एक दशकको केहीअडाडि म अनामनगरमा एकजना ठूलो ज्यानको मान्छे लमकलमक लम्किएको देख्थेँ । त्यही मान्छे कहिलेकाहीँ विहान सबेरै प्रदर्शनीमार्गतिर बरालिरहेको पनि देख्थेँ । बाल्यकालमा टेलिभिजनमा देखेको मान्छे आँखैअगाडि देख्दा नजर चनाखा हुन्थे । फर्किएर नहेरे पनि आँखाले नोटिस गर्थे । नाम पनि थाहा थियो– केशब भट्टराई । काँच र सेतो पर्दामा राम्रै लागेको व्यक्ति भए पनि म शाही नेचरकाे भएकाले होला मैले आजसम्म कसैलाई ‘ए मैले तपाईंलाई टीभीमा देखेको नि, कस्तो राम्रो लाग्छ’ भनेर आजसम्म भनेको छैन । त्यसैले कयौं पटक बाटोमा देख्दा मैले उनलाई बोलाइनँ ।
समय क्रमले मनले रोजेको पेसामा आइपुगेँ । मान्छेहरु भेट्ने र बोलाउने पेशा हो, पत्रकारिता । र पनि काम नपरेसम्म नबोल्ने मेरो स्वाभावले मलाई छोडेन । मैले यसलाई मेरो कमजोरीकै रुपमा लिइरहेको छु ।
कैले मैले त्यो व्यक्त्लिाई चिनेँ मलाई थाहा छैन, तर यति भन्न सक्छु किशोरावस्थामै चिनेको हुँ । रेडियो, एफएम, पत्रिका हुँदै डिजिटल पत्रिका अनलाइनमा काम गरेँ । तर दोहोरो चिनजान कहिलेबाट केशवसँग भयो मलाई याद छैन । पक्का हो, चिनजान हुन पाएको लामो समय भएको छैन । समाचार लेख्ने क्रममा फोनमा कुरा हुन्थ्यो । उनी मज्जाले बोल्थे । कार्यक्रमतिर भेट हुन्थ्यो । देखिन्थ्यो । कुरा सुनिन्थ्यो । कहिलेकाहीँ अरुसँगको भेटमा उनी पनि समूहमा भेटिन्थे । सोमबार बिहान ६ बजे मोबाइलको घन्टी बज्यो, हेरेँ । निर्देशक विनोद पौडेलको थियो ।
म: हेलो !
विनोद: नरेशजी, केशव दाइको खबर के हो ?
म: को केशव ?
विनोद: बोर्ड अध्यक्ष केशव दाइ ।
म: मलाई केही थाहा छैन त । म त बेडमै छु । नेट चलाको छैन ।
विनोद: नराम्रो खबर छ, यार ! बुझ्नु न ।
म: लौ हो र, के भयो त ?
म: हेलो ! हेलो !! हेलो !!!
विनोदको स्वर सुनिएन । मैले फेरि उनलाई बोलाउने प्रयासमा भनेँ हेलो ! हेलो !! तपार्ईं मलाई सुनिरहनुभएको छ ?
विनोद: आज बोर्डमा कार्यक्रम राख्नुभएको थियो उहाँले । यसो भन्दा विनोदको स्वर भित्रैदेखि हुँडलिएर आएको थियो । त्यसैले मैले भनेँ, ‘हुन्छ के भ’को र’छ म बुझ्छु ।’
मोबाइलमा वाइफाइ अन गरेँ । टेबलको ल्यापटप अन गरेँ । ल्यापटपमा फेसबुक खोलेँ । नेपाली चलचित्र उद्योगका हर गतिविधि तत्काल फेसबुकमा अपडेट गर्ने कलाकार हुन्, निर्मल शर्मा । म एकसाथ ल्यापटपमा खोलिएको फेसबुकमा निर्मल शर्माको फेसबुक अकाउन्ट सर्च गर्न सर्चबारमा नाम टाइप गर्न थालेँ भने मोबाइलमा उनको नम्बर खोजेर फोन कल गरेँ । उनले हेलो भन्नु र उनको फेसबुकवालमा ‘निशब्द !’ देखिनु एकैपटक भयो । ‘निशब्द !’ पोस्ट भएको तीन मिनेट देखाइरहेको थियो ।
निर्मलको आवाज आयो, हेलो ब्रदर ।
म: गुडमर्निङ सर, केशव सरको खबर के हो यस्तो ?
निर्मल: खोई ब्रदर । के हो । मलाई पनि त्यति धेरै त थाहा छैन । दुःखद घटना भयो भन्ने मात्रै हो ।
म: तपाईंहरु त साथी पनि, खास उहाँलाई के थियो त्यस्तो ?
निर्मल: हाइ ब्लड प्रेसर र सुगरचाहिँ टन्नै थियो, लामै समयदेखि ।
म: अनि त्यस्तो घटना कतिबेला कसरी भएछ, केही थाहा छ ?
निर्मल: हर्टअट्याक भएर ओम अस्पताल लैजाँदै गर्दा त्यस्तो भएछ । १० बजेर २० मिनेट जाँदाको कुरा रैछ ब्रदर ।
म: हस् सर ।
निर्मल: हस् ब्रदर ।
मैले बाह्रखरी डटकमका लागि समाचार लेखेर अपलोड गरेँ, चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन । समाचार लेख्दा औंलाहरु गह्रुँगा भए । समाचार साँच्चै सत्य हो ? आफैैंले लेखे पनि मलाई पत्याउन कठिन भैरहेको थियो । तर उनकै साथीसङ्गातीले उनको मृत्युपछि हरियो कपडाले शरीर छोपेर अनुहारमात्रै देखाइएको तस्बिर सामाजिक सञ्जालमा राखिसकेका थिए । तर पनि मलाई घटना पत्याउन सजिलो भैरहेको थिएन । अन्तर्मनले भनिरेहेको थियो– एडमिनमा गएर यो समाचार अन्यथा भएकोमा सच्याइएको छ भनेर लेख्न पाए हुन्थ्यो ।
तर त्यो त केवल मेरो भावनामात्रै न थियो, कसरी हुन्थ्यो र सम्भव ?
भेटेर एकाधपटक संवाद भए पनि फोनमा कुरा भैरहन्थ्यो । फोनको तत्काल रेस्पोन्स गर्थे । बिजी भए, आई कान्ट टक राइट नाउ । आई विल कल यु ब्याक सर्ट्ली । उनले लेखेका यस्ता म्यासेज मेरो मोबाइलको म्यासेज बक्समा थुप्रै छन् । उनी क्यान यु कल ब्याक लेटर ? पनि लेख्थे व्यस्त भए । फुर्सद भएपछि कलब्याक गर्थे ।
सोधेको प्रश्नको जवाफ खुलेर दिन्थे । उनलाई कसैले लगाएको आरोपबारे जिज्ञासा राख्दा पनि उनी रिसाउँदैनथे । त्यसैले मैले उनको मूल्याङ्कन गरेको थिएँ, केशव भुइँमान्छे हुन् ।
सरकारले गत चैतको पहिलो साता उनलाई चलचित्र विकास बोर्डमा नियुक्त गर्यो । पदबहाली गरेकै भोलिपल्ट मैले उनलाई कल गरेँ । अन्तर्वार्ताका लागि उनी असहज मानिरहेका थिए । मैले उनलाई भावी योजनाबारे मात्रै कुरा गर्छु भनेँ । उनले केही दिनमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्छु भने । त्यही कुरा मलाई आज तपाईंले भन्नुपर्यो भनेँ । उनी तयार भए मसँग कुरा गर्न ।
त्यही भेटमा हो केशव मसँग खुलेका । मन माझेर कुरा गरेका । बक्स अफिस, चलचित्रको नयाँ ऐन, हल सञ्चालकको मनोमानी, ‘सो’ नै गायब गर्ने सिङ्गल थिएटर । वितरक र चलचित्रले पाउने ‘सो’ बारे अफ द रेकर्ड उनले मसँग खुलेर कुरा गरे । यसको समाधानका लागि बक्स अफिस लागू र ऐन बनाउने उनको योजना थियो । काठमाडौंमा सुविधा सम्पन्न इनहाउस स्टुडियोको परिकल्पना गरेको सुनाए । त्यही भेटमा उनले प्रदर्शन हुन लागेको उनको चलचित्र यात्राका बारेमा पनि मन माझेका थिए । नाम चलेको ब्यानरको चलचित्रसँगै आउने भएपछि सो बाँडिदा दुवै पक्षलाई हुने घाटा, आफूले ‘सो’ बढाए पावर युज गर्यो भनेर आउने आरोपबारे कुरा गरे । ‘यात्रा’को बजेट कसरी बढेर अढाइ करोडको हाराहारी पुग्यो, त्यो पनि उनले सुनाएका थिए । एउटा गीतको दृश्यका लागि सोलुखुम्बुमा महिना दिन कुर्दा पनि मौसम अनुकूल नभएपछि त्यही दृश्य पोखरा पुगेर खिचेको सम्झिएका थिए ।
बक्स अफिस त सुुरु भयो, तर चलचित्र ऐनको मस्यौदा ड्राफ्टको अवस्थामा उनले पुर्याएका छन् । स्टुडियो बनाउने उनको योजना सरकारको बजेटमार्फत् नै आयो । जग्गा खोज्दैछु भन्दैथिए उनी ।
ऐनको मस्यौदा आएपछि उनले त्यसमा रहेका कमीकमजोरीका कारण केही आलोचना खेप्नुपर्यो । मैले त्यसलाई समेटेर थुप्रै समाचार लेखेको छु । असन्तुष्ट चलचित्रकर्मीदेखि मस्यौदाका कमीकमजोरीलाई लिएर विभिन्न व्यक्तिका विचार समाचारमा आए ।
खासगरी चलचित्रको परिभाषा र सेन्सरलाई लिएर चलचित्रकर्मीको असन्तुष्टि थियो । बिहेमा खिचेको भिडियोलाई पनि अब चलचित्र भन्नुपर्ने भन्ने असन्तुष्टिमा केशव भन्थे– हिजो मोबाइलबाट खिचेर विश्वमा चलचित्र बन्न थालिसके भन्ने साथीहरु नै आज उनीहरुकै रायलाई परिभाषामा समेट्दा अहिले भएन भनेर मिडियाबाजी गर्दै हिँडिरहेका छन् ।
असन्तुष्ट पक्षका विचार आइरहेपछि मैले एक दिन केशवलाई फोन गरेर सोधेँ, मस्यौदामा रहेको चलचित्रको परिभाषा फेरिन्छ कि त्यही हुन्छ ?
उनले भनेका थिए, मैले तपाईंले हिजो लेखेको समाचार पढेँ । तपाईंको समाचारमा जसजसले असन्तुष्टि जनाउनु भएको छ, उहाँहरुलाई आज दिउँसो छलफलका लागि सञ्चारमन्त्रालय बोलाएको छु । मैले लेखेको समाचारमा चलचित्रको परिभाषा र सेन्सरको विषयमा असन्तुष्ट विचार राख्नेमा विनोद पौडेल, प्रदीप भट्टराई, रवीन्द्रसिंह बानियाँ, दीपेन्द्र के खनाललगायत थिए ।
केशव त्यही फोन संवादमा भन्थे, ऐन मेरा लागि हैन । नेपाली चलचित्र उद्योगका लागि ल्याउन लागेको सबैले चित्त जेमा बुझाउनु हुन्छ, त्यही नै आउँछ ।
कोही आउने र कोही जाने रित नै हो जिन्दगीको । तर कोही कसैको मृत्यले कसैलाई झस्काइदिन्छ । सोमबार केशवको मृत्युले मलाई त्यसैगरी झस्काइदियो ।
गत वर्षको वैशाख ४ गते म विहानै उठेर धुम्बाराही स्टुडियो जाँदै थिएँ । बत्तीसपुतली पुगेपछि घरबाट फोन आयो । बुवालाई सास फेर्न गाह्रो भयो, अस्पताल लैजान लागेको ।
अघिल्लो दिन मात्रै फोन गरेको थिएँ, राम्रैसँग गफ गर्नुभको थियो । म बत्तीसपुललीबाट परक्क फर्किएँ । बानेश्वरमा रहेको एनएमबी बैङ्कको एटीएममा रहेको सबै पैसा निकालेँ । कोठा आएँ । एकफेर अधिकांश एयरलाइन्समा फोन गरेँ ।
यतीमा एउटा टिकट भेटियो । ममी, दिदी र मलाई चारवटा टिकट चाहिएको थियो । अरुलाई पनि बुझ्न लगाएँ । पार लागेन । बुवालाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेको खबर आयो । म गाडीको टिकट लिन गौशाला पुगेँ । दिउँसो ४ बजेको तीनवटा टिकट लिएँ ।
पशुपतिनाथ मन्दिर प्रवेश गर्ने बाटोअगाडि रहेको टिकट काउन्टरबाट टिकट लिएर फर्किएर पुरानो बानेश्वरतिर लाग्ने रोडतिर मात्रै आइपुगेको थिएँ । मोबाइलमा फेरि घण्टी बज्यो, नरेश बुवाको खबर राम्रो छैन । आमा र दिदीलाई टिकट नपाए पनि तिमीचाहिँ जसरी हुन्छ प्लेनमा आज साँझसम्म आउनुपर्यो ।
कान टिनिन्न बजे । खलखली पसिना आए । एक्लै थिएँ । खुट्टा लुलिए । सडक पेटीमै थ्याच्च बसेँ । मन एकतमासको भयो । छाती हुँडलिएर आयो । रुवाइ थाम्न सकिनँ । म रोइरहेको थिएँ । फोनको घण्टी बजिरह्यो । आँखाबाट आँसु कसरी धाराको पानीसरी बग्दोरहेछ मैले पहिलोपटक थाहा पाएँ । सडकमै घुँक्कघुँक्क रोएँ । मलाई अहिले लाग्छ त्यो बेला मलाई देख्ने धेरैले भने होला कस्तो पागल ! कसलाई के थाहा म कुन परिस्थितिबाट गुज्रिरहेको थिएँ ! नौ दिनअगाडि एयरपोर्टमा छोडेर फर्किंदाको दृश्य आँखा वरिपरि घुमिरह्यो ।
बानेश्वर कोठमा आएँ । यती एरलाइन्समा फोन गरेँ । एउटा मात्रै टिकट रहेछ । त्यही बुक गरेँ । ममी, दिदी र भिनाजु इटहरीको नाइट गाडी चढ्नुभयो । म एयरपोर्टतर्फ लागेँ । अपरान्ह ४ बजेको फ्लाइट । ५ बजेलाई स¥यो । ६ बजेलाई हुँदै ७ बजे बोर्डिङ भयो । हामी जहाज चढ्न एयरलाइन्सको गाडी चढ्यौं । जहाज चढ्यौं । तर पानी परिरहेको थियो । मौसममा आएको प्रतिकूलतका कारण अन्ततः फ्लाइट क्यान्सिल भयो । तीन घण्टाकाे एअरकाे बसाइमा थुप्रै सेलिब्रिटी भेिटए । उनीहरू मलाइ साेध्थे, के छ ? म भन्थें, ठिक छ । उनीहरू दोहोर्याउँथे घरमा बुवाअामालाई ठिक छ ? मलाई याे प्रश्नले मलाई गिज्याए जस्तो लाग्थ्यो । तर पनि मन थामेर भन्थें, ठिकै छ । म कसरी भन्न सक्थें मेराे बुवा अब रहनु भएन भनेर ?
भोलिपल्ट विहान पहिलो फ्लाइट ८ बजेका लागि सोही एयरलाइन्समा कन्फर्म गरेर गाडी भेटी पो हाल्छ कि भनेर बसपार्क गएँ । तर नाइट गाडी सबै छुटिसकेका थिऐ । कोठा फर्किएँ । छिटै घर पुग्न बसेको म झन् ढिलो भयो । भोलिपल्ट विहान ८ बजेको फ्लाइट डिले भएर साढे ९ बजे बल्ल उड्यो । सकुसल बिदाइ गरेको बुवालाई इटहरीस्थित बूढीघाटमा मृत अवस्थामा भेटेँ ।
सोमबारको बिहान मलाई ०७५ का वैशाख ४ गते जस्तै लाग्यो । केशवले मेरो बुवाको मृत्यु एकपटक पुनः सम्झाइदिए ।