तर पनि उनले कारबाहीमा पर्ने त्यत्रो ठूलो गल्ती भने गरेकी छैनन् ।
त्यसो भए जो सुकैले पनि प्रहरीलाई कुहेको, जरादेखि काम नलाग्ने, केवल आडम्बरको ‘दर्शन’ गर्ने संगठन भन्न पाउने कि नपाउने भन्ने तर्क आउन सक्छ । यो तर्क आफैंमा निकै जायज देखिन्छ । तर, पाइन्छ । संस्थाको काम गर्ने तरिकामा टिप्पणी गर्न पाइन्छ ।
टिप्पणी गर्दा प्रयोग गर्ने भाषा अलि उच्छृङ्खल भयो भने सो व्यक्तिलाई क्षमा माग्न लगाउन पनि सकिन्छ । तर, व्यक्ति तोकेरै, नाम तोकेरै र संस्थालाई अनर्गल आरोप लगाएको अवस्था मात्र कारबाही गर्नु उचित देखिन्छ । अन्यथा, सो व्यक्तिले आफ्नो इज्जत आफैं घटाएको हुन्छ, संस्थागत रूपमा कारबाही गर्नु लोकतान्त्रिक प्रवृत्ति पक्कै होइन ।
यो विषय आस्था राउतको र प्रहरीको मात्र होइन । सामाजिक सञ्जालमा कुन व्यक्तिले राज्यका संस्थालाई कतिसम्म निन्दा गर्न पाइन्छ भन्ने प्रश्न हो । लोकतान्त्रिक मुलुकमा राष्ट्रपतिलाई मूर्ख, बेवकूफ, उन्मत्त आदि भनेको देखिन्छ ।
सरकारको जिम्मेवारी लिएर बसेका व्यक्ति वा संस्थाले यस्ता विषयमा खण्डन मात्र प्रकाशित गरे पुग्छ वा खेद प्रकट गरे हुन्छ । संस्थाको गल्ती नभएको अवस्थामा जनताले आफैं मूल्यांकन गर्छ ।
अहिले सरकारले ल्याएका एकपछि अर्को विधि र विधानले सरकार जनतामा त्रास पैदा गरेर शासन गर्न चाहन्छ भन्ने स्पष्ट हुँदै आएको छ ।
प्रहरीले देखाएको प्रवृत्ति सरकारको प्रवृत्ति ठहर्छ, त्यसैले यस्तो विषयमा प्रहरीले पनि सरकारको रवैया हेरेर मात्र निर्णय गर्नुपर्छ र गरेको हुन्छ ।
त्यसैले आस्था राउत प्रकरणमा प्रहरीको मात्र जिम्मेवारी भनेर बस्न मिल्दैन, राज्यप्रति जनताको आस्था बढाउने र अनास्था घटाउने काममा सरकारको निगरानी हुनैपर्छ ।
प्रहरीप्रति केही अनास्था देखाए पनि आस्थाले नेपालीलाई एकताबद्ध बनाउने, आधुनिक र परम्परागत विचारलाई राष्ट्रप्रतिको सम्मानमा एक ठाउँमा ल्याउने गीतहरू गाएकी छिन् । उनले नेपाललाई लगाएको गुण पनि सम्झनुपर्छ । जिम्मेवार व्यक्ति र संस्थाको ध्यान जाओस् ।