site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गीतमा लगानी ‘बालुवामा पानी’
SkywellSkywell

नेपाली चलचित्रमा अधिकांश लगानी डुबिरहेको छ भन्दै ठूलै हल्लीखल्ली हुन्छ । निर्माता तथा निर्देशकहरु गुनासो गरिरहन्छन् । साता, महिना अनि वर्षको घाटा कति ? फेसबुकलगायत सामाजिक सञ्जालमै भए पनि हिसाबकिताब आइरहन्छ । कलाकार तथा निर्माता निर्मल शर्माको फेसबुक हेरेमात्रै पुग्छ । अघिल्लो महिना उनले लेखेको एउटा स्टाटस :

विगत २३ वर्षदेखि तनमनले आवद्ध भएको यो चलचित्र नगरीमा धेरै समयदेखि हरेक महिना निर्माताहरुको ४-५ करोड डुबिरहेको कहालीलाग्दो अवस्थामा देश–विदेशमा हुने कुनै पनि चलचित्र रमझम, मेला तथा अवार्डहरुमा मलाई निम्ता नगरी दिनुहुन हार्दिक अनुरोध गर्दछु । म जानु-नजानुले केही फरक पर्ने त हैन । तैपनि यस्तो दुखद् अवस्थामा रत्यौली खेल्न मन नलागेको मात्र हो । लाखौं पैसा खर्च गर्दै कार्यक्रमहरु आयोजना गर्ने निकायहरुले भिसा र स्पोन्सरमा मात्रै नरमाएर नेपाली चलचित्र किन, कसरी, केका लागि कस्तो बनाउने र चलचित्रको वास्तविक बजार के हो भन्नेबारे एउटा बृहत् कार्यक्रम गरिदिए समग्र क्षेत्रको भलो हुन्थ्यो ।

उनले लेखेको यो स्टाटसले नेपाली चलचित्रको घट्दो व्यापार र डुब्दो लगानीको अवस्था सङ्केत गर्छ । नेपालमा वार्षिक सय चलचित्र प्रदर्शन हुँदा नाफा कमाउने र ‘ब्रेकइभन’मा मुस्किलले ६–७ प्रतिशत मात्रै पुग्छन् । एउटा चलचित्र निर्माणका लागि औसत ढेड करोड रुपैयाँ खर्च हुन्छ । ९४ प्रतिशत चलचित्र घाटामा जाँदा करिब साढे १० करोड रुपैयाँ लगानी मात्रै सुरक्षित हुन्छ । बाँकी बालुवामा पानीसरह हुन्छ । यो तथ्याङ्क केलाउँदा चलचित्रमा वार्षिक डेढ अर्ब रुपैयाँ लगानी भैरहेको छ । 

KFC Island Ad
NIC Asia

राजनीतिदेखि सिनेमासम्म बलिउडको दबदबा रहेको नेपालमा चलचित्र निर्माण, समीक्षा, लगानी, व्यापार र नाफा–घाटालाई लिएर ठूलै बहस हुन्छ । दिनदिनै नाफा–घाटाका खबर आउँछन् । नायक–नायिकादेखि निर्देशक–निर्मातासम्मका अन्तरवार्ता छ्यापछ्याप्ती हुन्छन् । 

घाटाको व्यापारलाई लिएर निर्माताहरुका निराशाजनक अभिव्यक्ति सुनिन्छन् । घाटाको व्यापारका रुपमा चलचित्र उद्योगले एउटा ‘बिम्ब’ नै खडा गरिदिएको अवस्था छ । 
चलचित्रसँगै गीत–सङ्गीतमा पनि लगानी भइरहेको छ । हप्तैपिच्छे नयाँनयाँ चलचित्र रिलिज भएजस्तै दिनहुँ नयाँनयाँ गीत बजारमा आइरहेका छन् । भलै गीत आउँदा चलचित्र आएजस्तो भव्य प्रचार हुँदैन । 

Royal Enfield Island Ad

कारण, पहिलाजस्तो अहिले सात-आठवटा गीत एकैपटक सङ्ग्रह गरेर सार्वजनिक गर्ने चलन छैन । गीतीसङ्ग्रह नै सार्वजनिक गर्ने चलन हराएपछि सार्वजनिक गरिने कार्यक्रमको तामझाम पनि हरायो ।

सिङ्गल ट्रयाकको जमाना आयो । फास्टफुडझैं सिङ्गल ट्रयाक रेकर्ड गर्‍यो, काम तमाम ! ल्याकत पुगे दुई-तीन लाख खर्चिएर भिडियो बनाई युट्युबमा अपलोड ग¥यो, सम्भव नभए लिरिकल भिडियो भनेर गीतको शब्द र म्युजिक तरङ्ग खेलाएर युट्युबमा पठायो ।

यसो गर्नेको सङ्ख्या कति छ ?  

चलचित्रमा झैं हल्ला छैन । तामझाम पनि छैन । त्यसो भए गीतस–ङ्गीतमा लगानी नै कम छ ? 

नेपालमा करिब दुई सयवटा रेकर्डिङ स्टुडियो छन् । तीमध्ये व्यावसायिक रुपमा चलाइएका स्टुडियो डेढसय छन् । होम स्टुडियोको सङ्ख्या ५० को हाराहारीमा छ ।
 
दुई सयवटा स्टुडियोमा दैनिक एउटाका दरले करिब दुई सय नै गीत रेकर्ड हुने गरेको स्टुडियो सञ्चालक तथा सङ्गीतकार बीबी अनुरागी बताउँछन् ।  

गीतकारसँग एउटा गीत किन्दादेखि रेकर्ड गरेर मिक्सिङ गर्दासम्म औसतमा ६० हजार खर्च हुन्छ । गायकगायिकाको तह हेरेर खर्च तय हुने गायक हेमन्त शर्माको भनाइ छ । गीतकार र सङ्गीतकारले औसतमा १०-१० हजार, गायकले १५ हजार, स्टुडियो चार्ज १० हजार, एरेन्जर १० हजार, बाजागाजामा ५ हजार लाग्ने गरेको छ । 
 
दिनको दुई सय गीत रेकर्ड हुँदा महिनाको ६ हजार गीत रेकर्ड हुन्छन् । प्रतिमहिना ६ हजार गीत रेकर्ड हुँदा ६० हजारका दरले ३६ करोड रुपैयाँका गीत रेकर्ड हुन्छन् । 

रेकर्ड भएका गीतमा ८० प्रतिशतभन्दा धेरैले म्युजिक भिडियो बनाउने गरेको बीबी बताउँछन् । “सिङ्गल ट्रयाकको जमाना आयो । सिङ्गल ट्रयाकमा गाउने अधिकांशले म्युजिक भिडियो बनाउँछन्,” उनी भन्छन् । 

एउटा म्युजिक भडियो बनाउन गीतको लगानी छोडेर पौने दुई लाख लाग्ने गरेको गायक हेमन्त शर्मा बताउँछन् । अहिले बजारमा लोकप्रिय मानिएका पल शाह, पुष्प खड्का, वर्षा राउत, आँचल शर्मा, स्वस्तिमा खड्का, केकी अधिकारीलाई लिएर भिडियो बनाउँदा भने प्रतिम्युजिक भिडियो तीन लाख रुपैयाँ लाग्ने उनले जानकारी दिए ।  

यसबाहेक युट्युबमा चलेका कार्टुन क्रुज, भीमफेदी गाइज तथा भारतीय रियालिटी सोमा पुगेर फर्किएका केही ग्रुपले भिडियो तयार गरेको चारदेखि छ लाखसम्म लिने गरेका छन् । 

झण्डै दुई लाखका दरले रेकर्ड भएका गीतको ८० प्रतिशत म्युजिक भिडियो बनाउँदा प्रतिमहिना ८६ करोड ४० लाख लगानी भैरहेको छ । म्युजिक भिडियो र गीतको हिसाब गर्दा प्रतिमहिना सवा एक अर्ब रुपैयाँ लगानी भएको देखिन्छ । यो तथ्याङ्कका आधारमा नेपालमा प्रतिवर्ष गीतसङ्गीतमा मात्रै पौने १५ अर्ब रुपैयाँ लगानी हुने गरेको छ । 

गायक हेमन्त बलियो सिर्जनाभन्दा पनि व्यक्तिका पछाडि साङ्गीतिक बजार कुदिरहेकोमा चिन्तित छन् । “अहिले बजारमा चलेको औसत लगानीभन्दा कममा पनि राम्रा गीत तयार पार्न सकिन्छ,” उनी भन्छन्, “तर अहिलेको बजार सिर्जनाको स्तरभन्दा पनि व्यक्ति र लहडका पछि कुदिरहेको छ ।”

साङ्गीत उद्योगमा अनपेक्षित लगानी भैरहे पनि त्यसको प्रतिफल भने लगानीकर्तालाई खासै नभएको सम्बद्ध पक्षको भनाइ छ । डिजिटल युग आएसँगै संसारभरका सङ्घसंस्था धनी हुँदै गए, तर नेपालका गायक–गायिका भने गरिब हुँदै गएको प्रस्तोता समाजका अध्यक्ष तथा गायक तुलसी पराजुली बताउँछन् । “डिजिटल प्लेटफर्म विकास हुँदै गएपछि संसारले फड्को मा¥यो । तर नेपाली स्रष्टा भने गरिब हुँदै गएका छन्,” पराजुली भन्छन्, “डिजिटल मार्केट पारदर्शी हुन्छ भन्छन्, तर यहाँ कुनकुन पोर्टलमा आफ्नो गीतसङ्गीत बिक्री भएको छ भन्ने स्रष्टालाई नै थाहा हुँदैन ।” 

नेपालमा गायक–गायिका तथा सङ्गीतकर्मीका सिर्जना निःशुल्क प्रयोग भइरहेकोमा उनी गुनासो गर्छन् । नेपालमा पनि प्रयोगकर्ताले डाउनलोड गरेर अथवा कुनै माध्यमबाट प्रयोग गर्दा पैसा तिर्ने गरेको, तर ब्रोकरहरुले स्रष्टालाई ठगिरहेको उनको आरोप छ ।

साङ्गीतिमा करिब १५ अर्ब लगानी भैरहँदा हल्लीखल्ली हुने चलचित्र उद्योगमा भने बर्सेनि डेढ अर्ब मात्रै खर्च भएको अवस्था छ । तर दुवै उद्योगमा लगानीकर्ताको अवस्था भने उस्तै छ । फरक यति हो, चलचित्रमा हल्ला छ । साङ्गीतिक क्षेत्र शान्त छ । धेरैले अनुमान नगरेको र चासो नदिएको यो क्षेत्रको तथ्याङ्क भने आश्चर्यजनक देखिन्छ । चलचित्रमा भन्दा गीतमा बर्सेनि साढे १३ अर्ब रुपैयाँ बढी लगानी भैरहेको छ ।   

प्रतिफल के ?

सङ्गीतकार अर्जुन पोखरेल ठूलो लगानी देखिएकै भरमा काहालिनुपर्ने अवस्था नरहेको बताउँछन् । लगानीसँगै प्रतिफल पनि आइरहेको बताउने पोखरेल युट्युबाट ठूलै परिमाणमा पैसा आइरहेको भन्दै प्रश्न गर्छन्, “युट्युबबाट इन्कम नहुने भए एउटा गीतको राइट्स लाखौं मूल्यमा किन खरिद गरिन्छ ?”

युट्युब, आरबीटीसँगै विभिन्न प्लेटफर्मबाट प्रतिफल आइरहेको उनको भनाइ छ । नेपालमात्रै होइन बाहिर पनि दर्जनौं म्युजिक पोर्टलहरुलाई नेपाली एग्रिगेटरले गीत बेचिरहेको भन्दै त्यो रोयल्टी देखाएको खण्डमा राम्रो आम्दानी देखिने अर्जुन बताउँछन् । 

म्युजिक कम्पनीहरुले दिने रोयल्टी र युट्युबको आम्दानीलाई मात्रै सङ्गीतमा गरेको लगानीको प्रतिफल नभएर गायक-गायिकाले स्टेजमा गरेको पर्फमेन्सबाट कमाएको पैसा पनि त्यसमै गणना हुने अर्जुनको भनाइ छ । 

गायक तथा सङ्गीतकार कालीप्रसाद बाँस्कोटाको विचार भने फरक छ । चलचित्रमा जस्तो गीतमा हल्लीखल्ली नभए पनि चलचित्रमा भन्दा गीत–सङ्गीतमा कहालीलाग्दो अवस्था रहेको उनी बताउँछन् । तुलनात्मक रुपमा गीतमा जस्तो व्यक्तिगत लगानी धेरै नहुने भएकाले चलचित्रको घाटाको चर्चा नहुने भए पनि घाटाको प्रतिशत भने ठूलो रहेको उनको भनाइ छ । 
“चलचित्र राम्रोसँग चलेन भने पनि लगानीको दुई–चार प्रतिशत भए रिटर्न आउँछ,” उनी भन्छन्, “तर अधिकांश गीतमा लगानी फिर्ता हुने अवस्था छैन । तुलनात्मक रुपमा हेर्ने हो भने चलचित्रमा भन्दा गीतमा भएको लगानी बढी जोखिममा छ ।”

वार्षिक १५ अर्बभन्दा बढी लगानी भए पनि प्रतिफलका आधारमा हेर्दा साङ्गीतिक क्षेत्रलाई अझै उद्योग भन्न सकिने अवस्था नरहेको कालीप्रसाद बताउँछन् ।  अर्बौं लगानी भइरहेको क्षेत्रमा एक प्रतिशत पनि यही पेशा वा व्यवसायबाट जीविकोपार्जन गर्न सक्ने अवस्थामा नरहेको उनको भनाइ छ । “अझै पनि मुस्किलले सय जना छैनन् होला, जो साङ्गीतिक क्षेत्रमा रहेर आर्थिक रुपमा सुरक्षित हुन सकेका हुन्,” कालीप्रसाद भन्छन्, “म क्रिएसन गर्न रुचाउने मान्छे किन स्टेज प्रोगाममा हिँडिरहेको छु ?” 

चलचित्रमा झैं गीत–सङ्गीतमा पनि लगानी नेपालभन्दा बाहिरबाट आइरहेको उनी बताउँछन् । विदेशमा बसेर आर्थिक उन्नति गरेपछि गीत–सङ्गीतमा रुचि भएको व्यक्तिले लगानी गर्न तत्पर हुने उनको भनाइ छ । “मलाई पनि विदेशमा बसेका नेपालीबाट काम गरौं भन्ने थुप्रै प्रस्ताव आउँछ । तर म भेटेर राम्रोसँग छलफल नगरी काम गर्दिनँ,” उनी भन्छन्, “तर यसरी लगानी गर्नेको सङ्ख्या नेपालबाहिरकै अधिक छन् ।” 

सङ्गीतकार सुरेश अधिकारी पनि अधिकांश लगानी बालुवामा पानीसरह भैरहेको बताउँछन् । गीत–सङ्गीतमा गरेको ९० प्रतिशत लगानी डुबिरहेको उनको भनाइ छ । 

“युट्युबबाट आउने पैसालाई नै मुख्य आम्दानीको रुपमा हामीले लिइरहेका छौं । त्यो त गुगलले कमाएको रकमबाट हामीलाई दिइएको १÷२ प्रतिशतमात्रै हो,” सुरेश भन्छन्, “युट्युबलाई आम्दानीको स्रोत बनाउँदा मेकानिकल मार्केट कोल्याप्स भयो । मेकानिकल मार्केट फर्काउनेतर्फ अब जोड दिनुपर्छ ।” उनका अनुसार यस क्षेत्रमा ५० प्रतिशत लगानी नेपालबाहिरबाट हुने गरेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २८, २०७६  ०८:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro