अघिल्ला वर्षहरु झैं वि.सं ०४३ सालमा रेडियो नेपालले राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा मैले पनि भाग लिएको थिएँ । त्यो समय अहिले जस्तो निर्णायक मण्डल अगाडि बसेर निर्णय गर्ने प्रचलन थिएन । आफ्नो नम्बरमा स्टुडियो छिरेर गीत गाउनु पथ्र्यो । मैले पनि त्यसै गरें । प्रतियोगितामा नारायण गोपाल पनि निर्णायक मण्डलमा हुनुहुँदोरहेछ पछि थाहा पाएँ । नारायण दाईसँगै मास्टर रत्नदास प्रकास, नातीकाजी पनि निर्णायक मण्डलमा हुनुहुँदोरहेछ ।
त्यो बेला क्यासेट २५ रुपैयाँमा पाइन्थ्यो । बजारमा नेपाली र हिन्दी जुन गीत निष्कियो ल्याएर सुनिहाल्थें । म्युजिक नेपालले नारायण गोपालको ‘गीती यात्रा भाग–१’ निकालेको थियो । मैले त्यो ल्याएर सुनिसकेको थिएँ ।
पहिलो भेट
भुपेन्द्र रायमाझी एक दिन मेरो घरमा आएर नारायण गोपालले बोलाउनु भएको छ भन्नुभयो । म उहाँसँगै नरायाण लाई दाइलाई भेट्न गएँ ।
नाराण दाइ संगीतमै व्यस्त हुनुहुन्थ्यो । म गएर एउटा कुनामा बसें । उहाँले यसो टाउको उठाएर हेर्नु भयो । त्यो बेला म नयाँ थिएँ । उहाँसँग बोल्ने आँटै आएन । नारायण गोपाल भनेपछि सबै संगीतकर्मीहरु डराउँथे ।
उहाँले मलाई ‘केही मीठो बात गर’ को हमिङ आउँछ ? भन्नु भयो ।
मैलै “आउँछ” भने ।
‘मलाई नसोध कहाँ दुख्छ घाउ’ को कोरस आउँछ ? सोध्नु भयो ।
त्यो पनि मैले “आउँछ” भने ।
“तिमीलाई म के भनुँ”को कोरस पनि मैले आउँछ भने ।
मैले पहिलोपटक देखेको पनि उहाँलाई त्यहीँ नै हो । रेडियो सुनेको एउटा गहकिलो स्वर । समग्र नेपाली संगीतको पर्याय, एउटा मुर्धन्य व्यक्तित्व आफ्नै अगाडी देखें । यसअघि मैले म्युजिक नेपालले निकालेको क्यासेटमा साधा फोटोमा देखेर मष्तिस्कमा कोरेको थिएँ तस्बिर । पहिलोपटक उहाँलाई साक्षात देखेँ । भगवान भनेको पनि कुनै असल मान्छे नै हो । मलाई लाग्यो उहाँ पनि इश्वर नै हो ।
त्यो बेला मैले शास्त्रीय संगीतको कक्षा नलिए पनि सुर ताल भने मलाई आउँथ्यो । एक पटक सुनेको कुरा म कहिल्यै बिर्सिन्न । एक पटक सुनेको गीतको सुर, ताल, शब्द, लय मलाई सँधै सम्झना हुन्छ । मलाई साथीहरुले टेप रेकर्डर भनेर जिस्काउँथे । सायद यो क्षमता मेरा लागि प्लस पोइन्ट पनि भयो ।
असोजको पहिलो साता भएको नारायण गोपालको स्वर्णिम सन्ध्यामा मैले उहाँको गीतमा कोरस गरें । उहाँ सँगै ५ वटा गीत गाएँ । रिहल्र्सन नै नगरी मैले उहाँसँग गीत गाएको थिँए ।
कम बोल्ने तर ख्याल गर्ने
निकै कम बोल्ने तर सबै कुरा ख्याल गर्ने उहाँको स्वाभाव थियो । पहिलो भेटमा म नबोली टाउको निह¥याएर बसिरहेको थिएँ । उहाले सबै ख्याल गर्नु भएको रहेछ । पछि पोखरामा उहाँले मलाई पनि आफ्नो कार्यक्रममा लैजानु भयो । उहाँसँगै हरिबंश आचार्य र मदनकृष्ण श्रेष्ठ पनि हुनुहुन्थ्यो । उहाँ स्रोतलाई बोर फिल हुनुहुँदैन भनेर हरिबंश र मदनकृष्ण दाइलाई सँधै आफूसँगै लैजानु हुन्थ्यो ।
उहाँले पोखरामा मलाई मसँग पहिलो दिन भेटेको कुरा सम्झाउनु भयो,–“तिमी आएर कुनामा घोसेमुन्टो लगाएर बस्यौ । तिमीलाई खुब लुगा म्याचिङ गर्नु पर्छ हैन । यस्तो रङको साडी र चुरा लगाएको थियौ । हामीले गाइरहँदा तिम्रो छोरा प्रमिथसले तवलामा टेम्पो दिइरहेको थियो ।”
प्रमिथस त्यो टुकुटुकु हिड्न मात्र थालेको थियो, लोचनले सम्झिन्,–तर, उसले गीतको तालसँगै तवलमा टेम्पो दिइरहेको थियो रे । मैले त याद नै गरेको थिइन । पछि दाइले भन्नुहुन्थ्यो,“तिम्रो छोराले संगीतमा लाग्न चाह्यो भने नरोक्नु उसमा एकदम राम्रो ताल छ ।”
त्यो बेला म पालतो थिएँ । ४८ किलोको मात्रै थिएँ । उहाँ मलाई अलिकति मोटाउनु पर्छ भन्नुहुन्थ्यो । मोटायो भने गीत गाउन स्टामिना पुग्छ र राम्रो पनि देखिन्छ भन्नुहुन्थ्यो ।
एकै भेटमा मान्छे चिन्ने
उहाँ निकै सेन्सेटिभ हुनुहुन्थ्यो । पहिलो भेटमै उहाँ त्यो मान्छे कस्तो हो चिन्नु हुन्थ्यो । उहाँले यो संगत गर्न लायक मान्छे छैन है भन्नु भयो भने त्यो कालान्तरमा त्यस्तै निस्किन्थ्यो ।
बेजोडको प्रतिभा थियो नारायण दाईसँग । उहाँ गीतको स्थाई हेरेर त्यहाँ त्यस तल कस्तो छ राम्रो नराम्रो थाहा पाउनु हुन्थ्यो । उहाँ नयाँ पुरानो कलाकार भन्नुहुन्थ्यो । राम्रो स्वर छ भने उहाँ आफ्नो छोरा छोरी उमेर सरहका गायक गायिकासँग पनि गीत गाउनुहुन्थ्यो । नयाँ गीतकारका गीत पनि गाउनुहुन्थ्यो ।
सहयोगी भावना
पोखराको कार्यक्रम सकिएपछि हामी डुबर्स र सिलगडी गयौं । उहाँलाई स्वर्णिम सन्ध्याका लागि अमेरिका लैजाने कुरा आएछ । उहाँले मलाई लिन पठाउनु भयो । म उहाँकोमा गएँ । दुई जना हुनुहुन्थ्यो । उहाँहरुलाई म अहिले चिन्दिन । एक जनाको नाम भने याद छ, प्रदिप ।
मेरो घरमा टेलिफोन थिएन । उहाँले अब तिमीलाई टेलिफोन आवश्यक पर्छ भनेर भन्नु भयो । त्यो बेला अहिलेको जस्तो सहजै टेलिफोन पाइदैन थियो । त्यो समय सञ्चार सचिव कालीप्रसाद रिजाल हुनुहुँदोरहेछ । त्यसबेलासम्म उहाँले कालीप्रसाद दाइको ‘आँखा छोपी नरोउ भनी’,‘झर्यो जिन्दगी फुट्यो जिन्दगी’, ‘केही मिठो वात गर’ गीत गाइसक्नु भएको थियो । त्यसैले उहाँहरुबीच राम्रो सम्बन्ध थियो । नारायण दाइले मलाई एउटा चिट लेखेर दिनु भयो र मेरो घरमा टेलिफोन तत्काल जोडियो ।
उहाँले अब तिमीलाई राहदानी पनि बनाउनु पर्छ भनेर परराष्ट्र मन्त्रालयमा त्यहाँको सचिवलाई चिट लेखिदिनुभयो ।
उहाँ निकै सहयोगी भावना भएको मान्छे हुनुहुन्थ्यो । बाहिर उहाँबारे जेजती कुरा सुनिन्थे । त्यो सबै झुट जस्तो लाग्छ मलाई । सायद तपाइँले पनि संगत गर्ने अवसर पाउनु भएको भए त्यो प्रमाणीत हुने थियो ।
तर, विडम्बना उहाँको मिर्गौलामा देखिएको समस्या निकै ठूलो भइसकेको रहेछ । उहाँ थला पर्नु भयो । हामी अमेरिका नै जान पाएनौं ।
मलाई लाग्छ त्यो बेलासम्म उहाँले आफूलाई अब्बल बनाइसक्नु भएको थियो । जति बेला उहाँ व्यवसायिक हुनेबेला आउँदै थियो । त्यो समय भने उहाँ बित्नु भयो ।
म ठूली छोरी
दाइका छोराछोरी भएनन् । उहाँले मलाई ठूली छोरी भनेर बोलाउनु हुन्थ्यो । उहाँले मलाई कहिल्यै पनि लोचन भनेर बेलाउनु भएन । किन मलाई छोरी भन्नु भयो मलाई पनि थाहा छैन । तर, उहाँले मलाई निकै मायाँ गर्नुहुन्थ्यो । पेमला भाउजु अफिस गएको बेला उहाँ मलाई आफै चिया बनाएर खुवाउनुहुन्थ्यो ।
भाउजुले मलाई भन्नुहुन्थो । नाराण दाईले मलाई भाउजुसँग भन्नु हुन्थ्यो रे! त्यो लोचन अरु केटी जस्तो छैन । त्यो बेग्लै खालको केटी हो । उहाँको बोलीमा यस्तै थियो । नेवारी टोन आउँथ्यो ।
खानाका शोखिन
दाई खानामा निकै शोखिन हुनुहुन्थ्यो । पहिलो चोटी भेट हुँदा उहाँले तवलाबाधक राजु अग्रवाललाई न्युरोडको समोसा लिएर आउ भन्नुभयो । राजु दाई स्कुटी लिएर जानु भयो र समोसा लिएर आउनु भयो ।
खानमा उहाँले कहिल्यै कम्प्रमाइज गर्नुहुन्न थियो । घ्यू नभइ खान नखाने । तातो भातमा घ्उ तताएर भातको माथीबाट हालेर मात्रै खाने । कहिले कहिँ भात खान बसेपछि घ्उ सकिएको रहेछ भने त्यतीबेलै पसलमा गएर किन्न लगाएर पनि खाएरै छोड्ने ।
एक दिन मैले दाईलाई,–दाई मेरो घर जाउँ म हजुरलाई खाना बनाएर खुवाउँछु भने । उहाँले तिमीले मिठो खाना बनाउँछौ भन्ने मलाई विश्वास छैन भन्नु भयो ।
मैले किन दाई भनेर सोधेको उहाँले भन्नु भयो, संसारमा कहिँ तिमीले लेडिज कुक देखेको छौ ?भनेर हाँस्नु भयो ।
उहाँको एउटा अर्को विशेषता थियो चप्पल मात्रै लगाउने । उहाँ जुत्ता कहिल्यै पनि लगाउनुहुन्थ्यो । कार्यक्रममा जाँदासमेत छलाको चप्पल लगाउनुहुन्थ्यो । घरमा बस्दा संधै लुंगी लागाउनुहुन्थ्यो । जाडो महिनामा पनि पाइन्ट नलगाउने । खरानी कलरको सर्ट लगाउनुहुन्थ्यो । स्वर्णिम सन्ध्यामा उहाँले लगाएको रातो÷रातो करलको सर्ट पनि पेमला भाउजुको करले लगाउनु भएको थियो ।
गीतमा सम्झौता नगर्ने
नारायण दाई गीतमा कुनै पनि सम्झौता गर्नुहुन्नथ्यो । चित्त नबुझेसम्म एउटै गीत पाँच÷छ पटक सम्म रि रेकर्ड गर्नुहुन्थ्यो । संगीतकार र गीतकार सँगै राखेर मात्रै गाउनुहुन्थ्यो । कुन भावमा गीत लेखिएको हो त्यो सोधेर संगीत भर्ने र गाउनुहुन्थ्यो ।
नारायण दाई जन्मजात नै स्वर लिएर जन्मनु भएको रहेछ । उहाँको गायकीमा कसैले प्रश्न गर्ने ठाउँ नै छैन । बाल्य अवस्था देखिनै गीत गाउनुहुन्थ्यो रे । हिन्दी गीत मनडाडेको गीतहरु उहाँलाई विशेष मन पर्ने । म सँग पनि कुरा गर्नुहुन्थ्यो ।
सबैखालका गीत गाउने उहाँका गीत रेडियो नेपालमा पनि धेरै चल्न थाले पछि उहाँलाई शास्त्रीय संगीतको थप ज्ञान लिन मन लागे पछि भारतको बडोदा विश्वविद्यालय जानु भयो । त्यहाँ दुई वर्ष पढेपछि गुरुले तिमी अब शास्त्रीय संगीततर्फ जाने कि आधुनिक गीततर्फ भन्नुभएपछि उहाँले आधुनिक गीततर्फ भन्नुभएछ । त्यसपछि त्यसो भए तिमीले अब थप ज्ञान लिनु पर्दैन यतिभए पुग्छ भनेपछि उहाँ नेपाल फर्किनुभएको रहेछ ।
शितारबाधक आशागोपाल गुर्भाचार्यका छोरा उहाँ सानो छँदा तवला बजाएर बुबालाई साथ दिनुहुन्थ्यो रे । उसरी उहाँको पारिवारिक माहोल नै सांगीतिक थियो ।
सह–सचिव
यो देशमा केही समय अघिसम्म एउटा सिस्टम थियो । त्यो सिस्टमले मान्छे चिन्थ्यो । उनलाई ललितकला क्याम्पसको मानार्थ सह–प्राध्यापकको उपाधी दिइएको थियो ।
त्यो बेला मरिचमान सिंह प्रधानमन्त्री हुनुहुन्थ्यो । नेपालको सांगीतिक क्षेत्रलाई अगाडी बढाउन भनेर सरकारले नै देशव्यापी रुपमा सांगीतिक टुर कार्यक्रम गराएको थियो । देशका विभिन्न शरहमा कार्यक्रमभए त्यसमा नारायण दाइ पनि हुनुहुन्थ्यो ।
त्यो टुरबाट फर्किएपछि प्रधानम्नत्री मरिचमान सिंहले बोलाएर–तपाइले अब हाम्रो नेपाली गीत संगीत कस्तो हुनुपर्ने र यसलाई कसरी अगाडि बढाउनु पर्छ र यसको संद्र्धन गर्दै कसरी फैल्याउने र गुणस्तरीय कसरी बनाउने ? यो विषयको जिम्मा लिएर काम गर्नुस् भन्नु भयो ।
सञ्चार मन्त्रालय अन्तरगत रहने गरी सह–सचिवको पद क्रिएट गरेर उहाँलाई मन्त्रालयको तल्लो तलामा सरकारले कार्यकक्षको व्यवस्था गरिदिएको थियो । उहाँको कार्यकक्षमै म धेरैपटक गएको छु । तर, उहाँ धेरै समय रहनु भएन । उहाँले संगीतको योजनाबद्ध र नीतिगत तहबाट विकासको खाका भने कोर्नै नपाई निष्ठुरी कालले उहाँलाई हरेर लग्यो ।
स्पष्ट बक्ता इमान्दार व्यक्ति
कालोलाई कालो र सेतोलाई सेतो भन्ने उहाँको बोल्ड स्वाभाव थियो । कसैको चाकडी नगर्ने र जे हो त्यो भन्ने उहाँको बानी थियो । राम्रोको खुलेर प्रशांसा गर्ने र नराम्रोलाई नराम्रो भन्नुहुन्थ्यो । सायद यही स्वाभाव मन नपराउेहरुले उहाँको आलोचना गरेका होलान । मैले जति पनि उहाँबारे सुनेको थिएँ । तर, उहाँलाई भेटेपछि मैले उहाँमा केही अवगुण नै देखिन ।
उहाँ साह्रै इमान्दार र नैतिकवान हुनुहुन्थ्यो । काठमाडौं, पोखरा र सिलगुडीकोको कार्यक्रम सकिएपछि अमेरिका जाने कुरा चलिरहेको थियो । त्यही बेला बिराटनगरबाट कार्यक्रमाका लागि आग्रह भइरहेको थियो । मैले उहाँलाई बिराटनगर जाउँ न त भन्दा उहाँले प्रश्न गर्नु भयो, “हामीले नयाँ गीत सबै गाइसक्यौं अब हामी बिराटनगर गएर कुन गीत गाउने ? नयाँ गीत छैन । पुरानो गीत गाएर स्रोतलाई ठग्नु हुँदैन । नयाँ गीत रेकर्ड भएपछि त्यो लिएर जाउँला ।”
नारायण दाइबाट म ज्यादै प्रभावित भएको पक्ष हो–स्वाभिमान र इमान्दारीता । उहाँमा जस्तो इमान्दारीता मैले धेरैसाग देखेकै छैन । नातीकाजी, तारादेबी, गोपाल योञ्जन र भारतीय नागरिकता लिएरै भएपनि नेपाली गीत गाउने अरुणा लाामाबाहेक अरुमा दखेको छैन ।
म स्वर सम्राट हैन
नारायण दाई र म भैहरवा, बुटवलको कार्यक्रम कसेर धनगडी पुगेका थियौं । त्यो बेला धनगडी जान रुपैडिया हुँदै जानु पर्थ्यो । त्यही बोटो भएर हामी धनगडी पुगेर एउटा होटलमा बसेका थियौं । त्यहाँ स्वर सम्राट नारायण गोपालो एकल एकल गायन भनेर बजारमा माइकिङ गरिरहेको सुनियो । नारायण दाइले त्यही होटलको मान्छेलाई त्यो माइकिङ गरिहरको व्यक्तिलाई बोलाउनु लगाउनु भयो । आयोजक आए ।
नारायण दाइले भन्नु भयो,– को हो स्वर सम्राट ? म त स्वर सम्राट होइन , गायक मात्रै हो । स्वर सम्राटको अथउ थाहा छ ? यो स्वर सम्राट हटाएर मात्रै काएकिङ गर हैन भने पर्दैन ।” नारायण दाइले त्यती भनेपछि आयोजकले स्वर सम्राट हटाएर माइकिङ गर्न थाल्यो । उहाँका कुनै विशेषण र पदवी जोड्ने लालसा थिएन । सम्राटको अर्थ स्वरमार्फत विश्व जित्ने व्यक्ति भन्ने उहाँको बुझाई थियो । जसको स्वर विश्वभर सुनिन्छ, मन पराइन्छ त्यो हो–स्वर सम्राट भन्ने उहाँको भनाइ थियो ।