नेपालीमा एउटा आहान छ – ‘‘देख्नेका आँखा फुटे सुन्नेको सही’’ । काठमाडौंमा मास्क लगाउनु पर्ने गरी धुलो छैन भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा दिएको उत्तरले त्यही आहान चरितार्थ हुन्छ । सडक भत्काएर वर्षौं अलपत्र छाडिँदा धुलोले आजित भएपछि काठमाडौं उपत्यकाका विभिन्न भेगका बासिन्दा आन्दोलनमा उत्रेका छन् । केही दिन पहिले काठमाडौंको बौद्ध – जोरपाटी सडकको धुलोबाट सताइएका स्गानीय आन्दोलन उत्रेका थिए । सडक तत्काल पिच गर्ने आश्वासन पाएपछि बौद्धका बासिन्दाले आन्दोलन स्थगित गरे । लगत्तै ललितपुरको चापागाउँमा सडक कालोपत्रे नभएकोमा स्थानीयले आक्रोश प्रकट गरेका छन् । ढोलाहिटी – चापागाउँ – लेले सडकको विस्तार र कालोपत्र गर्ने काम अलपत्र भएपछि स्थानीयले विरोध प्रदर्शन गरेका हुन् ।
प्रधानमन्त्री ओली काठमाडौंका सडकमा पैदल त पक्कै हिँड्दैनन् । छड्के गर्नैका लागि पैदल हिँड्न खोजे पनि समय, स्वास्थ्य र सुरक्षाका कारण देखाएर उनलाई सहयोगीहरूले काठमाडौंका सडकमा घुम्न दिँदैनन् । यसैले काठमाडौं अहिले पनि दुई वर्ष पहिलेजस्तै वा सोभन्दा पनि बढी धुलोले ढाकिएको सायद प्रधानमन्त्री ओलीले थाहा नै पाएका छैनन् । नत्र, अब काठमाडौंमा ‘मास्क’ लगाउन पर्दैन पक्कै भन्ने थिएनन् । सहनै नसकिने भएपछि मात्रै स्थानीयहरू सडक नै बन्द गरेर आन्दोलनमा उत्रने हुन् । केही महिना पहिला कलंकी – नागढुंगा सडक खण्डका बासिन्दा पनि यसरी नै आन्दोलनमा उत्रेका थिए । आन्दोलनमा उत्रेपछि सरकारले ध्यान दिने अपेक्षा तिनले गरेका हुन्छन् । तर, सरकारले भने आन्दोलनकारीलाई झुलाउन र झुक्याउनमै बहादुरी ठानेको देखिन्छ । बौद्ध–जोरपाटी सडकमा सरकारले स्थानीयलाई दिएको आश्वासन कार्यान्वयन भएन । अर्थात्, सरकारले त्यहाँका जनतालाई झुक्यायो ।
सरकारको जनतालाई झुक्याउने प्रवृत्तिले राज्यको साख गिर्दै गएको छ । यसले सबैभन्दा धेरै हानि सरकारकै हुने हो । जनतालाई आश्वासन दिएर पूरा गर्न चासो नदेखाउनु प्रकारान्तरले हेप्नु नै हो । सरकारले चुनावका बेला गरेको वाचा पूरा गर्न सकेको छैन । नसकेको पनि के भन्नु गर्न खोजेकै देखिएको छैन । धन्न, जनताले अहिलेसम्म चुनाव घोषणापत्र बिर्सेकोमा सरकारलाई खबरदारी पनि गरेका छैनन् । तर, धुलोले आजित भएर आन्दोलनमै उत्रेकासँग गरेको सहमति पनि कार्यान्वयन नगर्नुले भने सरकारको हेपाहा प्रवृत्तिले सीमा नै नाघेको स्पष्ट हुन्छ । यसरी बारम्बार हेप्दा जनआक्रोशको पनि विस्फोट हुनसक्छ । नागरिकमा राज्यप्रतिकै विश्वास समाप्त हुनसक्छ । त्यतिबेला स्थिति काबुबाहिर जानसक्छ । सरकारले जनतालाई दिएका आश्वासन पूरा गर्न हिचकिचाउनु वा तर्कनु हुँदैन । यसैले तत्काल बौद्ध–जोरपाटी, ढोलाहिटी – चापागाउँ – लेलेलगायतका सडक निर्माण सकेसम्म छिटो सम्पन्न गर्न सरकारले इमानदार हस्तक्षेप गरोस् । प्रधानमन्त्री ओलीले ती सडकमा केही मिनेटमात्रै पनि व्यस्त समयमा सुटुक्क पुगेर यथार्थ बुझे भने देख्नेहरूले भनेको नपत्याएर सुनेका भरमा बोल्नुपर्ने थिएन ।