काठमाडौं । नेपाली चलचित्र उद्योगमा बर्सेनि करिब एक सयवटा चलचित्र निर्माण हुँदा विविधता पनि थपिँदै गएको छ । विषयप्रधान चलचित्र बन्न थालेका छन् । बलिउड सूत्रका चलचित्रमात्रै होइन, मौलिक चलचित्र पनि बन्न थालेका छन् । आकर्षक जीउडाल र चकलेटी अनुहारका व्यक्तिमात्रै नायक–नायिका हुने अवस्था विस्तारै कम भएर गएको छ । चरित्र अभिनेता र अभिनेत्री पनि मुख्य भूमिकामा देखिन थालेका छन् ।
यी विविधतासँगै नाम जुराउने काममा पनि निर्माता–निर्देशकले बढी ध्यान दिन थालेक छन् । नाम सुन्दा नै अनौठो लागेपछि चलचित्रतर्फ दर्शकको आकर्षण बढ्ने तिनको बुझाइ छ । नामैमात्रले पनि चलचित्रमा विविधता थपिन भने पुगेको छ । अङ्ग्रेजी भाषामा नाम राख्ने प्रचलन पुरानो भइसक्यो । त्यसबाहेक अहिले ‘उट्पट्याङ’ नाम राख्नेको सङ्ख्या पनि कम छैन । ‘तोरी लाउरे’, ‘तिम्रै छोरी तरुनी, मेरो केको दोष ?’, ‘म तिमीबिना मरिहाल्छु’, ‘फाटेको जुत्ता’, ‘पण्डित बाजेको लौरी’, ‘छेस्को’, ‘इकु’, ‘फिर्के’, ‘कृ’ आदिलाई अनौठो नामयुक्त चलचित्र मान्न सकिन्छ ।
उट्पट्याङ नाम राख्ने प्रतिष्पर्धा चलिरहँदा अर्को त्यस्तै नाम जुरेको छ ‘सेन्टी भाइरस’ । सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले बनाउन लागेको पहिलो चलचित्र हो यो । यो चलचित्र निर्माणको घोषणा कार्यक्रममा कुञ्जना भन्दै थिइन्, “यो मान्छेलाई टेन्सन दिने भाइरस होइन, टेन्सन हटाउने भाइरस हो । बाँकी चलचित्र हेरेपछि थाहा हुन्छ ।”
दर्शकलाई ‘होल्ड’ गर्ने मुख्य पक्ष कथा नै । तर अन्य पक्षले पनि यसमा असर पार्ने चलचित्रकर्मीहरु बताउँछन् । नामले चलचित्रमा ठूलो अर्थ राख्ने चलचित्र समीक्षक तथा निर्देशक मनोज पण्डित बताउँछन् ।
चलचित्रको नामले निर्देशक र निर्माताको सिर्जनशीलता झल्किने उनको भनाइ छ । “सिर्जनशीलता छ भने मेकरले सही, सटिक र अर्थपूर्ण नाम राख्छ । सिर्जनशील व्यक्तिले धेरै शब्द खोज्दैन । रिदमिक र मेलोडीपूर्ण शब्द खोज्छ,” मनोज भन्छन्, “तर मेकरको सिर्जनशीलताको अभावमा लामो र उट्पट्याङ शब्द राख्छ । जो सिर्जनशील छैन, उसले आफ्नो चलचित्रको नामले समाजमा के अर्थ राख्छ, त्यसले कसरी ध्यान तान्छ भन्नेमा ध्यान दिन्छ ।”
चलचित्रको नाम फगत् नाममात्रै हुन नहुने उनी बताउँछन् । शब्दको मिलन, फन्ट, आकार, रङलगायतको अर्थ हुने र त्यो नामसँग जोडिएर आउने मनोजको भनाइ छ । शब्दको विन्यास, त्यसको अर्थ, उच्चारणमैत्री छ–छैन, प्रयोगमा आएको शब्द हो–हैन भन्ने कुराले ठूलो महत्व राख्ने उनी बताउँछन् । राम्रो नाम राखेका खण्डमा चलचित्रको पूरै कथा बुझ्न सहयोग गर्छ । चलचित्रको नामको आकार, रङ्ग तथा त्यसको सान्दर्भिकताले दर्शकलाई आकर्षण गर्ने मनोजको बुझाइ छ । ‘‘जिम्मेवार मेकरले सान्दर्भिक र अर्थपूर्ण नाम राख्छ,’’ उनी भन्छन् ।
उट्पट्याङ होस् या सान्दर्भिक दुवै प्रकारका शीर्षकले दर्शकको ध्यान भने खिच्ने मनोज बताउँछन् । उनका अनुसार असान्दर्भिक र उट्पट्याङ लामा नामले पनि चलचित्रसँग तिनको सन्दर्भ र उक्त चलचित्रप्रति खोजी गर्न आकर्षित गर्छ । “कस्तो वाहियात शीर्षक राखेछ भनेर खोज्नु पनि एक हिसाबको आकर्षण हो,” उनी भन्छन् । चलचित्रको नामले मेकरको नियत, इमानदारी र उद्देश्यलाई प्रष्ट्याउने उनको भनाइ छ ।
चलचित्र निर्देशक दीपेन्द्र के खनाल चलचित्रको नाम कथासँग मेल खाने हुनुपर्ने बताउँछन् । नाम सोचेर त्यहीअनुसारको मनोविज्ञान तयार पारेर हलमा पुगेको दर्शकले नामअनुरुप कथा हेर्न पाउनुपर्ने उनको भनाइ छ । आफूले आफ्ना हरेक चलचित्रको नाम कथाकै आधारमा राखेको बताउँदै निर्देशक खनाल प्रष्ट पार्छन्, “चलचित्रको टाइटल कथासँग सिङ्क हुनैपर्छ । मेरो चलचित्र आमा हर्ने गएको दर्शक हलमा पुग्दा बुवाको कथा आयो भने उसले के मूल्याङ्कन गर्ने ?”
चलचित्रको नामले कथाको मर्म उजागर गर्न सक्नुपर्ने दीपेन्द्रको भनाइ छ । यद्यपि, चललचित्रको मुख्य क्यारेक्टरलाई लिएर भने चलचित्रको नाम राख्न सकिने उनको तर्क छ । क्यारेक्टर र कथाको मर्मबाहिर गएर नाम राख्न नहुने उनी बताउँछन् ।
निर्देशक विनोद पौडेलको मतमा भने ह्युमरका भरमा नेपाली चलचित्र उद्योगमा सिनेमाको नाम राख्नेको जमात ठूलो छ । चलचिको कथा र स्क्रिप्टमा काम नगरी पहिला नाम खोज्दै हिँड्ने मेकरहरु पनि रहेको उनको अनुभव छ ।
“व्यावसायिक नाम राख्नुपर्छ भन्ने पनि छन् । मेरै चलचित्रमा पनि त्यो कुरा आएको थियो,” विनोद भन्छन्, “तर नामकै भरमा चलचित्र चल्ने अथवा नचल्ने कुरामा मचाहिँ विश्वास गर्दिनँ । विडम्बना त के छ भने, क्याची र कमर्सियल नामको अभावकै कारण चलचित्र चलेन भन्नेहरु पनि छन् ।”
जुन चलचित्र चलेको छ, त्यस्तै अरु नाम राख्ने लहर नेपाली चलचित्र उद्योगमा रहेको विनोद सुनाउँछन् । चलचित्रको भित्री कथालाई बुझेर कथाको सार झल्किने गम्भीर नाम राख्ने चलन निकै कम रहेको उनी बताउँछन् ।
चलचित्रको नामले नै दर्शकलाई हलसम्म तान्नका लागि त्यति धेरै भूमिका नखेल्ने, तर एकदम भिन्न, लामो र अप्ठ्यारो भएको अवस्थामा भने त्यसले नकारात्मक असर पर्ने विनोद बताउँछन् । तर नामैले ठूलै असर नपर्ने उनको भनाइ छ । “चलचित्रको नामलाई नै लिएर हेर्न जाने वा नजाने निर्णय त दर्शकले गर्दैनन् । तर नकारात्मक र अपाच्य टाइटल छ भने त्यसले चाहिँ असर पार्छ नै,” विनोद भन्छन् ।