संविधान प्रदत्त अधिकारसमेत उपभोग गर्न नपाएकोमा प्रदेश सरकारहरूले गुनासो र आक्रोश प्रकट गर्दैआएका छन् । प्रदेश व्यवस्थापिकाको निर्वाचनपछि प्रादेशिक संरचना तयार भइसक्ता पनि प्रदेश सरकारहरूको प्रभावकारी उपस्थिति कतै देखिएको छैन । अरू त अरू, सातमध्ये चार प्रदेशले त नामाकरण गर्न र प्रदेशको राजधानी तोक्नसमेत सकेका छैनन् । यस्तो अनिर्णयको अवस्थामा रहेका प्रदेश सरकारहरूलाई संघीय सरकारको विशेषगरी कर्मचारीतन्त्रले हेप्नु अस्वाभाविक हैन । हुनत, निर्णायक हुन नसकेपनि प्रदेशतहमा नामाकरण र राजधानी तोक्ने विषयमा छलफल हुँदैआएको समाचार सार्वजनिक भएका छन् । यही क्रममा प्रदेश ३ को नामाकरण ‘नेपाल मण्डल’ गर्ने प्रस्ताव दर्ता गराइएको छ । प्रस्तावित ‘नेपाल मण्डल’ सम्भवतः यस क्षेत्रको सबैभन्दा उपयुक्त र सार्थक नाम हुनेछ ।
अहिलेसम्म प्रदेश ४ को गण्डकी, ६ को कर्णाली र ७ को सुदूरपश्चिम नामाकरण गरिएको छ । कर्णाली र गण्डकी नाममा त्यस क्षेत्रका नदी र भूगोलको प्रतिनिधित्व भएको छ । सुदूरपश्चिममा भौगोलिक अवस्थिति झल्केको छ । नेपाल भौगोलिक विविधता र नदीनाला बहुल मुलुक हो । त्यतिमात्र हैन नेपाल विभिन्न सभ्यता र सांस्कृतिक विविधताको पनि देश हो । किराँत, मैथिल, नेवा, तामाङ,गुरुङ, मगर, थारु, खसजस्ता विभिन्न संस्कृति र सभ्यता नेपालमा पाइन्छ । यीमध्ये केही सभ्यता भारतका सीमावर्ती क्षेत्र र तिब्बतसम्म फैलेका छन् । यसैले प्रदेशको नामाकरण गर्दा नेपालको सभ्यता र सांस्कृतिक विविधताको प्रतिनिधित्व गर्ने प्रयत्न गर्नु उचित हुनेछ ।
संघीय राजधानीसमेत रहेको प्रदेश ३ लाई समेट्ने नेपालमण्डलले विश्वकै समृद्ध सभ्यताको प्रतिनिधित्व गर्छ । त्यस सभ्यतालाई नेवार जातिले जीवित राखेका भए पनि नेपालमण्डलमा जाति वा समुदाय विशेषको प्रभुत्व झल्कँदैन । संसारका प्राचीन सभ्यताका रूपमा नेपाल मण्डलको तुलनात्मक अध्ययन हुनसके सबै नेपालीले गर्व गर्न सकिने अनेकौं दृष्टान्त फेला पर्न सक्छन् । काष्ठमण्डपको उदाहरणबाटै नेपालमण्डलको प्राचीन समृद्धि र गौरवको अनुमान लगाउन सकिन्छ । विश्वमा अहिलेसमेत बिरलै भेटिने बहुउद्देश्यीय संरचना नेपालमा सातांै शताब्दीमा नै निर्माण भएको थियो । काष्ठमण्डप भनेर प्रख्यात मरु सतः अतिथिगृह, समुदायिक भवन, कहचरी, बजार, विश्रामस्थल, पूजाघर र संगमस्थलका रूपमा प्रख्यात थियो । यति धेरै उद्देश्य पूरा गर्ने नागरिकको अग्रसरतामा बनेको अर्को भवन संसारमा अर्को भएको भन्ने जानकारी पाइएको छैन । यसको महत्ताको पर्याप्त प्रचारप्रसार र अध्ययन अनुसन्धान भने अझै हुनसकेको छैन । यसैले नेपालमण्डल नामाकरणका साथै यहाँको सभ्यताको अन्वेषण र अभिलेखनमा पनि ध्यान दिनु जरुरी छ । अतः प्रदेशका सांसदहरूल पार्टीका नेताको निर्देशन नपर्खीकन विवेक प्रयोग गरी नेपालमण्डललाई विश्व सामु चिनाउने र अमर बनाउने गरी प्रदेशको नामाकरण गर्न सफल होऊन् !