दृश्य एक
‘सबै बर्बाद भयो । यस्तो विपत्ति कहिल्यै देखेका थिएनौं । सरकारले के गर्छ होला ?’ आइतबार साँझ आएको विनासकारी हुरीको स्थलगत रिपोर्टिङ गर्न बाराको परवानीपुर–४ चैनपुरमा पुग्दा ५७ वर्षीय उदय पटेलले जिज्ञासा राखे । अर्को प्रश्न आयो भीडबाट– भारतमा भएको भए त अहिलेसम्म के–के भैसक्थ्यो ! मैले उनको परिचय मागिनँ तर यत्ति भन्न सकें– सरकारले केही गर्छ होला । त्यसपछि उदय पटेलले आइतबार साँझको आधीको भोगाइ सुनाए । उनको भोगाइ र वर्णन गरेको दृश्यले ०७२ वैशाखको भूकम्प सम्झाइरहेको थियो ।
मानवीय क्षति चैनपुरमा भएको थिएन तर भौतिक संरचना भने ध्वस्त । बिजुलीका पोलहरु ढलेका, घर भत्किएका, पक्की घर चर्किएका । अझ ३० भन्दा बढी मालवाहक ट्रक तथा बस उडेर एक स्थानबाट अर्को स्थानमा पुगेको दृश्य कुनै साउथ इन्डियन एक्सन फिल्मको जस्तो लाग्थ्यो ।
पीडितहरुसँग कुराकानी गर्न भाषाको समस्या भइरहेको थियो । उनीहरुलाई नेपाली बुझ्न गाह्रो पथ्यो, आफूलाई भोजपुरी र मैथिली बुझ्न । पटेलले भने नेपाली बुझ््न सक्थे तर उनलाई काममा जान हतारो थियो ।
भत्किएका घरहरु हेरौं न एकछिन भन्ने मेरो आग्रह स्वीकारे उनले र एकपछि अर्को घरमा लैजान थाले । बीचमा मैले प्रश्न गरें, पटेलजी, आँधीहुरी आउँदा कस्तो कस्तो भयो ? उनले जवाफ फर्काए, ‘कुरै नगर्नुस् हजुर, बादल गर्जिन थाल्यो, असिना बर्सिन थाल्यो । २ मिनेटमै घर भत्किन थाले । भागाभाग, चिच्याहट ! विदेशीले बम बर्साएजस्तो । लाग्यो, जिन्दगीको अन्तिम पल यहि हो । यस्तो प्रलय कहिल्यै देखेको थिइनँ ।’
पटेलले मलाई चैनपुर डुलाउँदै गर्दा पीडितहरु आफ्नो घर हेरिदिन र डायरीमा नाम टिपिदिन तानातान गरिरहेका थिए । मानौं, म सरकारको प्रतिनिधि हुँ र उनीहरुको समस्या हल गरिदिन्छु । मैले सबैका कुरा सुनें र डायरीमा टिपेँ । उनीहरुले सोधे– यो कुन चैनलमा आउँछ ? ‘बाह्रखरी डटकम अनलाइनमा’ मैले भने । उनीहरुले कुरा बुझेनन् सायद । भने– बिजुली छैन केमा हेर्नु ! जेहोस् हाम्रो कुरा राम्रोसँग भन्दिनुस् है ।
दृश्य दुई
चैनपुरबाट हामीले फेटा गाउँपालिका–१ भरवलियामा जाने योजना बनायौं । बाटो पहिल्याउँदै पुगियो, फेटा–गाउँपालिका–१ मा । त्यहाँ दलित बस्ती रहेछ । सानो एउटा टोल पूरै ध्वस्त । साँच्चिकै आकाशबाट बम बर्साएजस्तो । त्यहाँ पनि भाषाकै समस्या भयो । मैले एकजनालाई भनें– यहाँ नेपाली बुझ्ने को छ ? स्थानीय श्रीराम वैठा सहयोग गर्न तयार भए ।
उनले बस्ती घुमाउन थाले । त्यो गाउँमा ४ जनाको ज्यान गएको रहेछ । भत्किएको घरको छेउमा सेतो धोती बेरेका एकजना वृद्धसँगै केही आफन्त खाना पकाइरहेका थिए । खाना ठूलै भाँडोमा पाकिरहेको देखेपछि मैले सोधें, के–को भोज रहेछ ? वैठाले भने, भोज होइन, बिरजामहरा चमारको श्रीमती च्यापिएर मरेकी हुन् ? त्यसैको लागि हाम्रो परम्परा हो ।
त्यो दृश्यले मलाई तान्यो । मैले बिरजामहरासँग कुरा गर्न खोजें । एकमनले सोचें– यस्तो शोकमा रहेको व्यक्तिसँग के कुरा गर्नु । कसरी सोधुँ कि तपाईंकी श्रीमती कसरी बित्नुभयो भनेर । तरपनि पत्रकार भएपछि केही सोध्नैपर्ने । सोचें– यो कथा राम्रो हुनसक्छ ।
उमेरले ५७ पुगेका बिरजामहराले नेपालीमा सोधेको बुझेनन् । मैले भने, मलाई भोजपुरी आउँदैन, हिन्दी बोल्दा हुन्छ । उनले सहमति जनाए । मैले सोधें– आइतबार साँझ के–के भएको थियो ? उनले लामो सास फेर्दै भने, ‘के भनुँ, श्रीमतीले छाडेर गैहाली । न बास रह्यो न सास । कालगतिले गएको भए त चित्त बुझाउन हुन्थ्यो । तर अकालमै छाडेर गई । अन्तिम पलमा सँगै खानासम्म खान पाएनौं ।’ त्यसपछि उनी आफ्नो काजक्रियाको काममा व्यस्त भए ।
दृष्य तीन
उनी व्यस्त भएपछि मलाई स्थानीय गणेशरामले गाउँ घुमाउन थाले । उनी बेलाबेला भन्दैथिए, ‘साहब हेर्नुस् त अब कसरी बाँच्ने ? के खाने ? हामी दलितलाई कसैले हेरेन । राहत पनि हुनेखानेले नै पाउने । मुख्यमन्त्री आए, सबै हुन्छ भने तर केही भएन ।’ उनी बेलाबेला मेरो हात समात्दै भन्थे, ‘बाबु, यो खिच्नुभयो ? यो फलानाको घर । सबै गयो बाबु, सबै गयो ।’ सबै गाउँ घुमाएपछि उनले आफ्नो घर देखाए । श्रीमतीलाई भने, ‘सरलाई कुर्सी ल्याएर आऊ त ?’ मैले कुर्सी पर्दैन भुइँमै सुकुलमा बसौं न भने । गणेशरामसँगै उनकी श्रीमती पनि बसिन् । बीररामको घर अगाडिको भागबाट राम्रै देखिन्थ्यो तर पछाडिबाट पूरै भत्किएको रहेछ । मैले जिज्ञासा राखें– कहाँ सुत्नुहुन्छ राति ?
उनले भने– सडकमै सुत्छौं बाबु । बाबु, खाना बनाउन भनौं ? खाएर जानुस् । विपत्तिको पहाड आफूमाथि आइपर्दा पनि गाउँमा समाचारको खोजीमा आएका हामीलाई खाना खाऊँ भन्ने उनको मनकारी भावनालाई मैले नमन गरेँ र भनें– भर्खरै खाएर आएको ।
खासमा हामीले खाना खाएका त थिएनौं । उनले श्रीमतीलाई देखाउँदै भने, उसको पेटको अपरेसन गर्दा २ लाख खर्च लाग्यो ? मैले सोधें–पैसा कताबाट आयो ? उनले भने– यो घर भएको जमिन बन्धकी राखेर साहुबाट लिएको । अब त घरै भत्कियो । न साहुको पैसा तिर्न सक्छु न त घर बनाउन नै । बेलाबेला त मरिदिउँ जस्तो लाग्छ ।
गणेशरामको उमेर ६५ माथि हुँदो हो । उनको कुरा त सुनें तर मसँग बोल्ने शब्द थिएन । जवाफ थिएन । नाजवाफ भएर निस्कन लाग्दा मैले भने, ‘हामी जान्छौं है । तपाईंको कुरा सरकारलाई सुनाइदिऔंला ।’
दृश्य चार
आँधीले सबैभन्दा बढी मानविय क्षति गरेको ठाउँ थियो, फेटा गाँउपालिका–६ पुरैनीया । भरवलियाबाट पुरैनीया पुग्न १५ मिनेटजति लाग्यो मोटरसाइकलमा । सँगै रहेका फोटोपत्रकार सौरभ रानाभाटले धमाधम तस्बिर कैद गर्न थाले । तराईको प्रचण्ड गर्मी अनि दिनभरीको थकान । एकैछिनमा हल्ला चल्यो, पुरैनीयामा प्रचण्ड, शेरबहादुर देउवा आउँदैछन् ।
उनीहरु आए पनि । निकै थकित भएकाले म एकछिन भुइँमा थच्चिएँ । मेरो वरिपरि विभिन्न संघसंस्थाले दाल, चामल लगायतका खाद्यान्न बाँडिरहेका थिए । मैले बेलाबेला ती दृश्य मोबाइलमा कैद गरिरहेको थिएँ । त्यत्तिकैमा मेरो नजर एक भग्नावशेषमा पर्यो ।
त्यो भग्नावशेषमा थिए फैजुलहक मियाँ । म उनको नजिक गएर सोधें– किन यस्तो गर्मीमा यता बसेको ? उनले जवाफ फर्काए, ‘हम बेपनाह हो गए ।’ मेरो जिज्ञासा मेटिएन, फेरि सोधेँ– के भएको हो ? तपाइँको आफन्त गुमेको हो ? त्यसपछि उनले भने, मेरो श्रीमती र बुहारीलाई हुरीले लग्यो । फैजुलहक मियाँकी श्रीमती मुस्तकीमा र बुहारी बिबियालाई हुरीले लगेको रहेछ सधैंका लागि । हुरीआँधी चलेको साँझ उनी हरीपुरमा रहेछन् । एकछिनपछि गला अवरुद्ध पार्दै मियाँले भने, ‘‘हम बेपनाह हो गए, बीबी और बहुके सपना पूरा नही कर पाए ।’’
केही समयअघि पत्नी मुस्तकीमासँग भएको कुराकानी सम्झिए उनले । भन्छन्, ‘‘खाना खानु, आफ्नो ख्याल राख्नु । म केहीदिनमा घरमा आउँछु भनेको थिएँ ।’’ तर पत्नीसँगको उनको त्यो संवाद नै अन्तिम हुन पुग्यो ।
‘‘साँझ ८ बजेको थियो होला, मलाई मौलानाले फोन गर्दै भने, तुम्हारा घर गिरगया और तुम्हारी बीबी और बहु मरचुकी है । जल्दी घर आजाओ,’’ मियाँले मौलानाले भनेको कुरा सम्झिए र भावुक भए । त्यसअघि नै आफ्ना ६ छोरा र ३ छोरी गुमाएका फैजुलहकका लागि जीवनकै सबैभन्दा ठूलो बज्रपातको अन्तिम खबर थियो, आइतबार साँझको । भन्छन्, ‘‘८ सन्तान पहिल्यै गुमाएँ । हुरीले अन्तिम सपना पनि उडायो । म आफूलाई सम्हाल्न सकिरहेको छैन, २४ वर्षीय छोरा रहिस मलेसियामा छ ।’’
आफ्नो भाग्यलाई खुदाले लेखेको विश्वास गर्ने फैजुलहकले भने, ‘‘हामी बाउछोरा नै अभागी, न उसले आमा र पत्नीको अनुहार देख्न पायो न त मैले नै ।’’ विपत्तिको त्यो पापी क्षण बारा र पर्साबासी सम्झिन चाहँदैनन् । वर्षौं पसिना बगाएर बनाएका घरमात्रै भग्नावशेष भएका छैनन्, दुई मिनेटको आँधीले प्रियजनलाई सधैंका लागि उनीहरुबाट चुँडेर लगेको छ । राहत घोषणा गर्ने र बाँड्नेहरुको लर्को छ । एक नेपाली दुःखमा पर्दा अर्को नेपाली कसरी सुखले बस्न सक्छ र ? प्रधानमन्त्रीले भनेझै समृृद्ध नेपाल सुखी नेपालीको अभियान बारा र पर्साबाटै सुरु गर्ने कि ?