काठमाडौं । शनि विश्वकर्मालाई नेपाल लोक स्टारको विजेता भएको देख्न चाहने दर्शकको संख्या लाखौं छ, त्यो चाहना पूरा होला ?
दर्शकको माया पाएपछि पक्कै पनि विजेता भइन्छ भन्ने मलाई फिल हुन्छ ।
सपना पूरा भयो भने शनिको योजना के छ ? ५० लाखले के गर्नुहुन्छ ?
म के–के गर्छु भन्दा पनि म के बन्छु भन्ने हो । म कसरी सबैको लोकप्रिय बन्छु भन्नेतर्फ ध्यान दिनेछु । कतिपय व्यक्ति ‘रियालिटी–शो’ जितेर पनि गुमनाम भएको स्थिति छ । त्यो भीडमा पर्न म चाहन्नँ । म क्वान्टिटीभन्दा पनि क्वालिटीमा ध्यान दिनेछु ।
दुई महिनाअघि सम्पन्न नेपाली मौलिक रियालिटी–शो ‘नेपाल लोक स्टार’ को ३४औं शृंखलामा फाइनलिस्ट शनि र उक्त शोकी होस्ट सुगारिका केसीबीचको संवादको अंश हो ।
१७ वर्षीय शनिको यो जवाफले स्पष्ट संकेत गरिरहेको थियो, नेपालमा भइरहेका रियालिटी–शोका विजेताहरू गुमनाम प्रायः छन् ।
शो जिते पनि उनीहरूले दर्शकको मन जित्न सकेका छैनन् भन्न शनि लक्पकाएनन् ।
त्यसो त शनि मात्रै होइन केही साताअघि मात्रै सम्पन्न ‘भ्वाइस अफ नेपाल’ सिजन–२ का विजेता राम लिम्बूले पनि यो तथ्यलाई अनुभूत गरेका रहेछन् ।
कुनै पनि ठूलो प्रतियोगिता जित्नु जति कठिन हुन्छ, त्योभन्दा कठिन त्यसलाई जोगाउन हुन्छ । यो सफलता जोगाउन नसक्ने पो हुँ कि भन्ने डरले कत्तिको लपेट्छ ?
एकदम धेरै लपेट्छ । म पहिलाको जस्तो रहिनँ । अब मेरा हरेक कुरा दर्शक तथा स्रोताले हेर्नुहुन्छ ।
धेरैबाट मलाई छान्नुभएको छ । त्यसैले मलाई बजारले हेरिरहेको छ ।
त्यसैले मैले अब गर्ने काममा निकै धेरै विचार पुर्याउनुपर्नेछ ।
यसको प्रेसर भने हुँदोरहेछ । मैले पाउने त पाइसकें अब यसलाई जोगाउनुपर्छ । र, यो नै कठिन कार्य हो ।
जिज्ञासामा उनको यो इमानदार जवाफ थियो । अरूको इतिहास हेरेर राम त्यसबाट सजग रहँदै नहराउने योजनामा छन् ।
भलै शनि र रामको प्रतिबद्धता र सजगताले उनीहरूलाई इतिहास दोहोरिनबाट जोगाउँछ अथवा जोगाउँदैन त्यो चाँडै देखिनेछ ।
‘भ्वाइस अफ नेपाल’का कोच दीप श्रेष्ठ ‘टाइटल’ जित्न जस्तो सजिलो अपेक्षा पूरा गर्न नहुने बताउँछन् ।
प्रतियोगितामा अरूका गीत गाएर दर्शकको मन जिते पनि उसको असली परीक्षा आफ्नै गीत गाएपछि हुने दीपको बुझाइ छ ।
“प्रतियोगितामा कभर सङ गाउँदा दर्शकलाई राम्रो लाग्छ । दर्शक तथा स्रोताको अपेक्षा पनि धेरै हुन्छ,” उनी भन्छन्, “तर आफूले पछि त्यही गीत गाउँदा त्यो अपेक्षा पूरा गर्न हम्मेहम्मे पर्छ ।”
‘रियालिटी–शो’ मा दर्शकबाट आउने भोटले पनि प्रतिभा छनोटमा तलमाथि हुने दीपको अनुभव छ ।
“जनताबाट आउने भोटले पनि प्रतिभा छनोटमा केही असर गरिरहेको हुन्छ,” उनी भन्छन्, “हामीले सोचेका विनरमा भोटका कारण १९–२० भइरहेको हुन्छ ।”
उनी नाम हुने तर लोकप्रिय गीत हुन निकै कठिन हुने गरेको बताउँछन् ।
संगीतकार वसन्त सापकोटा आम–जनमानसको मनमस्तिष्कमा बसिसकेका गीत गाउँदा दर्शक तथा स्रोताले मन पराए पनि ‘रियालिटी–शो’बाट बाहिर आएपछि बल्ल गीतसंगीतको यात्रा सुरु हुने बताउँछन् ।
“शोबाट बाहिर आएपछि गीत छनोट, कम्पोज र म्युजिक भिडियो बनाउनुपर्छ । यसै पनि गीत महँगो छ त्यसमा पनि लोकप्रिय हुन्छ भन्ने ग्यारेन्टी छैन,” वसन्त भन्छन् ।
‘रियालिटी–शो’ को फम्यार्ट पनि गलत रहेको वसन्त बताउँछन् ।
‘रियालिटी–शो’ चलिरहँदा अरूकासँगै प्रतिस्पर्धीलाई नयाँ गीत पनि तयार पारेर गाउन लगाउन सके ‘रियालिटी–शो’ बाट बाहिर निस्किँदा उनीहरूका गीत पनि लोकप्रिय भइसक्ने उनी बताउँछन् ।
“रियालिटी–शो’को फर्म्याट पनि ठीक छैन । प्रतिस्पर्धीले अरूका गीत गाउँदै गर्दा आयोजकले पनि कम्तीमा १० प्रतिस्पर्धीका लागि १–१ गीत तयार गरी गाउन लगायो भने त्यो गीतको भिडियो पनि त्यही स्टेजमा गाएको नै हुन्छ,” वसन्त भन्छन्, “यसो गर्न सक्यो भने प्रतिस्पर्धी शोबाट बाहिर निस्किँदा उसको गीत पनि लोकप्रिय भइसकेको हुन्छ ।”
‘नेपाल आइडल’का निर्णायक कालीप्रसाद बास्कोटा चिन्दै नचिनेको प्रतिभालाई आम–जनातासामु चिनाइदिनु ठूलो उपलब्धि भएको बताउँछन् ।
“रियालिटी–शोबाट बाहिर निस्किएपछि बल्ल सांगीतिक संसारमा प्रवेश हुन्छ,” उनी भन्छन्, “अननोन् फेसले जिरोबाट संघर्ष गर्दाभन्दा आमजनतामा चिनिइसकेको व्यत्तिलाई संघर्ष गर्न सजिलो हुन्छ ।”
कालीप्रसाद भने नेपालका ‘रियालिटी–शो’ का विजेताहरूले राम्रै प्रगति गरिरहेको बताउँछन् । “कसैले अवार्ड जितेका छन् । कतिले पाश्र्व गायनमा अवसर पाएका छन्,” उनी भन्छन्, “कतिले मसँगै युगल गाएका छन् त केहीले हामीसँगै स्टेजमा गाइरहनुभएको हुन्छ । यसलाई सफलता मान्नुपर्छ ।”
नेपालमा केही वर्षअगाडि मौलिक ‘सिङगिङ रियालिटी–शो’ ‘नेपाली तारा’ यही वर्ष ‘नेपाल लोक स्टार’ सञ्चालन भएका थिए भने ‘नेपाल आइडल’ र ‘भ्वाइस अफ नेपाल’ केही वर्षयता प्रशारण हुँदै आएका छन् ।