काठमाडौं । उत्कृष्ठ चलचित्र निर्माणको मुख्य आधार के हो ? कथा, पटकथा, अभिनय, स्टारडम । तर यसभन्दा पनि मुख्य पक्ष निर्देशकको पागल पन भएको नायिका सुरक्षा पन्त बताउँछिन् ।
चलचित्रको कथा, पटकथा, अभिनय र स्टारडमभन्दा पनि राम्रो चलचित्र निर्माणका लागि निर्देशकीय पागल पन मुख्य भएको सुरक्षा बताउँछिन् । चलचित्रप्रति निर्देशकको बुझाइले चलचित्रको स्तर निर्धारण गर्ने उनको तर्क छ ।
“चलचित्र भनेको निर्देशकको पागल पन हो । अरु पक्ष जति नै राम्रो भए पनि निर्देशकीय क्षमता मै भरपर्छ,” सुरक्षा भन्छिन्, “यहाँ कलाकारको अभिनय, स्टारडम अभाव, बजेट अभावलाई चलचित्र राम्रो नबन्नुको कारण भनेर उम्किने बाहाना बनाएको पाइन्छ, तर यथार्थमा निर्देशकीय पागल पनको अभाव हो ।” नेपाली चलचित्र उद्योगमा निर्देशकीय पागल पन भएका निर्देशक निकै कम छन् भन्न सुरक्षा हिचकिचाउँदिनन् ।
निर्देशक दीपेन्द्र के खनाल सुरक्षाको भनाइमा सहमति जनाउँछन् । कथाका पात्रहरुमा बाँचेर हिँड्न निर्देशकीय पागलपन आवश्यक रहेको दीपेन्द्र बताउँछन् । उनी आफ्नो चलचित्रका लागि पागल पन बोकेर हिँडेको स्वीकारछन् ।
“निर्देशक आफ्नो चलचित्रको कथाभित्र बाँच्छ कि बाँच्दैन भन्ने कुरा मुख्य हो,” उनी भन्छन्, “एउटा कलाकार उसको चलचित्रभित्र बाँचेको छ कि छैन भनेर हेरिन्छ । तर निर्देशक पूरै चलचित्रका चरित्रहरुभित्र बाँच्नुपर्छ । जुन चलचित्रको कथा र चरित्रभित्र निर्देशक बाँचेको हुन्छ । त्यो चलचित्र हेर्दा नै थाहा हुन्छ ।”
पागल पन आफूले अनुभव गरेको भन्दै दीपेन्द्र स्वास्थ्यमा पागल पनले नराम्रो सन्देश दिए पनि चलचित्रमा भने पागलपनले राम्रो नतिजा दिने बताउँछन् ।
चलचित्र ‘आमा’का हरेक क्यारेक्टरमा आफूले लामो समय बिताएको उनी बताउँछन् । दुईवर्ष टाउकोमा बोकेर हिँडेको चलचित्रका हरेक पात्रसँग नजिकबाट साक्षात्कार गरेको उनको भनाइ छ । “टाउकोमा चलचित्र आमा दुईवर्ष बोक्दा म क्यारेक्टरसँग साक्षात्कार गर्न कयौं दिन हस्पिटल गएर बसेको छु । अस्पतालमा आउने गरिब बिरामी र अपस्पताल प्रशासनको व्यवाहार अध्ययन् गरेको छु,” दीपेन्द्र भन्छन्, “कहिले आफन्त विरामी लिएर अस्पताल गएको छु, कहिले माक्स लगाएर अस्पतालमा बसेर बिरामी र आफन्तको पीडा घण्टौं सुनेको छु ।”
निर्देशकीय पागल पन बोकेर हिँड्दा त्यसले निर्देशकको व्यक्तिगत जिन्दगीमा ठूलो असर गर्ने गरेको उनी बताउँछन् । चलचित्रको कथा र पात्र टाउकोमा बोकेर हिँड्दा निर्देशकले के–कति गुमाउँछ त्यो व्यत्ति स्वयम्ले मात्रै अनुभुत गर्ने उनी बताउँछन् । पागल पन बोकेर निर्देशकीय क्षमता प्रदर्शन गर्ने निर्देशकको संख्या बाक्लिँदै जाँदा राम्रा चलचित्र आउने उनी बताउँछन् ।
डेढ वर्षबाट निर्देशक तथा कलाकार खगेन्द्र लामिछाने चलचित्र ‘पानी फोटो’मा ब्यस्त छन् । यो बीचमा उनलाई थुप्रै चलचित्रबाट अफर आए । तर ती चलचित्रमा काम गर्ने उनलाई आँट नै आएन । कारण उनको दिमागमा ‘पानी फोटो’ मात्रै छ । “चलचित्र विग्रिन्छ कि भन्ने हुँदोरहेछ । खाँदा, बस्दा, सुत्दा हरेक क्षणमा त्यही चलचित्रले दिमागमा हानिरहँदोरहेछ,” खगेन्द्र भन्छन्, “ जे देख्यो त्यसलाई आफ्नो चलचित्रसँग रिलेट गर्न खोजिँदोरहेछ, सायद निर्देशकीय पागल पन भनेको यही नै हो ।”
उनी राम्रो चलचित्र निर्माण गर्ने निर्देशकले चलचित्रका हरेक पात्र, परिस्थिती र त्यसको भोगाइमा नजिकबाट आफूलाई देख्न र भेट्न सक्नुपर्ने बताउँछन् । “चलचित्र भित्रको एउटा कुनै क्यारेक्टरले अरु क्यारेक्टरलाई बुझेको राम्रो तर नसके आफूलाई मात्रै गहिराइमा बुझे पुग्छ, तर निर्देशकले हरेक क्यारेक्टर र परिस्थितीको गहिराइमा पुग्नुपर्छ । यो पागलपन निर्देशकमा भएन भने राम्रो चलचित्र बन्नै सक्तैन,” खगेन्द्र भन्छन् ।