site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दर्शकले पत्याए, समीक्षकले पत्याएनन् 

काठमाडौं । नेपाली बक्स अफिसमा पछिल्ला वर्ष कमै मात्रै चलचित्र सफल छन् । वार्षिक सय चलचित्र रिलिज हुँदा दुई÷तीनवटाले मात्रै बक्स अफिसमा आफूलाई प्रमाणित गर्दै आएका छन् । 

तर, बक्स अफिसमा सफल भएका अधिकांश चलचित्रले समीक्षकको भने साथ पाएका छैनन् । ‘छक्का पञ्जा’, ‘ए मेरो हजुर’ र ‘नाईं नभन्नु ल’ सिरिज पछिल्लो समय दर्शकले मन पराएका चलचित्र हुन् । यी चलचित्रलाई क्रमशः दीपाश्री निरौला, झरना थापा र विकास आचार्यले निर्देशन गरेका हुन् । ‘प्रेम गीत’ र यसका सिरिज तथा केही बक्स अफिसमा सफल अन्य केही चलचित्रले व्यापार राम्रै गरे पनि समीक्षकको साथ भने बटुल्न सकेनन् । ‘प्रेम गीत–१’ लाई सुदर्शन थापाले निर्देशन गरेका थिए भने २ लाई रामशरण पाठकले निर्देशन गरेका थिए । 

यी चलचित्रले दर्शकको साथ पाए । बक्स अफिसमा सफल भए । तर, समीक्षकले राम्रो लेखेनन् । यसमा निर्देशकहरूले सार्वजनिक रूपमै असन्तुष्टि जनाए । 

तर, स्वयं चलचित्रकर्मीहरू नै बक्स अफिसमा ‘हिट’ हुँदैमा चलचित्र राम्रो हो भनेर भन्न नसकिने बताउँछन् । निर्देशक दिनेश राउत राम्रो व्यापार गरेका सबै चलचित्र राम्रो नहुने बताउँछन् । “सबै राम्रा चलचित्र चल्दैनन् । र, चलेका सबै  राम्रा हुँदैनन्,” दिनेश भन्छन्, “बक्स अफिसमा राम्रो गरेका सबै चलचित्र राम्रै हुन्छन् भन्ने छैन । नराम्रा चलचित्र पनि चलेका छन् ।” 

असल समीक्षकले नराम्रो नियत राखेर समीक्षा नगर्ने भन्दै दिनेश राम्रो समीक्षकले जे लेख्छ, त्यसले निर्देशकलाई राम्रो गर्ने बताउँछन् । 

बजारको भिजुअल लिट्रेसीले चलचित्रको व्यापार निर्धारण गर्ने अर्का निर्देशक विनोद पौडेल बताउँछन् । लिट्रेसीको प्रतिशत उच्च भए राम्रा चलचित्र चल्ने र कम भए कम राम्रा चलचित्र चल्ने उनको भनाइ छ ।  “राम्रा र गुणस्तरीय चलचित्र सधैं केही व्यक्ति र समुदायमा मात्रै सीमित भइरहेका हुन्छन्,” विनोद अगाडि भन्छन्, “गहिराइको प्राक्टिस कम व्यक्तिले गर्छन् । त्यसको नतिजा राम्रा चलचित्र चल्दैनन् ।”

हल्लैहल्ला र लहलहैका भरमा चलचित्र चलिरहेको उनी बताउँछन् । घरमा दिमाग छाडेर हलमा जाने र केही छिन् रमाउने चलचित्र मात्रै चलिरहेको भन्दै उनी भन्छन्, “दुई घण्टा रमायो, बाहिर निस्किँदा दिमागमा केही पनि हुँदैन । यस्तै चलचित्र धेरै चल्छन् ।” 

अहिलेको समाज हल्लैहल्लामा चलिरहेको उनको भनाइ छ । धैर्य गरेर कलालाई बुझ्ने, अनुभव गर्ने र मूल्यांकन गर्ने फुर्सद अहिलेको समाजमा नरहेको उनी बताउँछन् । “गहिराइमा पुगेर बनाइएका चलचित्र हेर्न रुचाउनेको संख्या न्यून भएकाले राम्राभन्दा पनि रमाइला चलचित्र चलिरहेका छन्,” उनले भने । 

हलमा दर्शकको संख्या उल्लेख्य हुँदैमा चलचित्र राम्रो हो भनियो भने गलत हुने निर्देशक नरेशकुमार केसी बताउँछन् । “बक्स अफिस कलेक्सन राम्रो हुँदैमा चलचित्र राम्रो हुँदैन भन्ने विश्वव्यापी सत्य हो,” नरेश भन्छन्, “चलचित्र राम्रो हुन कथा, पटकथा, साउन्ड, क्यामेरा, अभिनय, कलरलगायत पनि त्यतिकै राम्रो काम भएको हुनुपर्छ ।” 

बक्स अफिसको उत्साहजनक रिपोर्ट राम्रो चलचित्रका विभिन्न पाटोमध्ये एउटा पक्ष मात्रै भएको उनी बताउँछन् । 


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस ११, २०७६  १५:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro