-1744197300.jpg)
काठमाडौं । व्यावसायिक करियरमा ३३८ खेलसम्म आइपुग्दा डेक्लान राइसले फ्रि किक गोल गरेका थिएनन् । तर, ३३९औँ खेलमा उनले दुई गोल गरे ।
मंगलबार इमिरेट्स रंगशालामा अन्तिम–८ को पहिलो लेगमा रियाल मड्रिडविरुद्ध आर्सनललाई ३–० को सनसनीपूर्ण जित दिलाउन उनले फ्रि–किकमार्फत दुई गोल गरेका थिए । उनले आफ्नो पूरा करियरमै हालसम्म जम्मा १२ पटक फ्रि–किक प्रहार गरेका छन् ।
पाहुना टिमविरुद्ध चर्को दबाब बनाए पनि पहिलो हाफसम्म आर्सनलले अग्रता बनाउन सकेको थिएन । तर, ५८औँ मिनेटमा प्राप्त फ्रि–किकलाई राइसले मड्रिडको वालबाट बल घुमाउँदै जाली चुमाए ।
त्यसको १२ मिनेटपश्चात, २६ वर्षीय राइसले पुनः त्यही कला दोहोर्याए । खेलमा आर्सनलका लागि दोस्रो गोल गर्दै उनी च्याम्पियन लिगको एउटा नकआउट खेलमा फ्रि–किकमार्फत दुई गोल गर्ने पहिलो खेलाडी बने ।
उनको त्यो सनसनीपूर्ण ‘टप कर्नर’ गोल यति सुन्दर थियो कि टोलीका कप्तान मार्टिन ओडेगार्ड र मुख्य प्रशिक्षक माइकल आर्टेटाले विश्वास नै गर्न सकेनन् । उनीहरू केहीबेर आश्चर्यचकित भए ।
‘सेटपिस’मा माहिर ब्राजिल तथा रियाल मड्रिडका पूर्वखेलाडी रोबोर्टाे कार्लाेस पनि प्यारापिटमा बस्दै खेल हेरिरहेका थिए । उनको गोल देखेर कार्लाेस पनि स्तब्ध देखिन्थे ।
“यो कही बिलाएर जान्छ कि खै मलाई थाहा छैन,” खेलपश्चात राइसले भने, “खेलपछि मैले दुवै गोल मोबाइलमा हेरेँ । दुवै प्रहार आश्चर्यजनक थियो । फ्रि–किक पहिलो गोल मेरो लागि सधैँ विशेष नै हुन्छ । जब मैले दोस्रो अवसर पाए म आत्मविश्वासी थिए । म वास्तवमै जवाफविहीन छु । मैले आजको रात जे गरे, यो मसँग सधैँ रहनेछ । यो एउटा ऐतिहासिक रात हो ।”
आर्सनल सेट पिसमा आफ्नो प्रदर्शनका लागि निकै प्रख्यात बनेको छ । तर, पनि सिधै फ्रि–किक प्रहारमा दुई गोल फरक कुरा हो ।
आर्सनलका प्रशिक्षक आर्टेटाले खेलपश्चात सन् २०२१ को सेप्टेम्बरदेखि टोलीले फ्रि–किकमा एउटा पनि गोल गर्न नसकेको बताए । तर, ओप्टाको तथ्यांकअनुसार सन् २०२४ मा बुकायो साकाले पेरिस सेन्ट जर्मन (पीएसजी)विरुद्ध फ्रि–किकमा गोल गरेका थिए ।
सन् २०२१ यता आर्सनलले ७० पटक फ्रि–किकमा सिधा गोलको प्रयास गरेको छ । जसमा ३० पटक ओलेगार्डले प्रहार गरेका थिए ।
रियालसँगको पहिलो फ्रि–किकअघि आर्सनलका ‘सेट पिस’ प्रशिक्षक निकोलस जोभेसले राइसलाई बल ‘क्रस’ गर्न इशारा गरिरहेका थिए । तर, खेलपछि राइसले पहिलो फ्रि–किकअघि आफूले रियालको वालमा खाली ठाउँ देखेको र बुकायो साकालाई आफू विश्वस्त रहेको बताए ।
“यदि आत्मविश्वास महसुुस छौँ भने प्रहार गर,” इंग्ल्यान्डका विंगर साकाले प्रतिक्रिया दिए ।
“मैले त्यो स्थानबाट क्रस गर्नुको कुनै अर्थ थिएन । यो बल क्रस भएको भए विपक्षीले सहजै क्लियर गर्न सक्थे,” राइसले भने, “म खुसी छु , मैले त्यो अवसर लिए किनभने त्यो जादु थियो ।”
प्रशिक्षक आर्टेटाले भने, “उसलाई मन लागे प्रहारका निम्ति उसले दाबी गर्नसक्छ, त्यसले केही फरक पर्दैन । त्यो असाधारण थियो ।”
आर्सनलको पहिलो गोल उसको दबदबाका कारण पाएको थियो । तर, अझ राम्रा अवसरहरू बन्न बाँकी नै थियो ।
एलन सेररले उक्त गोल निकै राम्रो रहेको प्रतिक्रिया दिँदा रियाल मड्रिडका पूर्वमिडफिल्डर क्लारेन्स सेडोर्फले ‘सुपर म्यानले पनि भेट्न नसक्ने’ बताए ।
“त्यो अलि पर देखिन्थ्यो । प्रहारका निम्ति म र ओडेगार्ड तयार थियौँ । तर, एमबाप्पे हामी नजिक थिए,” उनले थप भने ।
“मैले गोलकिपरको क्षेत्र भेट्टाएको महसुस गरे । यसका निम्ति मैले धेरै अभ्यास गरेको थिए । म यसरी प्रहार गर्न गइरहेको थिए । म त्यो प्रहार गर्छु नै भनेर गएको थिए । यदि उक्त प्रहार बारभन्दा माथि गएको भए पनि केही फरक पर्दैन थियो,” उनले भने, “म उत्साहित र खुसी छ । अहिले चन्द्रमा भन्दा पनि माथि । अबको केही वर्षमा यसले मलाई निकै छुनेछ । मैले त्यो दिन यस्तो पनि गरेका थिए भन्ने सोच्नेछु ।”
आर्सनलको जर्सीमा राइसको यो हालसम्मकै ठूलो र यादगार पल हो । तर, प्रशिक्षक अर्टेटा र मिडफिल्डर मिकेल मारिनोका निम्ति भने यो अच्चमको विषय थिएन । मारिनो त्यही खेलाडी हुन्, जसले रियालविरुद्ध तेस्रो गोल गरेका थिए ।
“यदि यस्तो क्षमता भएको खेलाडी कोही छ भने त्यो डेक्लान नै हो । तर, यसका निम्ति खेलाडीले उच्चस्तरमा र विश्वकै उत्कृष्ट गोलकिपरविरुद्ध फिनिसिङ गर्नुपर्छ । यो आश्चर्यजनक थियो ।”
‘बर्नबेउमा विशेष कुरा हुन्छ’
पहिलो लेगमा ३–० को जितले बर्नबेउमा अप्रिल १७ मा खेल्नुअघि आर्सलनलाई बलियो स्थितिमा राखेको छ ।
इंग्लिस टिमले च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा ३–० वा सोभन्दा माथिको जित निकालेको यो १२औँ पटक हो । यसअघिका ११ नतिजामा पहिलो लेगमा जित निकालेका सबै इंग्लिस टिमले सेमिफाइनल यात्रा तय गरेका छन् ।
तर, रियाल बर्नबेउमा रियालको प्रदर्शन सधैँ उत्कृष्ट हुने गर्दछ । सन् २०२२ मा म्यानचेस्टर सिटीविरुद्ध समग्रमा ५–३ ले अघि रहँदा पनि अन्तिम मिनेटमा जित निकालेको थियो ।
“रियाल मड्रिडलाई यस प्रतियोगितामा हराउनु हाम्रो लागि ठूलो उपलब्धि हो । तर, हामी ३–० ले अगाडि रहे पनि रियालका खेलाडीको व्यक्तिगत क्षमता डरलाग्दो छ । बर्नबेउमा उनीहरूका लागि विशेष कुरा भएको छ । हामी यो प्रतियोगिता जित्न चाहन्छौँ, तर त्यसको एकपटकमा एक खेल जित्नुपर्छ ।”