नवलपरासीको कावासोतीस्थित शिव माध्यामिक विद्यालयमा कक्षा ७ मा पढाउँदा पढाउँदै पढाउन रोकेर शिक्षक सुवास भुषाल भन्थे, “ल, आज यो लम्साल (हरि)को गीत सुन्ने ।”
थोरै उत्साह तर धेरै लाज अनुहारमा देखाउँदै हरि उठ्थे र गीत गाउन थाल्थे । रेडियो नेपालमा नारायण गोपाल, भक्तराज आचार्य, रामकृष्ण ढकालका गीत बज्थे । तिनै गीत सुनेका हरि पनि तिनै गीत गाइदिन्थे ।
रामकृष्ण ढकालका ‘ओराली लागेको’ ‘मन पराउने हजार भेटिन्छन्’ गीत चर्चामा थिए ।
‘यो सम्झिने मन छ’, ‘मुटु जलिरहेछ’, ‘गोरेटो त्यो गाउँको’, ‘हजार सपनाहरुको’ रेडियोमा छिनछिनमै बज्थे । त्यसैलाई हुबहु गाउने हरिको प्रयास हुन्थ्यो । सुवास ‘राम्रो गायौ’ भन्थे । साथीहरु उत्साह थप्थे । हरिको उत्साह उचालिएर धरहराको टुप्पो नाघ्थ्यो ।
०५६ मा एसएलसी दिए । नतिजाले उच्च शिक्षाका लागि बाटो खोलिदियो । साथीहरु कोही साइन्स, कोही आर्ट्स, कोही कमर्स पढ्ने कुरा गर्न थाले ।
हरिचाहिँ ?
उनलाई अन्योल भयो ।
शिक्षक र साथीहरु कस्तो राम्रो तेरो स्वर भनेर हौस्याउँथे, उनी दङ्ग पर्थे । मनोरञ्जनका लागि मात्रै गाउँदै आएका हरिलाई लाग्यो, म संगीत पढुँ ? घरमा त सल्लाह गर्नैपर्यो ।
बुबाआमा वृद्ध थिए । दाइ जागिरको सिलसिलामा घर बाहिर । दमका रोगी बुबालाई कसरी छोडेर हिँड्नू ? एक मनले मान्दैन थियो । अर्को मनले भन्थ्यो– मन लागेको पनि पढ्न नपाउनू ? अन्तरसंघर्ष चल्थ्यो मनमा ।
आँट गरे । जे त होला एकपटक सोध्छु, कतै जा भनि पो हाल्नुहुन्छ कि ।
तर, बुबाआमाले भने, “यस्तोे अवस्थाका हामीलाई एक्लै छोडेर कसरी जान्छस् तँ काठमाडौं ?”
डाँडाको जुन बनेका रोगी बाआमालाई छोडेर जानुहुन्न भन्ने मनले भन्थ्यो तर आफ्नो सुदूर भविष्यलाई सम्झिँदा लाग्थ्यो– हैन मैले भोलिका दिनका लागि आज केही स्वार्थी हुनैपर्छ ।
संगीतको भूत झन् सवार भयो । काठमाडौं जानैपर्छ भन्ने लाग्न थाल्यो ।
यद्यपि उनले गाउँकै कुमारवर्ती वाणिज्य क्याम्पसमा भर्ना गरेर पढ्न थाले । तर, उनको मन थामिएन । संगीत सिक्ने छटपटिले उनलाई बेचैन बनाइरह्यो ।
“कहिले काठमाडौं जाऊँ र संगीत सिक्न थालौं भन्ने मात्रै हुन्थ्यो । गाउँमा पढ्न मनै लाग्न छोड्यो,” हरि भन्छन्, “संगीतप्रतिको झुकाव बढ्दै गयो । पढाइमा मन हराउँदै गयो । काठमाडौं कहिले जाने भन्ने छटपटिले सताइरहन्थ्यो ।”
एकाएक उनले एकल निर्णय गरे,– म काठमाडौं जानुपर्छ । सल्लाहमा बुबाआमाले मानेनन् । भागेर जानुको विकल्प भएन ।
दाइले हरिलाई भर्खरै २७ सयमा नयाँ साइकल किन्दिएका थिए । उनले त्यसलाई १६ सयमा बेचे । बेलुकाको खाना खाएर बुबाआमा र दिदी सुते । हरिले झोलामा लुगा हाले । साइकल बेचेको १६ सय खल्तीमा राखे । बिरालोका चालमा साढे ११ बजे घरबाट सुटुक्क बाहिर निस्किए । र, चढे, काठमाडौंको नाइट गाडी ।
०५६ को माघ महिनाको एक दिन । दुई दशकपछि हरि सम्झिन्छन्, “काठमाडौं त हिँडियो तर आफन्त कोही छैन । कस्तो होला काठमाडौं, कस्ता होलान् त्यहाँका मान्छे, म्युजिक पढ्न पाइन्छ कि पाइँदैन डर लागिरह्यो ।”
तर कहाँ पढ्ने भन्ने उनलाई थाहा थियो । कान्तिपुुर साप्ताहिकमा एउटा विज्ञापन आउँथ्यो,– सरगम कला केन्द्र बागबजारमा संगीत विशेषज्ञ श्रीराम आचार्यद्वारा क्लासहरु धमाधम लिइँदैछ । सिट सीमित छ, छिटो गर्नुहोला ।
गाडीले बिहान बसपार्कमा ओराल्दियो । नारायणघाट नतरेका हरि काठमाडौं आइपुगे । चारैतिर घर, कमिलासरि गाडी, पहाड जत्रा घर, किरासरी मान्छे । तर न कोही चिनेको छ, न कोही आफन्त नै छ ।
बल्ल उनी झसङ्ग भए म किन आएँ ? कहाँ बस्ने, के गर्ने, कसरी चल्ने यो विशाल काठमाडौं सहरमा ? प्रश्नै प्रश्नले घेरिए । दिमाग शून्य भयो ।
तर पनि गोल त गर्नु नै थियो । उद्देश्यको फेरो त समाउनु नै थियो ।
उनले बागबजार जाने गाडी पत्ता लगाए । बागबजारमा आएपछि सरगम कला केन्द्र पत्ता लगाए ।
संगीत सिक्न आएको बताए । एडमिसन गर्नुपर्छ भनेपछि तीन सय रुपैयाँ निकालेर दिए । फि पनि तिर्नुपर्छ भनेपछि अर्को चार सय रुपैयाँ पनि दिए । र, सरगम कलाकेन्द्रबाट निस्किए ।
पढ्ने ठाउँ त पत्ता लाग्यो तर बस्ने कहाँ ? ठेगान थिएन । जाने कहाँ ? उनी बसपार्क नै गए । “कोही थिएन बसपार्कमा मेरो । तर म पहिलोपटक गाडीबाट ओर्लिएको र पहिलोपटक देखेकाले होला, सायद मलाई बसपार्क आत्मीय लाग्यो र त्यहीँ फर्किएँ,” हरि काठमाडौंमा जिन्दगीको पहिलो दिनको कथा सुनाउँछन्, “सबैभन्दा सस्तो गेष्टहाउस कहाँ छ खोजेर बसेँ । जहाँ दुईतीन जना अरु पनि थिए । सायद म जस्तै सस्तो गेष्ट हाउस खोज्दै उनीहरु पनि त्यहाँ आइपुगेका थिए ।”
भोलिपल्ट शनिबार थियो । बिदाको दिन । हरिका लागि त्यो शनिबारको दिन जिन्दगीकै सबैभन्दा लामो दिनजस्तो लाग्यो । आइतबार पहिलो दिनको म्युजिक क्लास । चिनेको कोही छैन । दुःख बिसाउने कोही थिएन । हरि उसैगरी बसपार्क गएर बसे ।
दोस्रो दिन राजेश विश्वकर्मासँग कक्षामै उनको चिनजान भयो । हरि सहाराविहीन भएको थाहा भएपछि राजेशले उनलाई आफ्नो कोठामा लिएर गए । परिवारसहित बसेका राजेशलाई पनि सहज थिएन । चार–पाँच दिन बसेपछि हरिलाई अरुका लागि बोझ भएर बस्नु हुँदैन भन्ने लाग्यो । उनी निस्किए । फर्किएर उनी बसपार्क नै गए ।
“बसपार्कमा बसिरहेको थिएँ । मनमा अनेक तर्कना थियो । एक जना झुत्रेझाम्रे लुगा लगाएर ब्याग बोकेर आइरहेको व्यक्ति देखेँ । गाउँबाटै आएको हुनुपर्छ जस्तो लागेर मैले उहाँलाई बोलाएँ । मेरै उमेरको उहाँ कैलालीबाट आउनु भएको रहेछ । बासुदेब मैनाली उहाँको नाम रहेछ,” हरि नोस्टाल्जिक हुन्छन्, “चिनजान भयो । दुबैले काठमाडौं आउनुको कारण बतायौं । मैले संगीत सिक्न आएको सुनाएँ । उहाँले तपाई गाउनुहुन्छ भनेर सोध्नुभयो । मेलै गाउँछु भनेँ । उहाँले एउटा गीत गाउनुस् त भन्नुभयो । मैले गाएर सुनाएँ । कस्तो राम्रो गाउनुहुँदोरहेछ भन्नुभयो । उहाँले म पनि गाउँछु नि भनेर नारायण गोपालका दुईटा गीत गाउनु भयो । कहाँ बस्नुहुन्छ भनेर सोध्नुभयो । मैले बस्ने ठेगान नभएको बताएँ । उहाँले मेरो पनि यहाँ त्यस्तो कोही आफन्त त छैनन् । तर मितिनी दिदी हुनुहुन्छ । त्यहाँ जाऊँ न त भन्नुभयो । म उहाँसँगै गएँ ।”
मितिनी दिदी गलैैँचा बुन्ने काम गर्दिरहिछन् । आर्थिक अवस्था कमजोर । अरुको बोझ बनेर बस्नुहुन्न अब निस्किन्छु भन्ने हरिले सोचिरहेका बेला उनलाई घरबाट फोन आयो ।
“म काठमाडौंमा छु भन्ने थाहा भएछ । संयोग त्यहीबेला भिनाजुले खानेपानी संस्थानमा नाम निकालेर लाजिम्पाट आउनु भएको रहेछ । भिनाजुसँग बस्दै गर्, पछि म आएर व्यवस्था मिलाउँछु भन्नुभयो दाइले,” हरि काठमाडौंमा संघर्षका क्षण स्मरण गर्छन्, “पछि दाजु आएर उहाँको साथीसँग बस्ने व्यवस्था मिलाएर जानुभयो ।”
सरगम कलाकेन्द्रमा एक महिना सिकेका थिए । संगीतकार चण्डीप्रसाद काफ्लेसँग भेट भयो । काफ्लेको घर पनि हरिको घरसँगै थियो । उनले गान्दर्भ संगीत विद्यालयमा आऊ यहाँ राम्रो छ भने । होला त ! भनेर हरि उतै लागे ।
गुरु चन्दनकुमार श्रेष्ठसँग हरिले छ वर्ष संगीतको साधना सिके । राग अलापे । स्वर माझे ।
तिर्थराज वस्ताकोटी नाताले भिनाजु पर्थे । ०५८ मा उनले एक दिन भने, “तिमी संगीत गर्न सक्छौ ? मसँग एउटा गीत छ, यसमा संगीत गर है त ।” हरिले हुन्छ भने । संगीत गरे । सुनाए । तिर्थराजलाई राम्रो लागेछ । भने, “सबै खर्च म गर्छु, तिमी नै गाऊ । यसका लागि तयारी गर ।”
अवसर थियो । नाईं किन भन्नु ?
हुन्छ भनिदिए हरिले ।
एरेन्जमेन्टको काम भयो । ट्रयाक रेडी भयो । संगम स्टुडियो कमलपोखरीमा हरि गाउन छिरे ।
अचानक हरिलाई खै के भयो, आफूले सिक्न अझै धेरै बाँकी नै छ जस्तो लाग्यो । गाउने बेला भएको छ भन्ने उनलाई लागेन । उनले त्यो गीत गाएनन् । हरिलाई सुरुमै राम्रो स्वर भएको गायकको छवि बनाउनु थियो ।
त्यो बेला गायकका रुपमा चर्चामा थिए, अहिलेका संगीतकार सुरेश अधिकारी । उनलाई बोलाएर हरिले गीत गाउन लगाए । उनको पहिलो कम्पोज थियो त्यो । जुन चलेका गायकले गाएका थिए, बोल थियो, ‘नरुनू प्रिय’ ।
चर्चाका हिसाबले त्यो गीतले बजारमा ठूलो स्थान त पाएन । तर, सांगीतिक वृत्तमा राम्रै भयो ।
संगीतमा साधना पुगेकै थिएन । हरि इन्डियाको पुनामा तीन वर्ष संगीत सिक्न गए । पुनामा तीन वर्ष पढेर फर्किएपछि अध्ययनभन्दा पनि गीतसंगीत सिर्जनाको बाटोतर्फ केन्द्रित भए हरि ।
०६२ मा अहिलेका संगीतकार श्रीकृष्णबम मल्लसँग उनको भेट भयो । त्यो बेला उनी गीतकारका रुपमा परिचित थिए । श्रीकृष्णले भने, “मैले पनि गीत लेखेको छु । कम्पोज गरिदिनू न ।”
गीत हरिलाई मन पर्यो । कम्पोज गरे । रियाज म्युजिकले लगानी गर्ने भयो । ‘प्रवेश’ नामक गीति एल्बम तयार गर्ने भए । लोक गायक माधव भण्डारी र हरिले स्वर भरे । त्यो नै हरिको पहिलो एल्बम थियो ।
त्यसपछि हरिले भेटे, कृष्ण केसीलाई । कृष्णले ‘आफ्नो मन’ एल्बम तयार गर्ने भए । आठ वटा गीतमा हरिले चार र सुरेश अधिकारीले चारवटा गीतमा संगीत भरे ।
‘आफ्नो मन’ले संगीत बजारभित्रका व्यक्तिको हरिले मन जिते । नेपाली संगीतमा एक जना अर्को राम्रो संगीतकार आएछ भन्ने भयो ।
‘नजाऊ टाढा तिमीलाई मेरो माया भयो झन् गाढा’ लगायत त्यो एल्बमका गीत हिट भए ।
हार्मोनियममा मेलोडी निकाल्न अभ्यस्त भइसकेका थिए उनी । हरिसँग आइपुगे आनन्द कार्की । चलचित्रका गीतमा पनि उनले संगीत भर्न थाले । ‘जयशिव शंकर’का सबै गीतमा हरिले नै अवसर पाए । अरु चलचित्रका लागि यसले ढोका खोलिदियो उनलाई ।
अनामनगरको स्थायी रेकर्डिङ स्टुडियोमा हरि काम गरिरहेका थिए । उनलाई गीतकार राजुबाबु श्रेष्ठले फोन गरे । उनले आफ्नो परिचय दिँदै हरिको ‘कसले सुरुआत गर्यो होला यो माया भन्ने चिज’ र ‘नजाऊ टाढा’ आफूलाई असाध्यै मन पर्नेभन्दै सँगै काम गर्ने मन रहेको बताए । भेटेर सल्लाह गरौं भने ।
राजुबाबु नाम चलेका गीतकार । हरिले नाईं भन्ने कुरै थिएन । पानी परिरहेको थियो । छाता ओडेर त्यतिबेलै राजुबाबु हरिलाई भेट्न स्टुडियो आइपुगे ।
पहिलो भेटमै उनले गीत देखाए । हरिले गीत हेरे । शब्द हेर्नेबित्तिकै हरिलाई मन पर्यो । ‘स्याड सङ’मा अक्सर कसैले कसैलाई छोडेर गएको, एकले अर्कोलाई दोष लगाइएको हुन्छ । तर उनको गीत त्यस्तो थिएन । चलनचल्तीको भन्दा बिलकुल फरक लाग्यो हरिलाई । हरिले राजुबाबुलाई भने, “माथिल्लो स्तरको यो सिर्जनालाई म न्याय गर्न सक्छु या सक्दिन थाहा छैन । तर कोसिस भने गर्छु ।”
शब्द लिए । शब्द लिएको तीन दिनपछि कम्पोज सकेर राजुबाबुलाई बोलाएर सुनाए । उनलाई पनि मन पर्यो ।
गाउन कसलाई दिने ?
रजिना रिमाल क्लिक भइन् । उनलाई पनि गीत मन पर्यो, गाइन् । जेन्ट्स भर्सनमा मनोजराजले गाए ।
‘पानीको फोका’ गीत बजारमा आयो ।
गीत लोकप्रिय भयो । आमस्रोता माझ संगीतकारका रुपमा हरि लम्सालको परिचय बन्यो । विस्तारै स्वरभन्दा पनि संगीतकारका रुपमा उनको छवि बन्दै गयो । उनलाई पनि आफू गायनभन्दा गीतका शब्द–शब्द केलाएर त्यसमा संगीतका सुर मिलाउनै जन्मिएको भन्ने लाग्न थाल्यो ।
गीतकार कृष्ण केसीले भने, “हरि, फत्तेमान राजभण्डारीसँग काम गर्नुपर्यो ।” फत्तेमान राजभण्डारी नेपाली सांगीतिक उद्योगका एक खम्बा । उमेरले सिनियर । हरि २५ वर्षको फुच्चे । कसरी गर्ने प्रस्ताव ?
हरि र कृष्ण दुई जना फत्तेमानकोमा गएर भने, “हजुरसँग काम गर्ने हाम्रो ठूलो धोको छ । हजुरले हाम्रो गीत गाइदिनुपर्यो ।”
फत्तेमानले भने, “पहिला गीत सुनौं, गीत मन पर्यो भने कम्पोजिसन सुनौं । मन पर्यो भने गरौं ।” बच्चामै रेडियो नेपालमा गीत सुनेका लिजेन्ड गायक फत्तेमानका लागि संगीत भर्नु पहाड चढ्नुभन्दा कठिन थियो हरिका लागि । छटपटी भयो उनलाई । कस्तो कम्पोज गरेको पो भन्ने हुन् कि, यस्तो पनि हुन्छ ? भन्दिए भने ?
हतासमा थिए हरि । तर अवसर पनि त थियो । उनले कम्पोज गरे । आठ–दश जनालाई सुनाए । सबैले राम्रो छ भनेपछि हरि फत्तेमानको घर पुगे । फत्तेमानको अगाडि हार्मोनियम रेट्दा उनका हात लगलग काँपे तर पनि उनले सुनाए, ‘के ल्यायौ र जन्मिँदा के लान्छौ र मर्दा एकदिन सबै हुने हो खरानी ।’
डराई–डराई सुनाएको गीतको कम्पोज नसकिँदै फत्तेमानले भने, “ल एकदमै राम्रो छ । म गाउँछु ।” “यो वाक्य सुन्दा म यति खुसी भएँ, संसार जितेजस्तो लाग्यो,” त्यो खुसीको बयान गर्दा अहिले पनि उनको मुहार उत्तिकै चम्किलो हुन्छ ।
अमेरिका पुगेका कृष्णलाई हरिले खुसीको खबर सुनाए । कृष्णले भने– कि उहाँसँग एउटा एल्बम नै गर्ने त ?
हरिले प्रस्ताव गरे ।
फत्तेमानले भने, “हुन्छ गर्दै जाउँ न त । तर म बूढो मान्छे बिरामी परिरहेको हुन्छु । तपाईंहरुले भनेको समयमा स्टुडियो आउन सक्तिन होला । जति कम्पोज गर्नुहुन्छ, ल्याउँदै जानुहोला । भ्याइएछ भने एल्बम नै गरौंला ।”
सात वटा गीत रेकर्ड भए । आठौं गीतका लागि उनले स्टुडियो टाइम पनि दिएका थिए, “स्टुडियोको डेट लिनुस् पर्सी रेकर्ड गर्नुपर्छ ।”
कृष्ण र हरिले काम सुरु गरेको पाँच वर्षमा फत्तेमान एकाएक बिरामी परे । बिरामले फत्तेमानलाई छोडेन । आठौं गीत उनले रेकर्ड गर्न पाएनन् । देहावसान भयो । सात वटा गीत समावेश गरेर ‘अपुरो मन’ एल्बम निकालियो ।
रामकृष्ण ढकालले गीतकार प्रह्लाद शाहको गीत ल्याएर कम्पोज गर्न हरिलाई दिए । प्रह्लादको शब्दमा रामकृष्णका लागि हरिले कम्पोज गरे । कम्पोज सुन्न प्रह्लाद आए । कम्पोजमा डमी भ्वाइस हरिकै थियो । हरिले कम्पोज सुनाए । मेरो लागि एउटा गीत गाइदिनुपर्यो तपाईंले ।”
रिक्वेस्ट धेरै भएपछि हरिले पनि हार्न सकेनन् । भने, “मेरो स्वरलाई सुट हुने लिरिक्स र कम्पोज भयो भने गाउँला नि त ।”
करिब एक वर्ष अगाडि प्रह्लादले उनलाई गीत पठाए ‘परानै दिन्छु’ । दैनिक उनीसामु आउने गीतभन्दा फरक शब्द लाग्यो उनलाई । यसमा चाहिँ आफैँ गाउनुपर्छ कि भन्ने रहर लाग्यो ।
लोक फ्लेबर राखेर गर्न सके राम्रो हुन्छ कि भन्ने सोच आयो । करिब डेढ महिना लगाएर कम्पोज गरे । डमी बनाएर पठाए ।
प्रह्लादले भने, “राम्रो भएछ । यसलाई फटाफट काम गर्नुपर्यो ।”
आर्थिक चाँजोपाँजो उनैले मिलाइदिए ।
हरिलाई डुयट गर्दा राम्रो हुन्छ जस्तो लाग्यो । प्रह्लादलाई भने ।
प्रह्लादले भने– जसरी राम्रो हुन्छ, त्यसैगरी गर्नुस् ।
डुयटको फर्म्याटमा ढाले । मेलिना राईलाई आग्रह गरे । मेलिनाले गाइन् ।
हरिले पछि आफ्नो भाग गाए । ‘परानै दिन्छु’ अडियो त तयार भयो ।
तर, भिडियो ?
बनाउने कुरा भयो ।
निर्देशन निकेश खड्काले गर्ने भए । कलाकार छान्ने जिम्मा उनकै थियो । दयाहाङ र लक्ष्मी बर्देवा रोजाइमा परे । दयाहाङ राई चलचित्र ‘साईंली’को प्रोमोशनमा व्यस्त थिए । उनलाई कुर्दा दुई महिना बित्यो । अन्ततः भिडियो पनि तयार भयो ।
“गीत तयार पर्दा मैले गीत मन पराइन्छ भन्ने त सोचेको थिएँ तर यति धेरै लोकप्रिय होला भन्नेचाहिँ सोचेकै थिइन,” अन्तिममा हरिले भने, “गीतभन्दा भिडियो झन् राम्रो बन्यो । सबैले मन पराइदिनु भयो ।”