आधुनिक नेपालको राजनीतिक र सामाजिक जागरणसँग जोडिएको मोरङको विराटनगरस्थित विख्यात ‘कोइराला निवास’को रेखदेखमा खटाइएका सुरक्षाकर्मी सरकारले हटाएको छ । पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निवासका रूपमा कोइराला निवासमा सुरक्षा दिन सरकारले सुरक्षाकर्मी खटाएको थियो । उनको निधन भइसकेकाले त्यहाँबाट सुरक्षाकर्मी हटाइएको तर्क सरकारी पक्षले दिएको छ । यद्यपि, पूर्वप्रधानमन्त्री कोइरालाको निधन भएको भएको करिब दस वर्षसम्म त्यहाँ सुरक्षाकर्मी खटाइएका थिए । जेहोस्, सत्य के हो भने कोइराला निवासमा अब सरकारी सुरक्षाकर्मी तैनाथ छैनन् । कोइराला निवासबाट सुरक्षाकर्मी हटाइएकोमा नेपाली कांग्रेसले आधिकारिकरूपमा केही प्रतिक्रिया दिइसकेको छैन । तर, मोरङका कांग्रेस नेताहरूले असन्तुष्टि प्रकट गरेको र यसलाई सरकारी प्रतिशोधका रूपमा हेरेको समाचार सार्वजनिक भएका छन् । संयोग, माओवादीले बम हानेपछि राज्यले कोइराला निवासमा खटाएको सुरक्षाकर्मी पूर्वमाओवादी नै गृहमन्त्री रहेका बेला हटाइएको छ ।
कांग्रेसका नेता कार्यकर्तामात्र हैन नेपालको लोकतान्त्रिक आन्दोलनमा संलग्न धेरैको भावनात्मक लगाव भएको ‘कोइराला निवास’लाई सरकारले उपेक्षा गरेको सन्देश प्रवाह हुँदा चित्त दुख्नु स्वाभाविकै हो । विराटनगरको कोइराला निवासको नेपालको राजनीतिमा विशिष्ट स्थान छ । यसै निवासबाट देशका तीन जना प्रधानमन्त्री भएका छन् । तर, त्यसभन्दा पनि कोइराला निवास नेपालको राजनीतिक र सामाजिक जागरण तथा मोरङको शैक्षिक उन्नतिका जनक पिताजीका नामले विख्यात कृष्णप्रसाद कोइरालाको निवासका रूपमा यसको महत्त्व छ । यस निवासको प्रसंगविना नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहास पूरा हुँदैन । यसैले कोइराला निवास राष्ट्रकै धरोहर हुनुपथ्र्यो । विडम्बना, कोइराला निवासलाई यसको गरिमाअनुसार ‘लोकतान्त्रिक तीर्थ’का रूपमा विकास गर्ने प्रयास भएन । लोकतान्त्रिक आन्दोलनमा लागेका सबैले अपनत्व अनुभव गर्ने र सबैका लागि सधैँ खुला रहने ‘कोइराला निवास’ नामको सामान्य घरको असामान्य र ऐतिहासिक महत्त्व बुझ्ने प्रयास भएन । अहिले त सरकारले कुनै एकजना पूर्वप्रधानमन्त्रीको निजी घरलाई जस्तै व्यवहार गरेर त्यहाँबाट सुरक्षाकर्मी हटायो ।
‘कोइराला निवास’ हुनुको महत्त्व पिताजीकै सन्तान र त्यहीँबाट हुर्केको नेपाली कांग्रेसले नबुझेपछि शासकहरूले उपेक्षा गरेकोमा के चित्त दुखाउनु ? यद्यपि, यस्ता महत्त्वपूर्ण ऐतिहासिक धरोहरहरूको संरक्षण गर्ने दायित्व भने राज्यकै हो । ‘कोइराला निवास’ २००७ सालको जनक्रान्तिपूर्व त राजनीतिकको केन्द्र थियो नै २०१७ पछिको निरंकुश शासनकालमा पनि लोकतन्त्रवादीका लागि आश्रयस्थल रहेको थियो । काठमाडौंको चाक्सीवारी पनि लोकतान्त्रिक आन्दोलनका लागि ऐतिहासिक महत्त्वको ठाउँ हो । यस्ता ठाउँ अरू पनि छन् । तर, ती सबैमा कोइराला निवासको स्थान अलग्गै र विशेष छ । पञ्चायतको ३० वर्ष गुप्तचरीबाहेक राज्यले कोइराला निवासको उपेक्षा नै गरेको थियो । त्यतिबेला कोइराला निवासको महत्त्व त्यहाँ बुहारीका रूपमा भित्रिएका गृहिणी र तिनका सहयोगीले जोगाएका हुन् । यसैले नेपाली कांग्रेसका अहिलेका नेताहरूमा अलिकति पनि इतिहास चेत भए कोइराला निवासको संरक्षणको जिम्मा कांग्रेसले नै लिनुपर्छ ।
अहिले बाँकी रहेको भवन र परिसरको संरक्षण गर्न सघाउनु पिताजीका सन्तानको पनि कर्तव्य हो । यद्यपि, सबैभन्दा उत्तम त यसलाई विराटनगर महानगरपालिकाले वा प्रदेश नम्बर एकको सरकारले नै संरक्षणको प्रबन्ध मिलाउनु हुन्थ्यो । कम्तीमा नेपाली जाति कृतघ्न ठहरिनबाट जोगिने थिए । विराटनगरको त विकास पनि पिताजीले नै गरेका हुन् । विराटनगरको ऐतिहासिक स्थलका रूपमा पनि यसको संरक्षण गर्नु विराटनगर महानगरपालिकाको कर्तव्य हो । नेपालको लोकतान्त्रिक संघर्षको संग्रहालयको रूपमा कोइराला निवासको विकास गर्न सके संसारभरका लोकतन्त्रका अध्येताका लागि पनि यो आकर्षणको केन्द्र हुनेछ । ऐतिहासिक ‘कोइराला निवास’बाट सुरक्षाकर्मी हटाएर सरकारले पिताजीका सन्तान, नेपाली कांग्रेस, प्रदेश १ को सरकार, विराटनगर महानगरपालिका सबैलाई चुनौती दिएको छ । हेरौँ सबै मिलेर वा एक्लाएक्लै पनि कोइराला निवासको महत्त्व जोगाउन यिनीहरू कति सफल हुनेछन् ?