काठमाडौं । कुनै पनि व्यापार–व्यवसाय नचलेमा घाटा कति प्रतिशत होला ? बढीमा शतप्रतिशत ! यो भन्दा बढी कसैले पनि सोच्न सक्दैन । तर चलचित्र उद्योग यस्तो क्षेत्र हो, जसमा निर्माता अर्थात् लगानीकर्ता शतप्रतिशतभन्दा पनि बढी घाटा बेहोर्न बाध्य छन् ।
यस्ता थुप्रै निर्माता छन्, जो एकसय १० प्रतिशतसम्म घाटा बेहोरिरहेका छन् । अधिकांश चलचित्रत्रले हलमा ‘सो’ नपाएर अथवा पाएर पनि पहिलो दिनबाट नै दर्शक हलसम्म नआउने समस्या भोगिरहेका छन् । दर्शक नआइदिँदा त्यस्ता चलचित्रका निर्माताले एकसय १० प्रतिशतभन्दा पनि बढी घाटा बेहोरिरहेका छन् ।
कसरी हुन्छ एकसय दश प्रतिशतसम्म घाटा ?
नेपालमा निर्माताले छुट्ट्याएको बजेटमा कममात्रै चलचित्र निर्माण सम्पन्न भएर प्रदर्शनमा आउँछन् । औसतमा नेपाली चलचित्रमा पूर्वनिर्धारित बजेटभन्दा २५ देखि ५० प्रतिशतसम्म बजेट बढ्ने गर्छ । पूर्वनिर्धारित बजेटमा चलचित्र तयार नहुने भएपछि निर्मातासँग दुईवटा विकल्प हुन्छन्, एक– ऋण लिएर चलचित्र हलसम्म पुर्याउने र दुई– बीचमै छोड्ने ।
बीचमै छोड्ने निर्माताको सङ्ख्या पनि कम छैन । दोस्रो विकल्प रोज्ने निर्माताले चलचित्र वितरक, प्रचार–प्रसारका लागि जिम्मा लिएको कम्पनी वा व्यक्ति र इन्कोडिङ सर्भर चार्ज एड्भान्समा लिएर चलचित्र रिलिज गर्छन् ।
चलचित्र निर्माता, निर्देशक तथा कलाकार निर्मल शर्मा पैसा अभाव भएका तथा विश्वासिलो ब्यानरलाई वितरकले प्रदर्शनपछि पैसा असुल गर्ने सर्तमा १५–२० लाख एड्भान्स दिन्छन् । “रिलिजपछि दिने सर्तमा पब्लिसिटी खर्च १०–१२ लाखसम्म गर्छन्,” निर्मल भन्छन्, “इन्कोडिङ र सर्भरको चार्जमा पनि त्यही सर्त हुन्छ । तर चलचित्रले व्यापार गरेन भने निर्माता समस्यामा पर्छन् ।”
वितरक तथा अन्य पक्षसँग एड्भान्स लिएर चलचित्र हलमा पुर्याएपछि एड्भान्स लिएको पैसा पनि ‘ग्रस कलेक्सन’ भएन भने निर्माताले फेरि ऋण खाजेर वितरकलाई बुझाउनुपर्ने निर्मल बताउँछन् ।
“वितरकसँग लिएको एड्भान्स, पब्लिसिटीमा भएको खर्च र सर्भरको पैसा पनि नउठेको अवस्थामा निर्माताले त्यो चलचित्रबाट त्यतिकै छुट्कारा पाउन सक्तैन,” निर्मल अगाडि थप्छन्, “यस्तो अवस्थामा वितरक, प्रचार–प्रसार गर्ने र हललाई पैसा दिएरमात्रै निर्माता मुक्त हुँदा उसलाई एकसय १० प्रतिशतभन्दा बढी नोक्सान हुन्छ ।”
नेपालमा वार्षिक करिब सय चलचित्र रिलिज हुँदा तीन प्रतिशत फाइदामा जान्छन् भने पाँच प्रतिशतले लगानी उठाउँछन् । बाँकी सबै चलचित्र घाटामा जान्छन् । यसरी घाटामा जाने थुप्रै चलचित्रले पब्लिसिटी खर्च पनि उठाउन सक्तैनन् ।
कति चलचित्रले सहरका गल्लीका भित्तामा टाँसेको पोस्टरको पैसा पनि नउठाउने निर्देशक, निर्माता, लेखक तथा कलाकार दीपकराज गिरी बताउँछन् । “यस्ता चलचित्रको सङ्ख्या पनि निकै ठूलो छ,” दीपक भन्छन्, “चलचित्रको पोस्टर टाँसेको मात्रै होइन, पोस्टर टाँस्न प्रयोग हुने माडको पैसा पनि उठाउँदैनन् ।”
कमजोर विषय, फितलो प्रस्तुति, लहलहैमा हुने लगानी र चलचित्रबारे नबुझी आउने लगानीकर्ताका कारण कमजोर चलचित्र बन्ने गरेको र त्यस्ता चलचित्र लागेकै दिन हलबाट उत्रिने गरेका छन् ।
“अहिले अधिकांश चलचित्रमा लगानी एनआरएन (विदेशमा बस्ने नेपाली)बाट आइरहेको र उनीहरुलाई छक्का पञ्जा र कबड्डीको ग्रस कलेक्सन देखाएर फसाउने काम भइरहेको छ,” निर्मल भन्छन्, “जबसम्म यो अवस्था रहिरहन्छ, निर्माताहरुले एकसय १० प्रतिशत घाटा बेहोर्ने अवस्था रहिरहन्छ ।”
बल्छी थापेर बस्ने र सोझा–सीधालाई त्यसमा पारेर फाइदा लुट्ने अवस्थाको अन्त्यका लागि चलचित्र विकास बोर्डले निर्मातालाई चलचित्र दर्ता भएपछि चलचित्र निर्माणको प्रक्रिया, सम्भावित बजेट, प्रदर्शन तथा प्रदर्शनपछि कलेक्सन रकमको सेयर बाँडफाँटको प्रक्रियाबारे काउन्सिलिङ गर्नुपर्ने निर्मलको भनाइ छ ।