काठमाडौं । बेलाबेला केही निर्देशक तथा निर्माता भन्छन्, “नेपालमा फिल्म लिट्रेसी निकै कम छ, त्यसैले मिहिनेत गरी बनाइएका र आशा गरिएका चलचित्र नै चल्दैनन् ।”
समीक्षकहरूले निकै राम्रा भनेर समीक्षा गरेका चलचित्र बक्स अफिसमा चल्दैनन् । समीक्षकको राम्रो समीक्षा पाएका चलचित्र नचल्नु र निर्देशक तथा निर्माताको दाबीमा सत्यता रहेको आधार पुष्टि हुन्छ । ‘हरि’, ‘कथा’, ‘डाइङ क्यान्डल’, ‘आचार्य’ निकै राम्रो समीक्षा बटुलेका चलचित्र हुन् । तर, यी चलचित्रले हलमा दर्शकको साथ पाउन सकेनन् । निर्माताको लगानी उठेन । बक्स अफिसमा ‘फ्लप’ मै दरिए ।
राम्रा भनिएका चलचित्र पनि नचल्दा निर्देशकका नाममा अर्को एउटा फ्लप चलचित्र थपिन्छ । त्यसको असर निर्मातालाई मात्रै पर्दैन । निर्देशकको ‘करिअर’मा पनि पर्छ । निर्देशक सफल केसी र प्रतीक गुरुङले अभिनेता विपिन कार्कीलाई लिएर निकै मिहिनेत गरी चलचित्र ‘हरि’ बनाए । चलचित्रबाट उनीहरूले ठूलो अपेक्षा गरेका थिए । ८६ लाख लगानी भएको थियो चलचित्रलाई दर्शकको साथ मिलेन । लगानी उठेन । निर्माताको हातमा १० हजार पर्यो । “तीनचार दिन त शिर पूरै झुक्यो नि हाम्रो । निर्माताको अगाडि अनुहार देखाउनै लाज लाग्यो,” सफल भन्छन्, “तीनचार दिनपछि बिस्तारै हेर्नेहरूले राम्रो भन्नुभयो । समीक्षकको तारिफ आयो । त्यसपछि अलि हिम्मत बढ्यो ।”
निर्माताले नै ‘यस्तै हो, चलचित्र त राम्रै हो नि चलेन’ भनेपछि बल्ल सफल र प्रतीकको शिर ठाडो भयो । यद्यपि कति निर्माता त ‘हरि’ को निर्देशक भनेपछि आफूहरूबाट टाढिने गरेको उनीहरूको अनुभव छ । ‘सेतो सूर्य’, ‘बुलबुल’, ‘कालो पोथी’, ‘पशुपतिप्रसाद’, ‘टलकजङ भर्सेस टुल्के’ लगायत चलचित्रलाई पनि राम्रो चलचित्र भनेर समीक्षकले लेखे । ‘सेतो सूर्य’, ‘कालो पोथी’ले त विदेशमा विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा अवार्ड नै जिते । तर, यी चलचित्र पनि नेपालमा त्यति धेरै चलेनन् । ‘सेतो सूर्य’, ‘कालो पोथी’ ले नेपालमा लगानी उठाए पनि लगानीको अनुपातमा ठूलो व्यापार गर्न सकेनन् ।
‘बुलबुल’ पनि विभिन्न अन्तर्राष्ट्रिय चलचित्र अर्वाडमा छनोट भयो । केही विधामा जित्यो पनि तर नेपाली दर्शकले भने खासै पत्याएनन् । यद्यपि यो चलचित्रले घाटै बेहोर्नु भने परेन । ‘आचार्य’ ले समीक्षकको वाहवाही नै पायो । हाल चलचित्र निर्देशक दीपेन्द्र लामा त्यो बेला चलचित्र समीक्षक थिए । उनले लेखेका थिए, यस्ता चलचित्र नेपाली चलचित्र उद्योगमा वर्षमा चार/पाँचवटा मात्रै बने भने १० वर्षमा उद्योगले ठूलो फड्को मार्छ । विश्व बजारमा गुणस्तरीय चलचित्र बन्छ भनेर नेपाली चलचित्र उद्योगको पहिचान हुन्छ ।
“तर, त्यस्तो भएन । राम्रो समीक्षा बटुल्ने चलचित्र पनि कम भए । र, बनेका चलचित्रले पनि हलमा व्यापार गर्न सकेनन्,” चलचित्र निर्देशक दिनेश राउत भन्छन्, “समीक्षा पढेर चलचित्र हेर्न जाने दर्शकको संख्या नै छैन ।” नेपाली चलचित्रको समीक्षा पढेर हलमा जाने नेपाली दर्शक नभए पनि नेपालमै हिन्दी चलचित्रको समीक्षा पढेर हेर्न जाने अथवा नजाने निर्णय लिने दर्शकको संख्या भने धेरै रहेको दिनेश बताउँछन् ।
राम्रो भनेर समीक्षकले सार्वजनिक रूपमा सञ्चारमाध्यममा प्रकाशन÷प्रसारण गरे पनि त्यसको प्रभाव नपर्नुको मुख्य कारण ‘फिल्म लिट्रेसी’ नहुनु मुख्य कारण रहेको निर्देशक नरेशकुमार केसीको भनाइ छ । नेपाली चलचित्रको व्यापारलाई समीक्षाले प्रभाव पार्न अझै केही समय लाग्ने उनी बताउँछन् । चलचित्रलाई मनोरञ्जनका रूपमा मात्रै लिने दर्शकको संख्या उच्च भएकाले राम्रा भनिएका चलचित्रले अपेक्षित बजार नपाएको निर्देशक विनोद पौडेल बताउँछन् । “जबसम्म चलचित्रले पनि गम्भीर विषय उठान गर्छन् र यसलाई मनन् गर्दै कलाको पक्षलाई मनन् गर्ने दर्शक हुँदैनन् त्यो बेलासम्म उत्कृष्ट चलचित्रले राम्रो व्यापार गर्दैनन्,” विनोद भन्छन्, “चलचित्र फगत मनोरञ्जन मात्रै होइन, समाजको यथार्थ चित्रण गर्ने कला हो भन्ने बुझाइ अधिकांशमा हुँदैन त्यो समयसम्म राम्रो समीक्षा पाएका चलचित्र हलमा चल्दैनन् ।”