दाङ । दाङको बंगलाचुली गाउँपालिकामा स्मार्ट कृषी कार्यक्रम लागु भएपछि स्थानीयहरु खुसी भएका छन् । अधिकांश युवाहरु रोजगारीको खोजीमा विदेशिएको बंगलाचुलीको वडा नम्बर ६ मा सुरू भएको स्मार्ट कृषि कार्यक्रमले विदेशिनेहरुलाई स्थानीय स्तरमै प्रशस्तै रोजगारीका सम्भावना देखाएको स्थानीयहरुको भनाई छ ।
कृषिलाई आधुनिकीकरण गर्दा विकासका अन्य पूर्वाधार पनि आवश्यक पर्ने भएकाले पिछडिएको क्षेत्र विकासमा अगाडि आउने उनीहरुको विश्वास छ । पूर्वाधार विकास र सामाजिक विकासलाई एकिकृत रुपमा लैजाने कृषि कार्यक्रम नै स्मार्ट कृषि गाउँ कार्यक्रम भएको उनीहरुको बुझाई छ । यसका लागि कार्यक्रम कार्यान्वयन समिति गठन भइसकेको छ भने कृषि सहजकर्ता पनि नियुक्त भइसकेको छ । वैमौसमी तरकारी उत्पादन गरी उत्पादन स्थलबाटै बिक्री गर्ने उद्देश्यले आफ्नो गाउँ छनोट भएकोमा गाउँ नै उत्साहित भएको कार्यक्रम कार्यान्वयन समितिका संयोजक खगुराम डाँगी बताउँछन ।
दाङको पहाडि क्षेत्रको विकट रिभानटोलमा कागती र तरकारीलाई मुख्य बालीका रुपमा अगाडि बढाइने कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले स्र्माट कृषि गाउँ बनाउन कस्सिएका रिभान टोलबासीलाई सम्बोधन गर्दै प्रदेशलाई समृद्ध बनाउने अभियान कृषिबाट सुरू भएको बताए ।
कृषिका लागि आवश्यक पानी संकलनका लागि पहिले नै निर्माण भएको यो पोखरीको पुर्ननिर्माण गरी त्यहाँबाट घरघरका करेसाबारीमा पानी पुर्याइने छ । खानेपानीका धारा पनि घर घरमा पुग्नेछ । यो कार्यक्रमले बालबालिका विद्यालय गए नगएको देखी कृषिका लागी कुनै पनि समस्या पर्न नदिने गरि काम गर्ने कृषि ज्ञान केन्द्रले जनाएको छ ।
स्मार्ट कृषि गाउँ शुभारम्भ कार्यक्रमका अन्य वक्ताहरुले ५ नम्बर प्रदेशलाई समृद्ध बनाएर जनताको जीवनस्तर उकास्न यो कार्यक्रम महत्वपूर्ण हुने बताए ।