दाङ । तुलसीपुर उपमहानगरपालिका दाङले नगरभित्रका २३ वटा सामुदायिक विद्यालयहरु मर्जको गर्ने भएको छ । आइतबार सम्पन्न ५४ औँ कार्यपालिका बैठकले विद्यार्थी संख्या कम भएका २३ विद्यालय मर्ज गर्ने प्रस्ताव पारित गरे सगै विद्यालयहरु मर्ज गर्न बाटो खुलेको हो ।
“नगर सभाले पारित गरेपछि आगामी शैक्षिक सत्रबाट यो लागु हुनेछ” उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले भने । उनले शैक्षिक गुणस्तर वृद्धिका साथै राज्यको लगानीको सदुपयोग होस् भन्नका लागि यस्तो प्रस्ताव गरिएको वताए । उनले विद्यालय मर्ज भएपनि शिशु कक्षा यथावत रहने वताउँदै क्रमशः विद्यार्थी संख्या वढ्दै गए विद्यालय सञ्चालन गरिने बताए ।
नगर कार्यपालिकाको बैठकले चैत्र २० गतेभित्र योजना शीर्षकान्तर गर्ने योजनाको संशोधन प्रस्ताव पेश गर्नुपर्ने निर्णय गरेको नगर प्रवक्ता सुर्यबहादुर डाँगीले बताए । उनले उपमहानगरपालिकाले सञ्चालन गर्न थालेको मेट्रो कलेजको भवन निर्माणको काम अगाडि बढाउने प्रस्तावसमेत गरेको जानकारी दिए ।
हिउँदे अधिवेशन चैत्र २७ गतेभित्र सम्पन्न गर्ने र उक्त सभाबाट विद्यालय मर्जको निर्णयअघि बढाउने उपमहानगर प्रवक्ता श्याम डाँगीले बताए । गत आर्थिक वर्षमा वितरण गरिएको टिनको छाना वितरण कार्यक्रमको समिक्षाका साथै नयाँ आर्थिक वर्षका लागि टिन वितरणको काम अगाडि वढाउने समेत निर्णय कार्यपालिका बैठकले गरेको छ ।