सफल भए कारबाही नहुने तर असफल सजाय भोग्नुपर्ने सायद एउटामात्रै अपराध आत्महत्या हो । यसैले बालक छोराहरू र पत्नीसहित आत्महत्याको प्रयास गर्ने व्यक्तिलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको हुनुपर्छ । धादिङको बेनीघाट रोराङ–४ बाँदरेघुम्तीमा दुई बालक छोराहरू र पत्नीसहित हाल काठाडौं चन्द्रोदय – ४ थानकोट बस्दै आएका शिक्षित युवकले आत्महत्याको प्रयास गरेका थिए । बालक छोराहरू लिएर नदीमा हेलिएका आमाबाबुमध्ये आमाको शब फेला परेको छ भने बाबुलाई जीवितै उद्धार गरिएको छ । बालक छोराहरू भने अहिलेसम्म बेपत्ता छन् । जीवित उद्धार गरिएका युवकले आफू रिनमा डुबेकाले सपविार आत्महत्या गर्ने निर्णय गरेको बताएका छन् । उनले चर्को ब्याजमा रिन लिएकाले अनपेक्षितरूपमा रिनको भार बढेको अनुमान गरिएको छ । प्रहरीले आत्महत्या दुरुत्साहन र उनले लिएको चोके ब्याजका सम्बन्धमा अनुसन्धान गरिरहेको बताएको छ । केही वर्ष पहिले राजधानीमा एक सम्भ्रान्त परिवारका उच्च शिक्षित प्रतिष्ठित व्यक्तिले समेत बैंकको रिन तिर्न नसक्ता प्रतिष्ठा गुमेको ठानेर आत्महत्या गरेका थिए ।
व्यक्तिको निर्णय भए पनि आत्महत्याका लागि परिवार, समाज र राज्य पनि जिम्मेवार हुन्छ । अहिलेसम्म दोष भने आत्महत्या गर्ने र बढीमा आत्महत्याका लागि उक्साउनेलाई मात्र दिने गरिन्छ । व्यक्तिको ज्यान लिने अधिकार उसैलाई पनि हुँदैन भन्ने मान्यतामा आत्महत्याको प्रयासलाई दण्डनीय अपराध बनाइएको हुनुपर्छ । संसारका केही मुलुकमा प्राणदण्डको प्रावधान कानुनमै राखिएको छ तर नेपालमा त राज्यले समेत व्यक्तिको ज्यान लिन नसक्ने संवैधानिक व्यवस्था छ । तैपनि, नेपाली समाज र राज्य आत्महत्याका घटनामा खासै संवेदनशील भएको देखिँदैन । पछिल्लो घटनामा जीवितै उद्धार गरिएका आत्महत्याका मूल योजनाकारले रिन तिर्न नसकेपछि आत्महत्या गर्ने निर्णयमा पुगेको बताए । उनको भनाइले नेपाली समाजमा व्याप्त आर्थिक विसंगतिको कुरूप पक्ष पनि उदांगो भएको छ । सजिलै पैसा पाउने भएपछि चर्को ब्याज तिर्न तम्सने र व्यक्तिको बाध्यताको फाइदा उठाएर चर्को ब्याजमा रिन दिने प्रवृत्ति मौलाउँदै गएको छ । यसमा अंकुश नलगाउने हो भने यस्ता घटना बढ्दै जानेछन् । आत्महत्या व्यक्तिको कायरता वा आवेगको निर्णयमात्र भनेर पन्छनु मूर्खता हुन्छ । यस्तै गरिबीमात्र पनि यति ठूलो निर्णयकाे कारण हुनसक्तैन ।
उनीजस्तै र उनीभन्दा पनि बढी आर्थिक बोझले थिचिएका लाखौं नेपाली परिवारले आत्महत्याको बाटो भने रोजेका छैनन् । रिन लिनेमध्ये धेरैले कर परेरमात्र लिएका हुन्छन् । रहरले रिन लिनेहरू प्रायः धेरैले व्यवसायका लागिका लिने हुन् । नेपाली समाज रिनका मामिलामा खासै उदार पनि छैन । वित्तीय संस्थाहरूमा जान हिचकिचाउने वा पहुँच नहुनेहरू भने चर्को ब्याजमा व्यक्तिगत रिन लिन बाध्य हुन्छन् । सामाजिक व्यवहार र घरखर्चका लागिमात्र हैन सन्तानको शिक्षादीक्षाका लागि समेत घरखेत जायजेथा बन्धक राखेर रिन लिनेहरूको संख्या भने निकै ठूलो छ । यस्तै, खेती वा उद्योग व्यवसायका लागि लिएको रिन तिर्न नसकेर बढ्दै जाँदा घरबार लिलाम हुनेहरूको संख्या पनि नेपाली समाजमा सानो छैन । राज्यले यस्ता घटनालाई गम्भीरतापूर्वक लिनुपर्छ । घटना विशेषमा प्रहरी कारबाही गरेर राज्यको दायित्व पूरा हुँदैन । यसका सबै पाटाहरूको सूक्ष्म अध्ययन गरेर आर्थिक, सामाजिक, पारिवारिक तथा मानसिक पक्षहरूमा उपयुक्त समाधान पहिल्याउनु आवश्यक छ । उपभोक्तावादी संस्कृतिले परम्परागत मूल्य मान्यता भत्काएको तर नयाँ संस्कृतिको विकास भइनसकेको संक्रमणमा रहेकाले नेपाली समाजलाई बेलैमा यस्ता विसंगतिबाट जोगाउनु आवश्यक देखिन्छ ।