सर्वोच्च शिखर सगरमाथा नेपालको सबैभन्दा प्रख्यात स्थल हो । स्थानीय प्रकृति पूजक समुदायले देवता मानेर पूजा गर्ने गरेको यस चुचुरामा टेक्ने होड अब उन्मादकै सीमामा पुगेको छ । तेन्जिङ शेर्पा र एडमन्ड हिलारी २०१० सालमा पहिलोपटक सगरमाथाको शिखरमा पुगेका थिए । त्यसपछि सुरु भएको शिखरमा टेक्ने रहर अब कीर्तिमान बनाउने होडमा परिणत भइसकेको छ । अहिलेसम्म शिखरमा पाँच हजारभन्दा बढीले पाइला टेकिसकेका छन् । यसै वर्षमात्र तीन सय बढीलाई सगरमाथा आरोहणको अनुमति दिइएको छ । मौसम अनुकूल भएको मौका छोपेर शिखर आरोहण गर्नुपर्ने हुनाले सगरमाथा मार्गमा घुइँचो लाग्नु स्वाभाविकै हो । यही घुइँचोसमेतका कारण यस वर्ष आरोहणका क्रममा १० जनाको ज्यान गइसकेको छ ।
व्यक्तिको मात्र हैन प्रकृतिको पनि ‘भारवहन क्षमता’ हुन्छ । आफ्नो क्षमताभन्दा बढी भार सहन वा धान्न परेपछि व्यक्ति होस् वा प्रकृति थला पर्छ । अहिले सगरमाथामा फोहोरको डुंगुर थुप्रिएको छ । सफा गर्ने प्रयास सफल हुन सकेको छैन । कीर्तिमानी आरोहीहरूका अनुसार सफा गर्ने मानिसभन्दा खटनपटन गर्ने हाकिमहरू धेरै हुन्छन् । फोहोर बोकेर ल्याउनेले सफाइका नाममा हुने खर्चको अत्यन्त सानो अंशमात्र पाउँछन् । विश्वको सर्वोच्चमात्र हैन पवित्रतम मानिने शिखरलाई यसरी प्रदूषित गर्दा वातावरण त बिग्रन्छ नै नेपालीलाई पाप पनि लाग्छ । सगरमाथामा हुने अकाल मृत्युका धेरै कारण होलान् । सरकारले भनेजस्तै भिडले मात्र यस वर्ष धेरैजना मरेका हैनन् होला । तर, अरू प्राकृतिक वा मानवीय प्रकोपविना भिड बढेसँगै मर्नेको संख्या पनि थपिएपछि मृत्युको कारण घुइँचो हैन भन्न मिल्दैन ।
सगरमाथा शिखरमा चीनतर्फबाट पनि आरोहण गरिन्छ । तर, तेन्जिङ र हिलारीले आरोहण गरेको नेपालमा पर्ने दक्षिणी सगरमाथा आरोहीहरू दक्षिण मोहोडा बढी रुचाउँछन् । यसैले बर्सेनि सगरमाथा आरोहण गर्नेको घुइँचो बढ्दै गएको छ । अहिलेसम्म पाँच हजार जना सगरमाथा शिखरमा पुग्दा तीन सय जनाले ज्यान गुमाएको मानिन्छ । एउटा समाचारअनुसार यस यामका लागि नै नेपालबाट ३८१ र चीनबाट १३० ले सगरमाथा आरोहणको अनुमति पाएका रहेछन् । सगरमाथाको महत्त्व नेपाली शासकले बुझ्नै खोजेनन् । तर, अब अति भइसकेको छ । दुनियाँको सबैभन्दा अग्लो चुचुरोलाई उसको भारवहन क्षमताभन्दा धेरै कष्ट दिन अब बन्द गर्नुपर्छ ।
केही वर्षका लागि दक्षिणी मोहोडाबाट सगरमाथा आरोहणमा नै रोक लगाउनु उत्तम उपाय हुनसक्थ्यो । तर, यसले स्थानीय जनताको जीविकोपार्जनमा असर गर्न सक्छ । यसैले सीमित संख्यालाई मात्र आरोहण अनुमति दिने र आधार शिविरसम्म पुग्न सजिलो बनाएर पर्यटन प्रवर्धन गर्ने जुक्ती अपनाएर खुम्बुका बासिन्दालाई आजीविकाको विकल्प तयार गर्न सरकारले ध्यान देओस् । यही बेला पवित्र शिखरलाई मन्दिरजस्तैस्वच्छ राख्न हरसम्भव उपाय अपनाउनुपर्छ । थाकेको सगरमाथालाई विश्राम दिनु जरुरी छ । सरकारले पैसाको लोभमा धान्नै नसकिने गरी अनुमति नदेओस् । सरकारले ध्यान नदिए सगरमाथाका सन्तान शेर्पाहरूले नै आरोहणको संख्या तोकेर क्षमताभन्दा बढी आए सहयोग नगर्ने उपाय पनि अपनाउन सक्छन् । सर्वोच्च शिखरको गरिमा र पवित्रता जोगाउन पनि सगरमाथालाई विश्राम आवश्यक छ ।