काठमाडौं । कुनै समय नेपाली सांगीतिक क्षेत्रको पप विधामा लोकप्रिय रहेका गायक-गायिका अहिले चर्चामा छैनन् । क्यासेट र सीडी बिक्रीको समयमा चौडा छवि बनाएका गायक-गायिका अहिले ओझेलमा छन् । यद्यपि उनीहरूले कमब्याकको प्रयास नगरेका भने हैनन् । तर डिजिटल प्रविधिमा आएको नयाँ पुस्ताले बजार लिएपछि पहिलो पुस्ताका गायक-गायिकालाई कमब्याक गर्न सहज नभएको हो ।
यद्यपि यसमा केही सहमत छन् भने केही असहमत । गायक सञ्जय श्रेष्ठ पुराना गायक-गायिकाले कमब्याक गर्न नसकेको भन्दा पनि नचाहेको बताउँछन् । तर अर्का गायक सचिन रौनियार भने समयसँगै दर्शक, रुचि, प्रविधि, सञ्चार माध्यम पनि फेरिएकाले कमब्याक गर्न सहज नरहेको बताउँछन् । समयसापेक्ष आफूलाई पनि परिवर्तन गर्दै जानुभन्दा पनि दर्शक र बुझाइलाई दोष दिएर बस्ने प्रवृत्ति रहेको उनी बताउँछन् ।
गायक श्रेष्ठ पुराना समकालीनको नयाँ पुस्तासँग प्रतिस्पर्धा नरहेको बताउँछन् । पुराना गायकहरू पछिल्लो समयमा सक्रिय नभएकाले ओझेलमा परेजस्तो मात्रै लागेको उनको भनाइ छ । “न हामीलाई कसैसँग प्रतिस्पर्धा गर्नु छ, न हामीसँग नै कसैको प्रतिस्पर्धा छ,” उनी भन्छन्, “हामी पछिल्ला वर्ष सक्रिय नभएको मात्रै हो ।”
आफूहरू पुरानो समयमा झैं सक्रिय भए आहिले पनि राम्रा र लोकप्रिय गीत ल्याउन सक्ने श्रेष्ठ बताउँछन् । दीपक वज्राचार्यलाई उदाहरण दिँदै उनी भन्छन्, “दीपकले मनमगन ल्याएर अहिलेका सबै गायकलाई पछि पारिदियो । यसले पनि पुराना गायक–गायिकाको क्रेज, लोकप्रियता र गायनमा उत्तिकै क्षमता छ भन्ने देखिन्छ ।”
युट्युबमा भ्युज धेरै हुँदैमा त्यो गीत लोकप्रिय भयो भन्न नमिल्ने उनको तर्क छ । युट्युबमा सस्तो लोकप्रिय र छाडा गीतहरूको भ्युज धेरै रहेको भन्दै श्रेष्ठ भन्छन्, “छाडा गीतको भ्युजभन्दा नारायण गोपालका गीतको भ्युज निकै कम छ । त्यसो भए के हामीले नारायण गोपालका गीत राम्रा छैनन् भनेर निष्कर्ष निकाल्ने ? यद्यपि नयाँ गीत पनि सबै नराम्रा मात्रै छन् भन्दिनँ म ।”
गायक सचिन रौनियार भने क्यासेट र सीडीको समयका गायक–गायिकाले अहिलेको बजारमा आउने बेलामा १० पटक सोच्नुपर्ने बताउँछन् ।
समयसँगै धेरै कुरामा परिवर्तन भइसकेकाले कमब्याक गर्ने गायक–गायिकाले आर्थिकसँगै नयाँ दर्शकको नयाँ स्वाद पनि थाहा पाउनुपर्ने सचिन बताउँछन् । “हाम्रो समयका दर्शक रहेनन्, लगानी धेरै हुन थाल्यो । मिडिया फरक भए । सोसल साइट र युट्युबको जमाना आयो । त्यसैले कमब्याकमा कठिनाइ छ,” रौनियार भन्छन्, “जेनेरेसन ग्याप भयो । प्रविधि फरक भयो । अहिलेका दर्शकलाई तत्काल रियाक्सन चाहिन्छ । यी सबैलाई ह्यान्डल गर्न सक्नेले मात्रै कमब्याक गर्न सक्छ ।”
यद्यपि अहिले ट्रेन्डिङको आतंक रहेको रौनियार बताउँन् । गीत रिलिज गरेपछि ट्रेन्डिङमा आए हिट भयो भन्ने विश्वास रहे पनि यसमा भने उनी सहमत छैनन् । “ट्रेडिङमा आयो भनेर हिट भनेर स्टेजमा त्यही गीत गाउने चलन छ अहिले । तर त्यो गीत कसैले सुनेकै हुँदैन,” उनी भन्छन्, “स्टेजमा नचाउने गीत नै चाहिन्छ भन्ने पनि भ्रम छ । नाच्ने र नचाउने गीत मात्रै राम्रा हुँदैनन् ।”
समकालीनहरू नयाँ पुस्ताका स्रोताले गीत बुझेन भनेर गुनासो मात्रै गरेर बसिरहेको भन्दै उनी नयाँ समय र परिस्थितिलाई आत्मसात् गरी अगाडि बढ्नुपर्नेमा जोड दिन्छन् । “खाना पकाएर दिएपछि मात्रै खाने त्यसको स्वाद थाहा पाएर मीठो–नमीठो भन्ने हो,” उनी भन्छन्, “मैले पनि नयाँ समयअनुसार गीत लिएर आएको हुँ, राम्रै भयो ।” उनले केही समय अगाडि ‘ए मान्छे...’ बोलको गीत लिएर सांगीतिक बजारमा कमब्याकको प्रयास गरेका थिए ।
अर्का गायक तथा संगीतकार जेम्स प्रधान पुरानो र नयाँ स्रष्टा र सिर्जनाबीचको संक्रमणको समयमा नेपाली सांगीतिक क्षेत्र र दर्शक रहेको बताउँछन् । नयाँ स्रोता पुराना पुस्ताका गीतमा अपडेट हुन नसकेको प्रधान बताउँछन् । “पुराना गायक–गायिकाले गीत नै नगाएको होइन । अहिले पनि गाइरहेका छन्,” उनी भन्छन्, “तर उनीहरूलाई अहिलेका स्रोताले नोटिस गरिरहेका छैनन् ।” नयाँ पुस्ताले पुरानालाई बिर्सिंदै गएको उनको भनाइ छ ।
यद्यपि नयाँ पुस्ताले अहिले पनि पुराना गीतको नै कभर गरिरहेकाले आफूहरूको सिर्जना बलियो रहेको उनी बताउँछन् । “अहिलेको पुस्ताले पुरानै गीत कभर गरिरहेको छ । नयाँ गीतको कभर खासै गरेको देखिँदैन,” उनी भन्छन्, “त्यसैले पुरानाको फेरि पनि दिन पक्कै पनि आउँछ । अहिले संक्रमणकालीन समय चलिरहेको जस्तो लाग्छ ।”
कमब्याकको प्रयास असफल हुनुमा नयाँ प्रविधि, समय र मिडियाअनुसार आफूलाई बदल्न नसक्नु पनि कारण हुन सक्ने उनी बताउँछन् ।
४० को दशकको अन्त्यदेखि ५० दशकमा आफूलाई लोकप्रिय बनाएका ओमविक्रम विष्ट, विधान श्रेष्ठ, बबिन प्रधान, सञ्जीव प्रधान, निमा रुम्बा, हरिश माथेमा, दीपक वज्राचार्य, योगेश्वर अमात्य, कवीन्द्र श्रेष्ठ, प्रवेशमान, उदेश श्रेष्ठ, धीरज राई, भीम तुलाधार, कमलमान सिंह, प्रवेशमान शाक्यलगायत केहीबाहेक अधिकांश सक्रिय छैनन् । यीमध्ये धेरैले कमब्याकको प्रयास गरे पनि अधिकांश असफल भए ।