केही समयअघि लामो कर्ली कपाल, फ्याङल्याङ्ङ लुगा लगाएको कालो वर्णका एक युवकले मेन्डोलिन बजाउँदै गीत गाइरहेको एउटा भिडियो धेरैका मोबाइलमा पुग्यो । ती व्यक्ति थिए– अर्को मुखर्जी । उनले गाएको गीत थियो– रेशम फिरिरी... । विदेशी नागरिक भएकाले उनको भाषा नेपाली थिएन । त्यसैले उनको जिब्रो नेपालीमा फड्कारिएको थिएन । तर विदेशीले नेपाली गीत गाएकाले होला त्यसलाई धेरैले राम्रोभन्दा पनि रमाइलो मानेर सुने । एकले अर्कालाई ‘फरवार्ड’ गरे । तिनै मुखर्जीले अरू गीत पनि कभर गरे । जस्तैः ‘लाहुरेको रेलीमाई...।’ विभिन्न कार्यक्रम र पर्वमा पनि उनले नेपाली कभर गीत गाए । लोकप्रिय नेपाली गीतहरु म्यासअप गरेर गाउन थाले । उनको युट्युब च्यानल र फेसबुकमा जाने हो भने थुप्रै नेपाली गीतलाई कभर गरेको भेटिन्छ ।
लय मन परेर रमाइलोका लागि कभर मात्रै होइन विदेशी गायक–गायिकाले नेपाली गीत पनि गाएका छन् । केही भारतीय गायक–गायिकाले त निकै अघिदेखि नै नेपाली गीत गाएका छन् । यो क्रम पछिल्लो समयभन्दा केही दशकअगाडि अझ बाक्लो थियो । नेपालमा कथानक चलचित्र बन्न थालेपछि भारतीय गायक–गायिकालाई गीत गाउन लगाउने चलन धेरै थियो ।
नेपालमा गीत गाउनका लागि निजी स्टुडियो अभावमा चलचित्र निर्देशक तथा सङ्गीत निर्देशक मुम्बई तथा कलकत्ता जाने र उहीँका लोकप्रिय गायक–गायिकालाई गीत गाउन लगाउँथे । यसो गर्दा नेपालदेखि उतासम्म गायक–गायिकालाई लैजानु पनि परेन ।
नेपाली गायक–गायिका करिअर खोज्दै बलिउडमा जाने प्रयास गरिरहेका छन् । उदितनारायण झा नेपालबाट बलिउड गएर त्यहीँ स्थापित् भए । उनको सङ्घर्षको कथा निकै लामो छ । गत वर्ष गायिका देविका वन्दनाले एउटा हिन्दी गीत गाइन् । यस्तो अवसरको खोजीमा थुप्रै नेपाली गायक–गायिका छन् । केही समयअघि ‘नेपाल लोकस्टार’का प्रतिस्पर्धी रविराज शाहले आफू बलिउडमा गायनमा करिअर खोज्न प्रयासरत् रहेको बताएका थिए ।
नेपालीहरुले भारतीय बजारमा हिन्दी गीतमा आफूलाई गुञ्जाउने रहर पालिरहँदा केही भारतीय गायक–गायिकाले पनि नेपाली गीत गाएका छन् । भारतीय गायक–गायिकाले नेपाली गीत गाए पनि उनीहरु स्वयम् नेपाली गीत खोज्दै भने आएका होइनन्, उनीहरुलाई नेपाली स्वयम्ले महङ्गो पारिश्रमिक दिएर लामो समय कुरेर आफ्नो चलचित्र तथा एल्बमका लागी गीत गाउन लगाउने गरेका छन् ।
गुलाम अली
पाकिस्तानी गजल गायक गुलाम अलीले जब नेपाली गीतमा स्वर दिए तब विदेशी गायकले पनि प्रभावकारी ढङ्गमा हाम्रा गीत गाउन सक्छन् भन्ने विश्वास दरिलो हुन थाल्यो । चालीसको दसकमा उनले केही नेपाली गीत गाए । उनले गाएका गीत नयाँ भने थिएनन्, ती गीत नेपाली गायकले गाइसकेका थिए । म वी वी शाहका शब्द रहेका ती गीतमा गुलाम अलीका आवाजलाई मिल्ने सङ्गीत सिर्जना गरे दीपक जङ्गमले ।
‘गाजलु ती ठूलाठूला आँखा’, ‘के छ र दिऊँ तिमीलाई मैले कोसेली भनेर’, ‘लोलाएका ती ठूला’ र ‘किन किन तिम्रो तस्बिर मलाई निको लाग्छ’ गुलाम अलीले गाएका नेपाली गीत हुन् ।
नेपाली साङ्गीतिक क्षेत्रमा यी गीत सदाबहार बन्न सफल छन् । अली अरु पनि केही नेपाली गीत गाएका छन् । जङ्गमकै सङ्गीतमा अर्का पाकिस्तानी गजल गायक मेहदी हसनले पनि सोही समयमा केही नेपाली गीत गाएका छन् । हसन र अली दुवै गजल गायनमा विश्वविख्यात प्रतिभा हुन् । तिनलाई मन पर्ने सङ्गीत तयार पारेर नेपाली भाषामा गीत गाउन मनाउने श्रेय उनै जङ्गमलाई जान्छ ।
जगजित सिंह
भारतमा गजलका बादशाह मानिने गायक जगजित सिंहले पनि नेपाली गीतमा स्वर भरेका छन् । त्यसो त कतिपय गजल गायकले सिंहलाई गजल गायन बिगारेको आरोप पनि लगाउने गरेका छन् । जेहोस् उनको आवाजमा रहेको जादु मन पराउने श्रोता विश्वभरि छन् ।
गजल सम्राटको छवि बनाएका उनले गाएको नेपाली गीत, ‘दिल चोरेर बदनाम भको’, ‘मैले खुसी दिँदै थिएँ’, ‘कथा मेरो आफ्नै’, ‘कुन माया सदर भो’ ‘एक दिनको संयोग’, ‘कस्तो माया देखेँ आज’, ‘भनिदिउँ कि जस्तो लाग्छ’ लगायत गाएका छन् ।
‘कुन माया सदर भो’को भिडियोमा राजेश हमालले अभिनय गरेका छन् ।
आशा भोसले
अघिल्लो महिना आशा भोसले नेपाल आइन् । उनले नेपालीमै बोल्ने प्रयास गरिन् । नोपलको माया त लाग्छ, तर के गर्नु बोल्न आउँदैन भन्दै हिन्दीमै असन्तुष्टि पोखिन्– ‘कति चाँडै बोलाको दुईचार वर्ष पछि बोलाउनु पथ्र्यो नि’ उनले भनिन् । ८५ हिउँद् काटेर ८६ मा हिँडिरहेकी उनले आफूलाई ऊर्जाशील उमेरमै नेपालीले नबोलाएको भन्दै व्यङ्ग्य कसेकी थिइन् ।
उमेरले डाँडो काटे पनि पुसको चिसोको छिप्पिँदो साँझमा पनि आफूले पहिला गाएका नेपाली गीत गाइन् । आशाले थुप्रै नेपाली गीत गाएकी छन् । पुराना थुप्रै चलचित्रमा उनका गीत छन् ।
आशाले ‘गैरी खेतको शीरै हान्यो’, ‘मोहनी लाग्ला है’, ‘तिम्रो मनमा लुकेको कुरा’, ‘वसन्त नै बस्न खोज्छ’, ‘पहाडको माथि माथि’, ‘को होला मेरो’, ‘मेरो मनको’, ‘आज हाम्रो भेट भको दिन’, ‘किन बढ्दैछ ढुकढुकी’ उनले स्वर भरेका गीत हुन् ।
लता मङ्गेशकर
भारतीय सुप्रसिद्ध गायिका लता मङ्गेशकरले पनि नेपाली गीत गाइन् । उनले नेपाली कथानक चलचित्र ‘माइतीघर’को गीत ‘जुन माटोमा मेरो’ बोलको गीतमा स्वर दिइन् । यो गीत राजा महेन्द्रले लेखेका थिए भने जयदेवले सङ्गीत भरेका थिए । यो ५४ वर्षअगाडि रेकर्ड भएको गीत हो । ‘जुन माटोमा मेरो’ गीत गाएपछि भने निकै समय उनले नेपाली गीत गाइनन् । आठ वर्षअगाडि उनले रामकृष्ण ढकालसँग युगल गीत गाइन् । गीत थियो– बाचुञ्जेलीलाई...।
साधना सरगम
साधना सरगम पनि नेपाली गीतमा धेरै सुनिएको आवाज हो । उनका दर्जनभन्दा धेरै नेपाली गीत लोकप्रिय छन् । उनलाई नेपाली चलचित्रकर्मीले धेरै गीत गाउन लगाएको पाइन्छ ।
धेरै स्रोताले सुनेको ‘आज बाह्र हाते पटुकीको कुरा गर’, ‘मलाई फुल्न देऊ’, ‘कसरी भनुँ म मनको कुरा यो’, ‘धड्कनभित्र’, ‘डाली डाली’, जनम जनम’, ‘सोचे जस्तो हुन्न’, ‘जब जब जिन्दगीमा’ साधनाले गाएका गीत हुन् । यसका अतिरिक्त अन्य थुप्रै गीतमा उनको आवाज सुन्न पाइन्छ ।
कुमार सानु
बलिउडका उम्दा गायक हुन् कुमार सानु । भारतीय साङ्गीतिक क्षेत्रमा कयौं लोकप्रिय गीत गाइसकेका कुमारका केही नेपाली गीत पनि त्यतिकै लोकप्रिय छन् । उनले गाएका नेपाली गीतमा– ‘के सन्देश बोकी ल्यायौ हे बादल (मेल भर्जन)’, ‘पुरानो हुँदैन माया’, ‘म त अब रिसाउँछु बोल्दै बोल्दिनँ’, ‘फूल भए यो जिन्दगी देउतालाई चढाइदिन्थेँ’लगायत कालजयी छन् ।
‘यो कथा हो तृष्णा मेरो’, ‘साँचीराखुँ जस्तो लाग्छ’, ‘यो साँझ यो सुवास’ उनैले गाएका गीत हुन् ।
सोनु निगम
भारतीय लोकप्रिय गायक सोनु निगमले पनि नेपाली गीत गाएका छन् । चलचित्र ‘सिमाना’को ‘उकाली ओरोली गर्दै...’ उनैले गाएका हुन् । यो गीत अझै पनि नेपाली साङ्गीतिक क्षेत्रमा लोकप्रिय छ । ‘सिमाना’कै ‘फूलको डालीडालीमा...’ पनि उनकै स्वर रहेको लोकप्रिय गीत हो ।
‘यो जिन्दगीले के गर्यो गर्यो...’ बोलको लोकप्रिय गीतमा पनि सोनु निगमकै स्वर छ । यो गीत चलचित्र ‘बादलपारि’को हो । ‘म भएँ पागल...’ पनि उनकै स्वरमा रहेको नेपाली गीत हो ।
सञ्जीवनी
नेपाली साङ्गीतिक क्षेत्रमा ‘के सन्देश बोकी ल्यायौ...’ निकै लोकप्रिय छ । यो गीतको फिमेल भर्जनकी गायिका सञ्जीवनी भेलेन्दे पनि भारतीय नागरिक हुन् । उनले पनि थुप्रै नेपाली गीत गाएकी छन् ।
‘लौ है माया सुटुक्कै आउनु है...’, ‘सिन्का सिन्का जोडेर...’, ‘डाँडा पाखा छहराले...’, ‘मखमली पछ्यौरीले...’, ‘तारिफ तिम्रो माया...’, ‘आज भोलि...’, ‘माया पनि यस्तै रैछ...’, ‘अन्त माया लाको भए...’ लगायत उनका दर्जनौं गीत लोकप्रिय छन् । चलचित्र र एल्बम दुवैमा उनले गीत गाएकी छन् ।
कैलाश खेर
उनी नेपाली गीत स्टुडियोमा मात्रै गाउँदैनन् । आफ्नै भूमिमा हुने स्टेज कार्यक्रममा पनि नेपाली गीत गाएर दर्शकलाई रमाइलो गराउँछन् । कैलाशले गाएका केही नेपाली गीत निकै लोकप्रिय छन् । उनको आवाज फरक मानिन्छ । त्यसैले भारतमा पनि उनी प्रख्यात छन् ।
‘बोल्नै पर्छ भन्ने केही छैन...’, ‘फूलको थुङ्गा...’, ‘काठमाडौं...’ उनले गाएका नेपाली गीत हुन् । थोरै नेपाली गीत गाएर पनि ख्याति कमाउन सफल गायक हुन् कैलाश ।
कविता कृष्णमूर्ति
नेपाली चलचित्र बामे सरिरहेका बेला भारतीय गायिका कविता कृष्णमूर्तिले थुप्रै गीत गाइन् । राजेश हमाल, भुवन केसी, करिष्मा मानन्धर नेपाली चलचित्रमा पहिलो रोजाइमा रहेका बेला पाश्र्व गायनमा कविता नै मुख्य रोजाइमा थिइन् । कालजयी गीत ‘चिठ्ठी आएन...’ मा कविताकै स्वर छ । चलचित्र ‘गोपीकृष्ण’को ‘तिरितिरी मुरली बजायौ...’, चलचित्र ‘माइली’को ‘कति अग्लीअग्ली भएँ..’, ‘नाता’को ‘माया नै माया दिन्छु...’, ‘पृथिवी’ चलचित्रको ‘माया गङ्गा हो...’ लगायत दर्जनौं गीत उनले गाएकी छन् ।
‘ए मेरो हजुर’को ‘आँखैमा सपना छ मुटुभरि चाहना...’, ‘साथी’को ‘उडी उडी डुल्छ मन...’, ‘आँखाको परेलीमा तिमी...’ पनि लोकप्रिय छन् ।
श्रेया घोषाल
भारतीय साङ्गीतिक बजारमा श्रेया घोषालजति लोकप्रिय छिन्, त्यति नै उनका नेपाली गीत नेपाली बजारमा रुचाइएको छ । मखमली स्वरकी धनी उनका थुप्रै नेपाली गीत लोकप्रिय छन् । ‘ छाएछ वसन्त...’, ‘तिमी आयौ...’, ‘तिमी बाहेक...’ । उनले गाएका नेपाली गीत हुन् ।
नेपाली चलचित्र ‘धड्कन’को ‘सुन गाउँ घर...’ पनि श्रेयाले गाएकी हुन् । यो गीतमा श्रेयालाई उदितनारायणले साथ दिएका छन् ।
राहुल वैद्य
बलिउड सिङ्गर राहुल वैद्य पनि नेपाली सङ्गीतप्रेमीमाझ परिचित नाम हो । इन्डियन आइडलमा सहभागी भएर आफूलाई गायकका रुपमा स्थापित गरेका उनले ‘आफ्नो मन आफैसँग ढाँट्न नमिल्ने...’, ‘लुकी छुपी चुपचाप के माया लगाउनु...’, ‘मन चोरेछौ सुटुक्कै...’ जस्ता लोकप्रिय नेपाली गीत गाएका छन् । ‘नजाऊ टाढा तिमीलाई...’, ‘तिमीलाई भुल्दिनँ म...’, ‘तिमीलाई एउटा कुरा भन्नु थियो...’, ‘हिजोका दिनहरुमा...’ लगायत नेपाली गीतमा उनले स्वर भरेका छन् ।
अभिजित
भारतीय गायक अभिजितले पनि नेपाली गीत गाएका छन् । चलचित्र ‘प्रेमपिण्ड’ को ‘के भनुँ म कसोगरी परे...’, चलचित्र ‘मोहनी’ को ‘यो साँझ यो सुबास...’ पनि उनले गाएका छन् । थोरै गीत गाएर आफूलाई नेपाली श्रोतामाफ चिनिन उनी सफल छन् ।
सुनिधि चौहान
कैलाश खेर जस्तै बेलाबेलामा स्टेजमा नेपाली गीत गाउने बलिउड सिङ्गर हुन्– सुनिधि चौहान । ठूलो स्टेजमा नेपाली गीत गाएर दर्शकको ध्यान खिच्ने सुनिधिले पनि केही नेपाली गीत गाएकी छन् । तर उनले गाएका नेपाली गीतले भने त्यति धेरै लोकप्रियता पाउन सकेका छैनन् जति उनका हिन्दी गीतले बजार पिटेका छन् ।
‘राम्री पनि भाकी छु...’ उनले गाएर राम्रो चर्चा पाएको नेपाली गीत हो । सुनिधिले ‘मेरो आँखाको गाजलको कुरै नगर...’, पनि गाएकी छन् ।
सान
लोकप्रिय गीत ‘आधा जिन्दगी...’ मा भारतीय गायक सानको आवाज छ । उनले स्वर भरेकामध्ये चर्चा कमाएको गीत हो यो ।
चलचित्र ‘कहाँ भेटिएला’को ‘कहिले हुँदैन र...’ बोलको गीतमा पनि सानको स्वर सुनिन्छ । ‘मेरो आँखाको...’ लगायत केही गीतमा पनि उनको स्वर सुन्न सकिन्छ ।
बाबुल सुप्रियो
बाबुल सुप्रियोले पनि केही नेपाली गीत गाएका छन् । ‘तिम्रो माया उनान्सय मेरो माया सय’ चलचित्रको ‘पूर्णिमाले चन्द्र रोज्यो औंशीले तारालाई’ बाबुलले गाएको गीत हो । ‘धेरै दिनपछि तिम्रो याद आयो...’ मा बाबुलकै आवाज रहेको छ । यसमा दीपा झाले साथ दिएकी छन् ।
यीबाहेक पनि केही भारतीय गायक–गायिकाले नेपाली गीत गाएका छन् । तर यो क्रम अहिलेभन्दा करिब दुई दशकअगाडि अझ बाक्लो थियो । त्यसो त इन्टरनेट र युट्युबको आगमन तथा प्रयोगसँगै कलाको भूगोल र सीमा हुँदैन भन्ने भनाइ झनै सार्थक हुँदै गएको देखिन्छ । जुनसुकै देशको नगरिकले आफूले चाहेको भाषामा चाहेको समयमा रोजेर कला प्रस्तुत गर्न सक्छ । अमेरिकन पिटर म्याकडोन र एलेक्जेन्डर स्लोकोम्बाले पनि दर्जनौं नेपाली गीत गाएर आफूलाई गायकका रुपमा चिनाइसकेका छन् । उनीहरुले नेपाली गीत युट्युबमा सर्च गरेर त्यसको कभर गरेका छन् । यसरी नेपाली गीत गाउनेको सङ्ख्या पनि ठूलो हुँदै गएको छ ।
नेपाली गीत गाउनेको विदेशी गायक–गायिकाको सङ्ख्या सानाे छैन । केही दशकअघि त यो क्रम निकै बाक्लो थियो । यसबाट नेपाली गीतले आफ्नो सीमा विस्तार गर्दै विश्वबजारमा आफूलाई प्रस्तुत गर्ने प्रयास त गर्यो । तर स्वयम् उनीहरुले नेपाली गीतलाई आफूसँगै प्रचार गर्ने प्रयास भने गरेनन् ।