देश
सिन्धुपाल्चोक । वरिपरि बादलले छोपेको बीचमा केही समथरजस्तो गिरानचौर । थोरै तल गत वर्ष वैशाख १२ को भूकम्पले भत्किएका घरहरू र भत्कन बाँकी खण्डहर घर देख्दा महसुस हुन्छ– यी घरले भूकम्पको पीडा दूर हुन दिएका छैनन् ।
केही तल रोपाइँ चलिरहेको छ । तल लाठेहरू बाउसे र रोपाहारहरू धान रोप्न व्यस्त भइरहँदा माथि तामाङ बस्तीमा कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ साबेल उज्याउँदै माटो फ्याँक्न व्यस्त देखिन्थे ।
शनिबार गिरानचौरस्थित निर्माणाधीन धुर्मस–सुन्तली एकीकृत बस्ती पुग्दा करिब ४० जना स्कुले बालबालिका बोरामा माटो ओसार्न तल्लीन थिए । घरमा ढलेको लोहोटासमेत उठाउनु नपर्ने बालबालिका त्यहाँ असिन–पसिन भएर श्रमदानमा खटिरहेको दृश्य अचम्मलाग्दो थियो ।
“स्काउटमा आबद्ध यिनीहरूलाई ‘श्रम’ सिकाउन ल्याइएको हो । यीमध्ये धेरै त यहाँ आउन मरिहत्ते नै गरिरहेका थिए,” उनीहरूलाई समन्वय गरिरहेका एक शिक्षकले ल्याउनुको तात्पर्य हाँस्दै खुलाए ।
“हामी त धुर्मुस दाइलाई हेर्न आएको,” मेलम्चिस्थित प्रगति बोर्डिङ स्कुलमा पढ्ने एक बालिका सुनाउँदै थिइन्, “धुर्मुस दाइ त कस्तो कालो हुनुभएछ, झन्डै नचिनेको !”
टेलिभिजनका पर्दामा ‘मेरी बास्सै’मार्फत पेट मिचिमिची हसाउने धुर्मुस आँखै अघिल्तिर देख्दा बालिका पुलकित देखिन्थिन् र सकिनसकी माटो ओसारिरहेकी थिइन् ।
साढे दुई महिनादेखिको अनवरत खटाइले धुर्मुस हुनुसम्म कालो भएछन् । कम्मरमा पटुका कसेर मैदानमा खटिएका धुर्मुस थकित पनि देखिन्थे । तिनै बालिकाको चिउँडोमा हात राखे र आफ्नो फुलेको कञ्चटतर्फ इसारा गर्दै धुर्मुसले भने, “कालोमात्र होइन, म त कामले बूढो पनि भइसकेँ !”
बालिका केहीबेर अधैर्य देखिइन् र भावकु हुँदै सोधिन्, ‘तपाईं पनि नेता भइदिएको भए भूकम्पले भत्काएको हाम्रो घर बनाइदिनुहुन्थ्यो होला हई ?’ भूकम्पबाट भत्किएको उनको घर बन्न सकेको रहेनछ । बालिकाको प्रश्नले धुर्मुसको अनुहारमा सन्नाटा छायो । त्यस्तै दृष्य थियो वारिपारि पनि, जहाँ भूकम्पबाट भत्किएका घरहरू ज्यूँ का त्यूँ थिए ।
० ० ०
भक्तपुर खरिपाटीकी अञ्जिता काफ्ले कोदालो उज्याउँदै थिइन् । उनका श्रीमान् कृष्णहरि काफ्ले उनले खनेर थुपारेको माटो अलि पर हुत्याउँदै थिए । “हामी त दुई पटक आइसक्यौँ, फुर्सद भए त महिनौँ दिन यहीँ खटिन्थ्यौँ,” दुखेको कम्मर हातले अडेस लगाइन् र खुइय ! काढ्दै हामीलाई सुनाइन् ।
उनका श्रीमान् सडक विभागका कम्प्युटर अपरेटर हुन् । उनीहरूलाई श्रमदानसँगै सहयोगको हात बढाउन मन थियो । तर, आर्थिक सहयोगका लागि भनेर ल्याएको १० हजार रुपैयाँ सीतारामले ‘अहिलेलाई पैसा पुग्यो, हामीले रकम उठाउन बन्द गरिसक्यौँ’ भनेपछि मन अमिलो पार्दै गोजीमै राखेर श्रमदान गर्न खटिए ।
० ० ०
“हि इज भेरी नाइस गाइज, वि रियल्ली इन्सपायर्ड,” धुर्मुसको बखान गाउँदै बेलायतका जर्ज र एङ्गेज साबेलको सहायताले मसला घोल्दै थिए । उनीहरू चार दिनदेखि एकीकृत बस्ती निर्माणका लागि कस्सिएका छन् । धुर्मुसले सुनाए, “एङ्गेजकी आमा केही समयअघि नेपाल आएकी थिइन् र स्वयंसेवामा जुटेकी थिइन् । खै कसरी कोमल वलीमार्फत सम्पर्क भएपछि उनीहरू यहाँ आइपुगेका हुन् । हामीसँगको कुराकानीमा उनीहरू अचम्मित भए, “यत्रो भूकम्प गएर मानिसहरू मर्दा र घरबारविहीन हुँदा पनि नेपालीहरू कसरी हाँस्न सकेका ? हामीले वास्तवमै उहाँहरूसँग सिक्नुपर्छ ।”
“यी मेरा दुई भान्जा हुन्,” धुर्मुसले ठट्यौली पारामा भने, “मलाई मामाभन्दा बढ्ता माया गर्छन् । यिनीहरू बेलायतको प्रतिष्ठित विद्यालयमा पढ्छन् ।” अरुसँग सहयोगका हात बढाएर गाउँ नै बनाउँछु भन्नु चानचुने कुरा नभएको बताए ती दुई बेलायती विद्यार्थीले पनि । सात दिनसम्म त्यहाँ काम गर्ने र १० दिन नेपालका रमणीय ठाउँहरू घुम्ने उनीहरूको योजना रहेछ । कुराकानीको अन्तिममा भने, “नेपालले मोहित तुल्यायो, फुर्सद हुनेबित्तिकै हामी त नेपाल आइहाल्छौँ ।”
० ० ०
“ऊचाहिँ मेरो भाई, मेरो ज्यान ठूलो, उसको ज्यान खिरिलो भएर नपत्याएको हो कि क्या हो ?” नजिकै खाल्डो खनिरहेका कुमार कट्टेल ‘जिग्री’लाई देखाउँदै सीतारामले ठट्टा गरे । कुमार पनि दाजुको राष्ट्र निर्माणको लक्ष्य पूरा गर्न सहायक बनेर कस्सिएका रहेछन् । काभ्रेको पहरी बस्ती निर्माणका लागि ७० दिन पसिना बगाएका भाई कट्टेल गिरानचौर नपुग्ने कुरै भएन ।
बाढीले अहिले तराईका धेरै जिल्ला आक्रान्त तुल्याएको छ । पश्चिम र मध्यपश्चिममा थुप्रै प्रभावित छन्, कैयौं घरबारविहीन भएका छन् । त्यसैले बाढीपीडितलाई सघाउन ‘भद्रगोल’ सिरियलका कलाकार अर्जुन घिमिरे ‘पाँडे’लगायतसँग मिलेर कुमारले ‘न्युट्रल जनता अभियान’ सुरु गर्न लागेका रहेछन् । “सहयोग संकलन गर्न आइतबार काठमाडौँ जान्छु, अनि राहत अभियान सुरु गर्छु,” उनले सुनाए ।
‘मेरी बास्सै’कै बेगम नेपाली ‘भटभटे माइलो’ पनि गिरानचौरमै छन् । कलाकारितालाई केही समय थाँती राखेर बस्ती निर्माणमा जुटेका नेपाली निरन्तर साबेल मच्चाइरहेका छन् । “धुर्मुस दाईको राष्ट्र निर्माणको भावनालाई सघाउ पुगोस् भनेर उहाँलाई हौसला प्रदान गर्न आएको हुँ,” उनले थपे । त्यसो त भद्रगोलका ‘पाँडे’ पनि केही दिन श्रमदान गरेर शुक्रबारमात्रै काठमाडौँ फर्किएका छन् ।
बस्ती बनाउन धुर्मुसकी अर्धाङ्गिनी कुञ्जना घिमिरे (सुन्तली)को पनि कम योगदान छैन । तर, काखे छोरी स्याहार्नुपर्ने भएकाले फिल्डमा भने खटिन पाएकी छैनन् । हामी पुग्दा सुन्तली त्यहाँ थिइनन् । “जाने आउने गरिरहेकी छन् । उनलाई पनि सधैँ यही बसेर काम गर्ने रहर नभएको होइन । तर, छोरीको पनि हेरविचार गर्नुपर्यो । निर्माणकै केही बाह्य काम पनि हुेर्नुपर्ने भएकाले यहाँ नभएकी हुन्,” धुर्मुसले प्रस्ट्याए ।
० ० ०
नेपाल प्रहरीका सई रामेश्वर महतो सुरक्षा व्यवस्थाका साथै श्रमदानमा पनि उत्तिकै दत्तचित्त छन् । “हुन त यहाँ सुरक्षाका लागि आएका हौँ । तर, धुर्मुसको काम देखेर हात बाँधेर बस्न मन लागेन,” महतोले सुनाए । इलाका प्रहरी कार्यालय मेलम्चीबाट सुरक्षाका लागि महतोको नेतृत्वमा तीन जना प्रहरी बस्तीमा खटिएका छन् । प्रहरीले सुरक्षामा ध्यान त दिएका छन् नै, उनीहरू निर्माणको काममा पनि उत्तिकै चनाखो छन् ।
० ० ०
पाँच करोड लागतमा गिरानचौरमा तीन वटा ब्लकमा काम भइरहेको छ । पहिलो ब्लकमा २३ वटा, दोस्रोमा २६ वटा र तेस्रोमा १६ वटा घर निर्माण भइरहेको सीताराम बताउँछन् । निर्माण सम्पन्न गरेर दसैँको घटस्थापनाको दिनसम्ममा हस्तान्तरण गरिसक्ने लक्ष्य छ । तर, पानीले बिथोलिरहेको छ । धुर्मुस् ठट्टा गर्छन्, “इन्द्रलाई हामीदेखि के कुरामा रिस उठेछ कुन्नी, काम सुरु गरेको दिनदेखि पानी पर्न रोकिएको छैन त !”
बस्ती निर्माणका लागि प्रत्येक घरबाट एक/एक जना गरी ६५ जना र ३० जना मिस्त्री अहोरात्र खटिएका छन् । त्यस्तै, विभिन्न संघ–संस्थाबाट स्वयंसेवीहरू पनि श्रमदानका लागि पुग्ने गरेका छन् । स्रोत सीमित भएकाले श्रमदानमा आउनेहरूलाई खाने–बस्ने व्यवस्था मिलाउन नसकिएको सीताराम बताउँछन् । लागत अनुमान गरिएको रकम संकलन भए पनि मानव संशाधन नपुगेको उनको भनाइ छ । “रकम त संकलन भयो । १५ दिनअगाडि नै उठाउन बन्द गरिसक्यौँ । अहिले हामीलाई श्रमदान गर्नेको खाँचो छ,” सीतारामले भने ।
श्रमदान गर्न एक–दुई जना गएर पुग्दैन । गाउँमा खेती–किसानीको समय भएकाले कामदारको अभाव छ । “कोही इच्छुक भएर खाने–बस्ने प्रबन्धसहित २०÷२५ जनाको टोली आएर काम गरिदिए हामीलाई आपत्ति हुने छैन,” उनी हाँसे ।
गिरानचौरमा पानीको असाध्यै दुःख छ । धेरै वर्षअघि झुलेबाट पानी लगेर गिरानचौरवासीको आँत भिजाइदिने सपना धेरैले नदेखाएका होइनन् । तर, ती सबै चुनावका ‘मसला’मात्रै बने ।
धुर्मुस नै गिरानचौरका ‘भगवान’ भएका छन् अहिले । आठ सय मिटर तल सिन्धु खोलाबाट पानी तानेर सिँगै गिरानचौरका चार सय परिवारको दैलामा पानी पुर्याइदिएका छन् उनले ।
० ० ०
निर्माणाधीन घर डेढ तलाको हुनेछ । बाहिर पिँढीसमेत निकालिएको घर पूर्णतया अपांगमैत्री, बालमैत्री, र वातावरणमैत्री पनि हुनेछ । त्यस्तै बालउद्यान, खेल्ने ठाउँ, भ्यु टावर र सामुदायिक भवनसमेत निर्माण गर्ने योजना छ । बस्तीलाई पर्यटकीय गन्तव्यको रूपमा पनि विकास गरिने धुर्मुस–सुन्तली फाउन्डेसनको लक्ष्य रहेको सीताराम बताउँछन् । काठमाडौँ–जहरसिंह पौवा, फट्केश्वर–गिरानचौर हुँदै पुगिने सो बस्ती काठमाडौँबाट करिब ४० किमीमात्रै टाढा छ ।
वातावरणीय स्वास्थ्यलाई दृष्टिगत गरी वस्तीभित्र पशुपालन निषेध गरनेछ । बस्तीभन्दा तल कटेरा बनाएर पशुपालनको व्यवस्था मिलाइएको बस्ती निर्माण उपभोक्ता समितिका अध्यक्ष रामबहादुर तामाङले जानकारी दिए । दसैँसम्ममा निर्माण सक्ने लक्ष्य राखिएकाले काम युद्धस्तरमा भइरहेको उनले बताए । हालसम्म ३४ वटा पिलर ठडिइसकेका छन् ।
बस्ती निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट एकजना इन्जिनियर खटिएका छन् । एकजना ओभरसियरले स्वयंसेवीको रूपमा काम गरिरहेका छन् । संरचना र भवन निर्माणका हिसाबले ४० प्रतिशत काम सम्पन्न भइसकेको र दुई महिनाभित्रमा बाँकी काम सम्मन्न हुने विश्वास उनीहरूको छ ।
काममा रोकावट नआए निर्धारित मितिमै काम सम्पन्न गरिसक्ने योजना आफूहरूको रहेको ठेकेदार लक्ष्मी शाहले बताए । “पानी परिरहेको छ । दिनको तीन जनाको दरले बिरामी परिरहेका छन्,” उनले भने, “औषधी खाएर भए पनि काममा खटिराख्नु भएको छ । धुर्मुस बाबुको उत्साह देखेर हामीलाई थकाइ मार्न मन लागेको छैन ।”
० ० ०
गत वैशाख २८ गतेदेखि गिरानचौरमा केन्द्रित भएकाले समाचार सुन्न र हेर्न त्यत्ति पाएका छैनन् रे सीतारामले ! तैपनि उनले सुनेका छन्, राष्ट्रिय राजनीतिमा राजनीतिक ‘असारे–पन्ध्र’ चलेको छ । सत्ता परिवर्तनको ‘म्युजिकल चेयर’प्रति उनलाई चासो र चिन्ता दुवै छैन । अन्तिममा उनले भने, “भूकम्पबाट बासस्थान गुमाएकाले घर खोजिरहेका छन्, तिमीहरू सरकार देऊ !”
प्रकाशित मिति: आइतबार, साउन १६, २०७३ १३:३८
प्रतिक्रिया दिनुहोस्