site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

धनुषा जिल्लामा पर्ने सबैला नगरपालिका–१२ को रघुनाथपुरस्थित द्वारिका आधारभूत विद्यालयमा आर्थिक वर्षकै सुरुदेखि वितरण हुनुपर्ने विद्यार्थीलाई खाजा बैशाख १० गतेबाट मात्र बाँड्न थालियो । त्यही खाजा वितरण पनि दुई सातामै रोकियो । वार्षिक बजेटमा  १२ महिना खाजा वितरण गर्ने पैसा विनियोजन गरिएको थियो । सिन्धुली जिल्लाको हरिहरपुरगढीमा एक गाग्री पानीलाई सय रुपैयाँ तिरेर किन्नुपर्ने बाध्यता छ । अर्कातिर त्यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदले पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट ४० लाख रुपियाँ गाउँमा ‘अतिथिगृह’ बनाउन दिएका छन् । समाचारअनुसार त्यही अतिथि गृह निर्माणका लागि समेत प्रतिगाग्री सय रुपियाँमा पानी किन्नु परेको गुनासो ठेकेदारले गरेका छन् । यी दुवै घटना सम्भवतः अहिलेको विकासको प्रतिनिधिमूलक उदाहरण हुन् ।बालबालिकालाई विद्यालयमा टिकाउन र तिनको पोषणस्तर उकास्न सुरु गरिएको खाजा वितरण कार्यक्रममा आएको पैसामा पनि लोभ गर्ने नगरपालिकाका अधिकारीहरूको दुर्नियतले राज्यले दिएको बजेट खर्चै नहुने अवस्था उत्पन्न भयो । पहिलो त, त्यो कार्यक्रम नै ढिलो सुरु भयो । त्यसमाथि सुरु भएपछि गरिएको किचलोले कार्यक्रम तीन साता नपुग्दै रोकियो । नगरपालिकाका पदाधिकारी र विद्यालयका प्रधानाध्यापकले कार्यक्रम रोकिनुका आआफ्नै तर्क दिएका छन् । तर, कुपोषित र भोका बालबालिकालाई राज्यले उपलब्ध गराएको सहयोग बेलामा वितरणसमेत नगरेर दुवैले अक्षम्य अपराध गरे भन्नु अन्यथा नहोला । बालबालिकाको शिक्षा र स्वास्थ्यमा तिनले हेलचेक्य्राइँ गरेको देखियो ।

पानी किनेर गुजारा चलाउनु पर्ने गाउँका बासिन्दाका लागि सम्भवतः सबैभन्दा महत्त्वपूर्ण त खानेपानी योजना नै हुन्छ । तर, हरिहरपुरगढीका सांसदले आफ्नो तजबिजको पैसा अतिथिगृह बनाउन लगाए । आवश्यकताअनुसार अतिथिगृह त निजी क्षेत्रले बनाएर पनि  चलाउन गर्न सक्छन् । अरू पर्यटकीय महत्त्वका ठाउँमा त निजी क्षेत्रकै व्यवसायीले त्यस्ता सुविधामा लगानी गरेका छन् । निजी क्षेत्रले चलाएको अतिथिगृह नाफामा चलेका हुन्छन् भने सार्वजनिक क्षेत्रमा सञ्चालित त्यस्ता सुविधाको गुणस्तर कमजोर हुन्छ र प्रायः व्यवसाय घाटामा हुन्छ । यसैले हरिहरपुरगढीजस्तो खानेपानी किनेर खानुपर्ने ठाउँमा पानी योजना बनाउनुको साटो ‘गेस्ट हाउस’ बनाउन राज्यको ढुकुटीबाट पैसा लगानी गरेकाले उनको प्राथमिकतामा सामान्य जनता पर्दैनन् भन्ने बुझ्न कठिन हुँदैन । विद्यालयका बालबालिकाका लागि खाजा खान दिएको पैसामा समेत लोभ गर्नेहरूले विकास निर्माणका अरू काममा कति भ्रष्टाचार गर्छन् होला भन्ने अनुमान सहजै गर्न सकिन्छ । त्यसभन्दा पनि आपत्तिजनक र दुःखलाग्दो अवस्था त राज्यले दिएको सुविधा पनि आफ्नै प्रतिनिधिले खोस्नु हो । ‘देवता दिने पितृ हर्ने’ भनेजस्तो भयो । यस्ता जनप्रतिनिधिलाई सजाय दिने जनताले नै हो । तर, अनियमितता गरेकोमा भने तिनीहरूमाथि सम्बन्धित निकायले कानुनी कारबाही हुनुपर्छ । 

खानेपानी ल्याउन लगानी गर्नुको सट्टा विलासका लागि अतिथिगृह बनाउन राज्यको ढुकुटी खर्च गर्नु दुरुपयोग नै हो । कानुनी दृष्टिबाट यो दण्डनीय अपराध नहोला तर नैतिक आधारमा हेर्दा अत्यन्त गलत हो । राजनीति गर्नेहरूले जनताको भाग खोस्न र मुख मोस्न नहिचकिचाउनु सायद अहिलेको सबैभन्दा डरलाग्दो अवस्था हो । अनियमितता नियन्त्रण गर्ने संवैधानिक र प्रशासनिक निकायका अधिकारीहरू राजनीतिक पदाधिकारीलाई हात हाल्न आँट गर्दैनन् । यसैले नागरिक समाज र सञ्चार माध्यमहरूले यस्ता कर्तुतहरू जनतालाई बुझाउन र दोषीहरूलाई धिक्कार्न हिचकिचाउनु हुँदैन । नत्र, जनता सधैँ दोस्रो दर्जाकै भइरहनेछन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १८, २०७६  १२:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro