काठमाडौंको विद्युत् वितरणमा सुधार नगर्ने हो भने उपभोक्ताले ‘बरु लोडसेडिङ गरिदेऊ’ भनेर माग गर्ने अवस्था आउन लागेको छ । अहिले उपत्यकाका अधिकांश ठाउँमा विद्युत् आपूर्ति अत्यन्त अनियमित हुने गरेको छ । लामो समयसम्म विद्यत् कटौतीको मार सहेका उपत्यकाका उपभोक्ता विगत दुई वर्ष यता सहजरूपमा बिजुली पाएका थिए । नेपाल विद्युत् प्राधिकरणको व्यवस्थापनमा ‘चमत्कारी सुधार’ गरेको जस कार्यकारी निर्देशक कुलमान घिसिङलाई दिइएको थियो । तर, यसबीच विद्युत् आपूर्ति बढे पनि वितरण प्रणालीमा मागबमोजिम आपूर्ति गर्न सक्ने क्षमता बढाउन ध्यान दिइएन । फलस्वरूप, उपत्यकाको वितरण प्रणाली अस्तव्यस्त हुन पुगेको छ । थाहै नदिई बिजुली जाने गर्दा उपभोक्तामात्र हैन विद्युतीय उपकरण पनि संकटमा परेका छन् । कुनै बेला ‘चन्द्र ज्योति’ कहलिने उपत्यकाको बिजुली बले नबलेको टर्च बालेर हेर्नुपथ्र्यो रे ! अहिले स्विच थिच्दाथिच्दै बलिरहेको बिजुली झिलिक्क अल्पिन्छ र आइदिन्छ । आएपछि पनि बलिरहेका ट्युबलाइटहरू बल्दैनन् ।
उपभोक्ताले ‘अघोषित लोडसेडिङ’को नाम दिएको यो अव्यवस्थाले हाम्रो व्यवस्थापकीय कमजोरीको पनि पोल खोलेको छ । विद्युत् माग बढ्ने त स्वतः सिद्ध नै थियो । बन्दै गरेका आयोजना पूरा भएपछि आपूर्तिमा पनि अपेक्षाकृत सुधार हुने सबैले थाहा पाउने नै विषय हो । केही समय यता प्रत्यक्ष अप्रत्यक्ष विद्युत् प्राधिकरणकै तर्फबाट पनि आपूर्तिमा समस्या नहुने भन्दै विद्युतीय उपकरणको प्रयोग बढाउन आह्वान हुनेगरेको छ । ठूलो व्यापार घाटा बेहोरेको मुलुकका जनतालाई आयातित इनधनको साँटो आन्तरिक उत्पादन बिजुलीको प्रयोग गर्न आह्वान गर्नु अस्वाभाविक र अनुचित पनि हैन । तर, वितरणमा पनि त्यही अनुरूपको सुधार नहुँदा उपभोक्ता निराश भएका हुन् । यसैले उपत्यकाको विद्युत् वितरण प्रणालीका कारण नेपाली उपभोक्ताको विश्वास खलबलिन नदिन प्राधिकरणले बेलैमा ध्यान दिनुपर्ने देखिन्छ ।
विद्युत् आपूर्ति एक सेकेन्डमात्रै पनि अवरुद्ध हुँदा इन्टरनेट सेवा अवरुद्ध हुन्छ । त्यसलाई पुरानै अवस्थामा फर्कन केही मिनेट लाग्छ । सञ्चार प्रविधिमा निर्भर हुँदै गएको समाजका लागि त्यो निकै कष्टप्रद र हानिकारक हुनसक्छ । केही दिन पहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा विद्युत् प्रवाह रोकिँदा ठूलै खलबल भयो । हुनत, विमानस्थलको विद्युत् आपूर्तिमा वैकल्पिक व्यवस्था नगर्नेहरू बढी दोषी हुन् तर सेवा अवरुद्ध नभएको भए त्यस्तो अवस्था उत्पन्न हुनेथिएन । यसैले, वितरण व्यवस्थापनमा चमत्कार देखाएका घिसिङले उपत्यकाका अस्तव्यस्तता अन्त्य गर्न प्राथमिकता दिनु जरुरी देखिन्छ । हुनत, अब फेरि ‘लोडसेडिङको तालिका’ बनोस् भन्ने चाहना सामान्य उपभोक्ता कसैले पनि गरेका छैनन् होला तर यस्तै रहने हो भने बरु केही समय विद्युत् कटौती घोषित गरे हुन्छ । हैन, ‘लोडसेडिङ’को दुनियाँमा फर्कन लाज लाग्ने हो वितरण व्यवस्थामा तत्काल सुधार आवश्यक छ । कार्यकारी निर्देशक घिसिङले आफ्नो साख जोगाउन पनि यो चुनौती स्वीकार गर्नुपर्छ ।