गाउँका प्रतिनिधिलाई पिर्कामा उभिएर सलामी खाने रहर जागेको समाचार दिनहुँजसो आइरहेका छन् । कतै खेलका बीचमा सलामी लिन्छन् त कतै खेतमा पनि सलामी लिइरहेका हुन्छन् । बेला न कुबेला सलामी थाप्ने रहर गर्नेहरूमा धेरैजसो गाउँपालिकाका अध्यक्ष, नगरपालिकाका प्रमुख, प्रदेश सरकारका मन्त्री, मुख्यमन्त्रीहरू देखिन्छन् । त्यसो त उकाध केन्द्र सरकारका मन्त्री पनि पिर्के सलामीका भोका देखिएका छन् तर सलामीलाई साह्रै सस्तो र लाजैमर्दो बनाउनेमा भने स्थानीय र प्रदेश सरकारका निर्वाचित प्रतिनिधि नै बढी छन् । ठाउँ न ठहर सलामीको रहर गर्नेहरूले आफू दुनियाँका सामु उपहासको पात्र भएको थाहा पाएका होलान् कि नहोलान् ? यिनीहरूको उपहास त चिन्ताको विषय हैन तर त्यसले संघीय लोकतन्त्रप्रति नै जनतामा वितृष्णा उत्पन्न गरेको छ ।
विलास, हैकम र द्रव्यको मोह अहिलेका निर्वाचित प्रतिनिधिमा पाइने साझा प्रवृत्ति हुन पुगेका छन् । अपवाद धेरै होलान् तर देखिएको यही हो । उनीहरू आफूलाई निर्वाचित गरेर पदमा पुर्याउने मतदातालाई रैती ठान्छन् । आफूलाई विशिष्ट देखाउनकै लागि ठाउँ न ठहर सलामी लिने रहर गरेको हुनुपर्छ । यस्तै प्रदेश सरकार र स्थानीय तह सबैका प्रतिनिधिमा पाइने साझा गुण विलासी गाडीहरूको मोह पनि हो । स्थानीय तहको निर्वाचनपछि गाडी किन्ने होडले संघीय शासन प्रणालीकै बदनाम भएको छ । प्राकृतिक स्रोतको दोहन र दुरुपयोगमा पनि स्थानीय तहका जनप्रतिनिधिको संलग्नता लभगभ देशभर देखिएको छ । ठेकेदार र जनप्रतिनिधिबीच भेद भेट्टाउनै नसकिने गरी मेटिएको छ । यो लोभबाट भएको लाभले यिनकोे विलाप पक्कै हुन्छ तर अहिल्यै अनुमान गर्न भने सहज देखिँदैन ।
अर्को निर्वाचनमा जनताले कुरा बुझे भने यिनीहरूलाई सजाय पक्कै दिनेछन् । अहिले जेनतेन जोगिए पनि अर्कोपटक निर्वाचित नभए र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा इमानदार तथा निर्भीक पदाधिकारी नियुक्त भए भने यिनीहरूमध्ये धेरै भ्रष्टाचार र अख्तियार दुरुपयोगको मुद्दा लाग्नेछ । तर, त्यसभन्दा पनि ठूलो सजाय त यिनले लोकतन्त्रको बदनाम गरेकोमा पाउनुपर्छ । जनताको विश्वासमा कुठाराघात गरेकोमा यिनलाई सजाय हुनुपर्छ । जनप्रतिनिधिलाई सेवाको प्रतिमूर्तिबाट हैकम, विलास र भ्रष्टाचारको पर्याय बनाएकोमा जनताले यिनको हिसाबकिताब गर्नुपर्छ । विलासी गाडी र ठाउँ न ठहर सलामी लिने रहर सामन्ती संस्कारको घीनलाग्दो अनुकरण पनि हो । यसैगरी राज्यको साधनस्रोतको दोहन गर्न लाज र डर नमान्ने प्रवृत्ति पनि सामन्ती प्रवृत्ति नै हो । दुर्भाग्य, लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित प्रतिनिधि सामन्ती संस्कारका भरिया हुन पुगे । अझै बेला छ । जनप्रतिनिधिहरूले आफूलाई सच्याएर संघीयता र लोकतन्त्रप्रति जनतामा वितृष्णा बढ्न नदिऊन् । नत्र, इतिहासमा यिनीहरू हाँगामा बसेर फेद ढाल्ने ‘कालीदास’ ठहरिनेछन् ।