
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालका विभिन्न स्थानमा चट्याङ लागेर १८ जना घाइते भएका छन् । देशभरमा चट्याङबाट १८ जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
संखुवासभा, मकवानपुर, स्याङ्जा, प्युठान, अर्घाखाँची, रोल्पा, दाङ र सल्यानमा चट्याङका घटना भएका प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले बताए । रोल्पामा मात्र आठजना घाइते भएका उनले जानकारी दिए ।
रोल्पाको बालकल्याण माविको प्रांगणमा चट्याङ पर्दा ६ बालबालिका घाइते भएका हुन् । रोल्पाकै त्रिवेणी गाउँपालिकाको डाफ्लामा एउटा घरमा परेको चट्याङबाट दुईजना घाइते भए ।
चट्याङ लागेर मकवानपुरको राक्सिराङमा दुई, प्युठानको ऐरावती गाउँपालिकामा दुई, दाङको घोराही उपमहानगरपालिकामा दुईजना घाइते भएका केसीले जानकारी दिए ।
उनका अनुसार, संखुवासभाको सिलिचोङ गाउँपालिका, स्याङ्जाको गल्याङ नगरपालिका, अर्घाखाँचीको मालारानी गाउँपालिका र सल्यानको त्रिवेणी गाउँपालिकामा चट्याङबाट एक/एकजना घाइते भएका छन् ।
यस्तै, लेक लागेर रसुवामा एक र आगलागी हुँदा रुपन्देहीमा दुईजना घाइते भएका प्राधिकरणले जनाएको छ ।
विभिन्न जिल्लामा विपद्का ३० घटना भएका पनि प्राधिकरणका प्रवक्ता केसीले जानकारी दिए । रासस