काठमाडौं । पाँचौं संस्करणको एभिसी सेन्ट्रल जोन पुरुष सिनियर भलिबल किर्गिस्तानलाई उपाधि सुम्पँदै यसै साता काठमाडौंमा सकिएको छ । एउटै समूहमा रहेको किर्गिस्तान उपाधिसहित स्वदेश फर्किंदा आयोजक नेपालको नतिजा भने खल्लो रह्यो ।
आयोजनाको हिसाबले नेपाल सफल भए पनि नतिजामा भने सफल हुन सकेन । एसियन भलिबल संघको संयोजनमा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाको अवसर पाएको नेपाल भलिबल संघ नतिजामा भने चुकेको छ ।
चार दशकको भलिबल यात्रामा घरेलु मैदानमा नेपाललाई कीर्तिमान रच्ने अवसर थियो । तर भलिबल संघको छोटो समयको तयारीका कारण खेलाडीले आफूलाई प्रमाणित गर्न सकेनन् । त्यसो त भलिबल संघले सेन्ट्रल जोनकै लागि भनेर डच प्रशिक्षक हान एबिङलाई ल्याएको थियो । तर विदेशी प्रशिक्षक एबिङको नेतृत्वमा रहेको नेपालले दुई महिनाको प्रशिक्षणमा आफ्नो स्तर सुधार्न सकेन । त्यसो त कप्तान इम रानाले पनि तयारी छोटो नै हारको कारण बताएका थिए ।
गत भदौमा इन्डोनेशियामा सम्पन्न १८ औं एसियाडपछि अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि जम्मा भएका खेलाडीले घरेलु मैदानको फाइदा उठाउन सकेनन् । केही नयाँ खेलाडीले भविष्यको संकेत गरे पनि सम्झनलायक प्रदर्शन भने गर्न सकेनन् । अनुभवी खेलाडीको प्रदर्शन पनि फितलो रह्यो ।
लगनखेलस्थित नेपाली सेनाको कभर्ड हलमा नेपालले तयारीका लागि प्रतियोगिता सुरु हुन तीन दिनअघि मात्र अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । निकै प्रतिस्पर्धात्मक खेल आफ्नो पक्षमा पारे पनि नेपालको कमजोरी छरपष्ट भइसकेको थियो । नेपाललाई कमजोरी सुधार्न केवल तीन दिनमात्र थियो । त्योबीचमा खेलाडीले प्रयास गरे पनि । तर पूरै सुधार्न नपाई नेपाल प्रतियोगितामा किर्गिस्तानसँग खेल्न पुग्यो ।
घरेलु कोर्ट र दर्शकको भरपुर साथ पाएको नेपालले सोझो सेटमा पराजित भए पनि च्याम्पियन किर्गिस्तानलाई टक्कर दिएको थियो । तर निर्णायक माल्दिभ्ससँगको खेलमा नेपालले लय नै समात्न सकेन । त्यसो त तुलनात्मक हिसावले माल्दिभ्स किर्गिस्तान भन्दा कमजोर टोली हो । माल्दिभ्ससँग पहिलो सेट गुमाएपछि दबाबमा परेको नेपालले दोस्रो सेटमा पुनरागमनको प्रयास गरे पनि सकेन । माल्दिभ्सका लागि निर्णायक सेटमा निकै फितलो प्रदर्शनका कारण नेपाल हार्न पुग्यो । त्यसो त नेपाललाई एकमात्र खेल जिते पनि सेमिफाइनल पुग्ने अवसर थियो । नेपाल रहेको समूहमा तीन टोली मात्र थिए । नेपालले माल्दिभ्सविरुद्ध जित निकाले अन्तिम चारमा स्थान पक्का गर्ने थियो । तर हारपछि पाँचौं स्थानका लागि समूह ‘बी’को शीर्ष तीन टोली अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नुपर्यो । जसमा नेपाल विजयी भएको थियो ।
अफगानिस्तानलाई हराउँदै पाँचौं भएको नेपालले अब मंसिरमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) खेल्नेछ । सागको इतिहासमा पदक जित्न नसकेको नेपालले सेन्ट्रल जोनमा भएका कमजोरी सुधार्दै सागमा पदकलाई केन्द्रित गर्ने तयारी गरेको छ । ४० वर्षीय भलिबल यात्रामा नेपालले ठूलो अन्तर्राष्ट्रिय पदकका रुपमा अहिलेसम्म कास्य पदकमात्र भित्र्याएको छ । २०७० सालबाट सुरु एभिसी सेन्ट्रल जोन भलिबलमा नेपालले साढे दुई वर्षअघि अर्थात् २०७३ सालको चैतमा माल्दिभ्समा सम्पन्न तेस्रो एभिसी सेन्ट्रल जोन भलिबलमा कास्य जितेको थियो ।
हारको कारण के ?
नेपालको यात्रा पाँचौं स्थानमा सकिएपछि विभिन्न तर्क–वितर्क सुरु भएका छन् । तर संघको कमजोरीका कारण नै राम्रो नतिजा ल्याउन नसकेको खेलाडीहरु बताउँछन् । आयोजकको हैसियतले नेपालले लामो तयारी गर्नु आवश्यक थियो । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल पनि उत्तिकै जरुरी थियो । किनकी लामो तयारीले खेलाडी निखारिँदै जाने थिए भने टोलीमा रहेका कमजोरी सुधार्न सजिलो पनि हुने थियो ।
कप्तान इम राना भलिबल संघले थाहा पाउँदा पाउँदै पनि तयारीमा चुकेको बताउँछन् । उनले भने, “संघलाई आयोजनाबारे पहिल्यै थाहा थियो । त्यहीअनुसार तयारीमा लाग्नुपर्ने हो । तर हतारमा दुई महिनाको तयारीले खेलाडीले आफनो क्षमता देखाउन सकेनन् । अन्य टोलीले एभिसी सेन्ट्रल जोनकै लागि महिनौं तयारी गर्दा आयोजकले दुई महिनामात्र प्रशिक्षण गर्नु चाहिँ लाजमर्दो अवस्था हो ।” कप्तान इमले क्याच एक्सपोजर कमीले गर्दा पनि हार्नपुगेको बताए ।
उनले थपे, “माल्दिभ्सले ६ महिनाअघिबाट तयारी सुरु गरेको थियो । बीचमा मैत्रीपूर्ण खेल पनि खेल्यो । तर हाम्रोमा तीन दिनअघि मैत्रीपूर्ण खेल थियो । टोलीमा रहेका कमजोरी सुधार्न समय नै मिलेन्,” कप्तान इमले भने ।
यसपटक टोलीमा अनुभवी खेलाडी मानबहादुर श्रेष्ठ पनि थिएनन् । पहिलो संस्करणबाट सहभागिता जनाइरहेका उनलाई भलिबल संघ आठौं राष्ट्रिय खेलकुदमा सहभागिता नजनाएको भन्दै प्रशिक्षणमा बोलाएन् ।
आठौंलाई नै छनोटको आधार मानेपछि उनी राष्ट्रिय टोलीबाट विमुख भए । विभागिय क्लब त्रिभुवन आर्मीमा आबद्ध उनी त्यसबेला विभागिय कारबाहीमा परेका थिए । मानबहादुरको अनुपस्थिति पनि टोली हार्नुको एक कारण मान्निछ । किनकी उनका स्थानमा खेलाडीले पनि उल्लेख प्रदर्शन गर्न सकेनन् । यद्यपि कप्तान इमले भने मानबहादुर हुनु र नहुनुले टोलीमा केही फरक नपरेको बताएका थिए ।