झिल्के विकासको मोहमा परेका शासकहरू ‘सुकुलगुण्डे’ संस्कृतिलाई नै वैभवको प्रतीक मान्छन् । सडकमा गाएर जीविकोपार्जन गर्ने दृष्टिविहीनहरूमाथि काठमाडौं महानगरपालिकाले बुधवार रत्नपार्क र नयाँसडक क्षेत्रमा गरेको धरपकड र उनीहरूलाई दिइएको सास्ती यही सुकुलगुण्डे मानसिकताको उदाहरण हो । जीविकोपार्जनको विकल्प भए सम्भवतः काठमाडौंका धुवाँ र धुलोले ढाकिएको सहरमा बिहान सबेरैदेखि साँझसम्म बसेर गीत गाउने रहर कसैलाई पनि हुँदैन । दृष्टिविहीनहरूलाई सडकसम्म आइपुग्न पनि सजिलो हुँदैन । यस्तै घामपानी, हुरीझरीमा जोगिन पनि उनीहरूलाई उत्तिकै कठिन हुन्छ । सडकमा गीत गाएर जीविकोपार्जन गर्ने दृष्टिविहीनहरूलाई विकल्प नदिई निषेध गर्ने शासकहरूले एक दिनमात्रै पनि उनीहरूको दिनचर्या अपनाएर हेरून् त ! त्यसो त मानवीय संवेदना भएका कसैले पनि सडकमा गीत गाउने दृष्टिविहीनहरूलाई जबर्जस्ती हटाउने निर्णय गर्ने थिएन ।
सडकमा माग्नेहरू नदेखिउन् भन्ने महनगरपालिकाको चाहना नराम्रो हैन । तर, त्यो निर्णय सबैमाथि एकै प्रकारले लागु गर्नु भने विवेकहीनता हो । सडकमा गाएर जीविकोपार्जन गर्ने अधिकांश दृष्टिविहीनहरू परिवारका मुली पनि हुन् । उनीहरूसँग अरू पेसा गर्ने पुँजी र सीप नहुनसक्छ । त्यस अवस्थामा उनीहरूलाई रोजगारी नदिई सडकमा गाउन नदिने हो भने तिनमा आश्रित बालबालिका वा बूढापाका पनि भोकै मर्ने जोखिम उत्पन्न हुन्छ । राज्य यस्ता मानवीय पक्षको बेवास्ता गरेर क्रूर र कठोर बन्नु हुँदैन । काठमाडौं महानगरले उनीहरूको सामग्री खोसेर नयाँ सडकबाट टेकु पठाएकाले पनि दृष्टिविहीनहरूलाई सताउने नियत राखेको देखिन्छ । त्यतिमात्र हैन, दृष्टिविहीनहरूले कसैसँग माग्ने गरेका पनि हुँदैनन् । सडकमा बसेर गीत गाउन कुनै कानुनले निषेध गरेको छैन भने कसैलाई कुनै व्यक्तिले पैसा दिन नपाउने नियम पनि प्रचलित कुनै कानुनमा छैन । यसैले दृष्टिविहीनहरूसँग गरिएको व्यवहार अमानवीय र गैरकानुनी पनि हो । संसारका सबैजसो सहरहरूमा सडकमा सहयोगापेक्षीहरू भेटिन्छन् ।
राज्यले चाहेमा दृष्टिहीनहरू र तिनमा आश्रित परिवारको आवश्यकताअनुसार पालनपोषण गर्ने व्यवस्था मिलाएर उनीहरूलाई सडकमा आउन नपर्ने बनाउन सक्छ । दृष्टिविहीनहरूमा भएका प्रतिभा विकास गर्ने अवसर जुटाएर उनीहरूलाई आत्मनिर्भर हुन सहयोग गर्नसक्छ । तर, यसरी कुनै बन्दोबस्त नकिलाईकनै निषेध र वर्जना गर्नु उनीहरूको मानव अधिकारको पनि हनन हो । यस्तो विषयमा अपांगता अधिकारको पैरवी गर्ने संस्थाहरूलगायत राष्ट्रिय मानव अधिकार आयोगले पनि ध्यान दिनु आवश्यक छ । दृष्टिविहीनहरूलाई सडकबाट लखेटेर सहरको सौन्दर्य बढेको ठान्नु सुकुकगुन्डा मानसिकता हो । पैदल यात्रुको असुविधा र शौचालयको अभावमा सडकमा फोहोर बग्ने अवस्थाको बेवास्ता गरेर झिल्के विकासमा रमाउने महानगरपालिकाका पदाधिकारीले सुकुलगुन्डा मानसिकता त्याग्नु जरुरी देखिन्छ ।