काठमाडौं । पछिल्लो समय काठमाडौंमा नाटक बाक्लै मञ्चन हुन थालेका छन् । नाटकको मञ्चन मात्रै होइन नाटक घरको संख्या पनि बाक्लिँदै गएको छ । नाटक घर बाक्लिएपछि नाटक घरमा काम गर्नेको संख्या पनि सानो छैन । ‘लुट’ पछि चलचित्रका कास्टिङ डाइरेक्टरको आँखा थिएटर आर्टिस्टमा परेपछि नाटक घरमा युवा पुस्ताको आकर्षण ह्वात्तै बढेको छ ।
एकाध नाटकले कमाई पनि राम्रै गर्दै आइरहेका छन् । १२–१५ लाखसम्म नाटकले कलेक्सन गरेको रङ्गकर्मीहरु बताउँछन् । पछिल्लो समय नाटकको टिकट शुल्क पनि बढेको छ, रु. ३०० बाट रु. ५०० ।
रु. ५०० अढाई घण्टाको फिचर फिल्मको भन्दा धेरै शुल्क हो । टिकट रुपैयाँ धेरै भए पनि सुविधा भने ‘लाइभ शो’ बाहेक केही पनि छैन । नाटक घर छिर्दैदेखि अँध्यारो गल्ली सुरु हुन्छ । भित्र पुग्दा साँघुरा सिट । कतिमा त छुट्टै सिट पनि छैनन् । कक्षा कोठामा पढ्न बस्ने लामा बेन्च । एकातिर महङ्गो टिकट अर्कोतिर बेन्चको बसाई नाटक रुचाउनेहरुका लागि पनि बाधक बनिरहेका पक्ष हुन् यी ।
रङ्गकर्मी सुनील पोखरेल भने रङ्गमञ्चमा व्यापारिक घरानाको लगानी नहुनु नै यसको कारण रहेको बताउँछन् । चलचित्रमा ठूलो लगानी हुने र त्यसको प्रतिफल पनि त्यही अनुसारको हुने भएकाले त्यसका भौतिक पक्ष पनि राम्रो हुने उनको भनाइ छ । “चलचित्रमा ठूलो लगानी छ । एक दिन संसारभर ‘मास स्केल’मा जान्छ, प्रतिफल पनि त्यही अनुसारको हुने भएकाले ‘इन्फास्ट्रक्चर’मा पनि लगानी हुन्छ,” सुनील बाह्रखरीसँग भन्छन्, “नाटक सानो समूहले थोरै दर्शक, त्यो पनि एकै ठाउँमा सीमित हुनुपरेकाले यस्तो भएको हो ।”
यद्यपि यसमा सुनील असन्तुष्ट छैनन् । व्यापारीको लगानी आउन बित्तिकै नाटक कला नभएर व्यापारिक वस्तु हुने । र स्वतन्तन्त्रता पनि छिनिने भएकाले अहिलेकै अवस्था उत्तम रहेको उनको भनाइ छ । “व्यापारिक लगानी भयो भने स्वतन्त्रता रहँदैन । स्वतन्त्रता भएन भने नाटकको कलात्मक पक्ष रहँदैन,” गुरुकुलका सञ्चालक समेत रहेका सुनील भन्छन्, “त्यसैले व्यापारिक लगानी नआएको र त्यसका लागि पहल नभएको हो ।”
अभिनेता दयाहाङ राई विकसित देशको तुलनामा नेपालका नाटकको बक्सअफिस शुल्क कम्तिमा दुई गुणा कम रहेको बताउँछन् । विकसित देशका थिएटरहरु पनि नेपालको भन्दा धेरै फरक नरहेको उनको दाबी छ ।
“नाटक घर चलचित्र घरजस्ता आधुनिक र सुविधा सम्पन्न बनाउन सकिन्छ । तर नाटक र चलचित्र उस्तै र एउटै विधा हैनन्,” मण्डला थिएटरका सञ्चालक मध्यका एक दयाहाङ भन्छन्, “चलचित्र घरका सिट जस्ता नाटक घरका सिट बनाउनै नसकिने त हैन । तर लाइभ मञ्चन हुने नाटकका ससाना कुराहरु बुझ्न लक्जरियस सिटमा आरामले बसेर सहज हुँदैन भनेर नै थिएटरका सिट कम कमफर्ट बनाइएको हुन्छ । यो नेपालमा मात्रै होइन । विश्वका जुनसुकै देशमा पनि यस्तै हुन्छ ।”
नाटक र दर्शकबीचको ‘कनेक्सन’ नटुटोस् भनेर नै थिएटर घर र त्यसका सिटको ‘डिजाइन’ गरिएको दयाहाङको भनाइ छ ।
विकसित देशमा पनि रङ्गमञ्चको अवस्था नेपालको जस्तै रहेको घिमिरे युवराज बताउँछन् । कलाको व्यापार नहुने उनी तर्क गर्छन् । “सरकारी विद्यालयमा किन डेस्क बेन्च राम्रो हुँदैन भने जस्तै हो,” शिल्पी थिएटरका युवराज भन्छन्, “चलचित्रसँग नाटकलाई तुलना गरेको पाइन्छ । तर यी दुई फरकफरक इलिमेन्ट हुन् भन्ने पक्षलाई बुझ्नु आवश्यक छ ।”
चलचित्र जस्तो एकै पठक चार हजार थिएटरमा नाटक मञ्चन नहुने भएकाले नाटकको सिमितता नै यसको मुख्य पक्ष भएको बताउँछन् । सानो थिएटरमा एकै ठाउँमा मञ्चन हुनु नै नाटकको सुन्दरता हो भन्ने तथ्य बुझ्न उनको आग्रह छ ।
रङ्गकर्मी राजन खतिवडा नाटक आरामदायी सिटमा बसेर हेर्ने भन्दा पनि ‘अलर्ट’ भएर हेर्ने कला भएको बताउँछन् । आर्थिक अभाव पनि आरामदायी नाटक घर नहुनुको कारण भए पनि अन्य देशमा पनि अवस्था करिब उस्तै रहेको उनको भनाइ छ ।
“एलिट वर्गले खोज्ने सुविधा नाटक घरमा हुँदैन । अलर्ट भएर हेर्ने कलाको विधा भएका कारण हो,” राजन भन्छन्, “राम्रो सिटमा बसेर नराम्रो नाटक हेर्ने कि नराम्रै सिटमा बसेर भए पनि राम्रो नाटक हेर्ने भन्ने कुरा हो ।” नाटक घरमा आरामदायी सिट हुँदैनन् भन्ने माइन्ड सेटले पनि काम गरेको उनको भनाइ छ ।