site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
श्रष्टा भन्छन्– विदेशमा हाम्रा गीत थाहै नदिई बेचिइरहेका छन्, हामी ठगियौं

काठमाडौं । बिना अनुमति नेपाल बाहिरका विभिन्न संगीत कम्पनीहरूलाई नेपाली एग्रिगेटरहरूले गीत बेचिरहेको भन्दै श्रष्टाहरूले असन्तुष्टि जनाएका छन् । यसअघि उनीहरूले सार्वजनिक सवारी साधनबाट उठेको रोयल्टी वितरण हुन नसकेको भन्दै असन्तुष्टि जनाएका थिए ।

गीतकार यादव खरेल, संगीतकार लक्ष्मण शेष, हरि लम्साल, गीतकार चूणामणि देवकोटालगायत श्रष्टाहरू नेपाली एग्रिगेटरले श्रष्टाहरूलाई थाहै नदिई उनीहरूका गीत विदेशी एग्रिगेटरलाई बेचेर ठूलो रकम लिइरहेको दाबी गर्छन् ।

संगीतकार शेष नेपाली एग्रिगेटरले नेपालमा मात्रै प्रयोग गर्ने भनेर सम्झौता गरे पनि विभिन्न देशका आरबीटी सेवा प्रदायक कम्पनीसँग नेपाली गीत बेच्ने गरेको बताउँछन् । भारतलगायत खाडीका २८ देशका रिङब्याक टोन कम्पनीलाई नेपालका केही एग्रिगेटर कम्पनीले नेपाली गीत उपलब्ध गराइरहेको उनको भनाइ छ । यसबापत प्राप्त हुने रोयल्टी रकम श्रष्टालाई वितरण नहुने उनी बताउँछन् ।

अमेजन म्युजिक, युट्युब म्युजिक, एप्पल म्युजिक, साउन्ड क्लाउड, इ–म्युजिकलगायत सयभन्दा बढी संगीत पाइने प्लेटफर्म चर्चित छन् ।

यी हुन् म्युजिक प्लेटफर्म

यीमध्ये धेरैमा नेपाली गीत नेपाली एग्रिगेटरले बेचिरहेको संगीतकार शेषको भनाइ छ । गीतकार यादव खरेल अरबौं रुपैयाँ बराबरका गीत विदेशी एग्रिगेटरलाई बेचेर एग्रिगेटरहरूले बदमासी गरिरहेको बताउँछन् । आफ्नो परिश्रम र लगानी परेको गीतसंगीत कहाँ कसरी प्रयोग भइरहेको छ, त्यसबारे श्रष्टा स्वयम् पनि सजग हुनुपर्ने उनी बताउँछन् । “आफ्नो रगत पसिना परेको सिर्जना कहाँ कसरी चोरी भइरहेको छ, यसबारे स्वयम् श्रष्टा पनि सजग हुनुपर्‍यो,” उनी भन्छन्, “यहाँ श्रष्टा नै सचेत छैनन्, यसको फाइदा एग्रिगेटरहरूले उठाइरहेका छन् ।” यादवले एग्रिगेटरहरूले गरिरहेको ठगीबारे आईटीका जानकारहरूलाई अध्यनन् गराएर मात्रै सार्वजनिक रूपमा बोलेको बताए । “म लगायत केही साथीहरू ठगी भइरहेको भनेर बोलेपछि केही कम्पनी तथा व्यक्तिले हाम्रा गीत हटाउन थालेका छन्,” यादव भन्छन्, “अब अरू पनि बोल्नु पर्‍यो ।”

“म्युजिक कम्पनीले क्यासेट, भिडियो र सीडी बनाएर बिक्री गर्ने सम्झौता गराएर सम्बन्धित सर्जकका सम्पूर्ण अधिकार र स्वामित्व आफ्नो हुने गरी स्रष्टाको सम्पत्ति हडपिसकेको हुन्छ,” यादव भन्छन्, “८० देशमा ४० लाखभन्दा बढी नेपाली श्रम बजारमा छन् । प्राविधिक विकासका कारण यी देशमा संगीतको बेचबिखन करोड होइन अर्बमा भइरहेको हुन सक्छ ।”

यूएईको इड्रियस र डू, ओमानको नवरस र मोबाइल, कतारको क्युटेल, बहराइनको भिवा, कुवेतको जैन, माल्दिभ्सको वातानिया, भारतको बीएसएनएल, भारतको भोडाफोन र टाटा जीएसएमलगायत खाडीका २८ देशका विभिन्न मोबाइल सेवा प्रदायक कम्पनीलाई केही एग्रिगेटरले नेपाली गीत दिएको तर त्यसको जानकारी र रोयल्टी सर्जकहरूलाई नदिएको श्रष्टाहरूको दाबी छ ।
 
एग्रिगेटर कम्पनीहरू

“साउन्ड ड्रप, लेभल डिस्ट्रिब्युसन, ईएमयू ब्यान्ड, ब्यान्ड क्याम्प, म्युजिक इन्फो डट आईआ लगायात दर्जनौं एग्रिगेटरलाई नेपाली एग्रिगेटरले नेपाली गीत दिएको सूचना छ,” संगीतकार लक्ष्मण भन्छन्, “यसरी श्रष्टाको बिना अनुमति गीत बेचिनु कानुन विपरीत हो ।” 

नेपालमा युट्युबमा गीत रिलिज गरेजस्तै नेपालीको बसोबास रहेका विभिन्न देशमा यस्तै खालका अन्य डिजिटल म्युजिक पोर्टलमा नेपाली गीत राखिएको तर त्यसबारे सर्जकलाई जानकारीसमेत नदिने तथा राइट्स बेचेवापत रकमसमेत उपलब्ध नगराउने संगीतकार हरि लम्सालको गुनासो छ ।

“जति राइट्स लिएको हो, त्यति मात्रै प्रयोग गर्नुपर्‍यो । सीडी, क्यासेट र रिङ्गब्याक टोनका लागि मात्रै भनेर लिने अनि  नेपालबाहिरका म्युजिक पोर्टलहरूममा बेच्न ? यस्तो गर्न पाइँदैन,” संगीतकार हरि भन्छन्, “यस्तो गैरकानुनी काम गर्ने थुप्रै छन् । यस्ता व्यक्ति तथा संस्थालाई कानुनी कठघरामा ल्याउनुपर्छ । यसका लागि कलाकारहरू बिस्तारै संगठित भइरहेका पनि छौं ।”

गीतकार यादव खरेल सर्जकहरूको सिर्जना प्रयोग गरेपछि उनीहरूलाई त्यसबापत प्राप्त रोयल्टी प्रदान गर्न एग्रिगेटरहरू कन्जुस्याईं गर्न नहुने बताउँछन् । 

गीतकार संघका अध्यक्ष चूणामणि देवकोटा स्वदेशमा उठेको रोयल्टी बाँडफाँटसँगै विदेशमा बेचिएका गीतसंगीतको रोयल्टी खोज्नु आफूहरूको पहिलो दायित्व भएको बताउँछन् । यसका लागि सबै श्रष्टा एक ठाउँमा उभिनुपर्नेमा उनको जोड थियो । नेपालमा भन्दा विदेशमा बढी रोयल्टी उठिरहेको उनी बताउँछन् । 
युट्युबजस्तै विश्वमा प्रचलित म्युजिक पोर्टलहरू र तीनले प्रति १० लाख भ्युजका आधारमा सर्जकलाई प्रदान गर्ने पैसा (डलरमा)


यी म्युजिक पोर्टलहरू अधिकांश नेपालमा भने चल्दैनन् ।  यता, म्युजिक एग्रिगेटर कम्पनीमध्येको एक म्युजिक नेपालका व्यवस्थापक उत्तम थापा सर्जकहरूसँगको सम्झौताअनुसार मात्रै गीतसंगीत आफूहरूले प्रयोग गरिरहेको दाबी गर्छन् । “नेपालभित्रको मात्रै राइट्स लिइएको छ भने हामी बाहिरका एग्रिगेटर तथा कुनै पनि म्युजिक कम्पनीलाई पठाउँदैनौं,” थापा भन्छन्, “जोसँग हामीले बाहिरका कम्पनीहरूलाई पनि दिने भनेर सम्झौता गरेका छौं, उहाँहरूको मात्रै पठाएका छौं । त्यसरी आएको रोयल्टी पनि वितरण गरिरहेका छौं ।” 
म्युजिक नेपाल, बुढासुब्बा, हाइलाइट्स नेपाल र आप्का आदि नेपालका एग्रिगेटर हुन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २०, २०७६  ०७:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro