– नरेश फुयाँल
बिहीबार दिउँसो ३ बजे कालिकास्थानस्थित मदनमणि दीक्षितको निवास पुग्दा उनी कुराकानीका लागि आफ्नो अध्ययन कक्षमा बसिसकेका थिए । मदनमणिको श्रवण क्षमता केही कमजोर भएकाले हामीलाई सहयोग गर्न उनका छोरा विनोद दीक्षित तम्तयार थिए । विनोद दीक्षित हामीलाई लिन सडकसम्मै आएका थिए । मदनमणिको अध्ययन कक्षमा निस्किँदै गर्दा विनोदले भने, “तपाईंलाई थाहै छ होला, उहाँले अहिलेसम्म लेखेका तीन करोडभन्दा धेरै अक्षर प्रिन्ट भइसकेका छन् ।”
उनले यति भन्दा हामी मदमणिको अध्ययन कक्षमा पुगिसकेका थियौं । उनले एउटा सम्मानपत्रलाई औंल्याउँदै भने, “ऊ त्यो हेर्दा पनि थाहा हुन्छ ।”
त्यो सम्मानपत्रमा लेखिएको थियो, “अक्षर शिरोमणि मदनमणि दीक्षित...।”
अक्षर शिरोमणिको प्रसंग उप्कियो । उनले त्यसमै जोडेर सुनाए, “चक्रपाणि चालिसे (श्रीमान गम्भीर... राष्ट्रगानका रचयिता) हाम्रा पुरोहित हुनुहुन्थ्यो । उहाँले नै बुवालाई अक्षराम्भ गराउनुभएको हो ।”
हामीले पहिलो जिज्ञासा राख्यौं, “जुन समय पत्रकारिता पेशा बनिसकेको थिएन । त्यो समय तपाईं कसरी पत्रकारितालाई पेशा बनाउँछु भनेर लाग्नुभयो ?”
एकै वाक्यमा मदनमणिले भने, “अच्छा ! शुरुमा पत्रकारिताप्रति मेरो रुचि थिएन ।”
एक वाक्यको यो जवाफ पछि मदनमणि पत्रकारितामा कसरी आइपुगे, त्यतातर्फ फर्किए ।
पत्रकार मात्रै होइन, मदनमणि उत्तिकै जबर्जस्त साहित्यकार पनि हुन् । जति उनलाई पत्रकारिताले नाम दियो, त्यत्ति नै साहित्यकारका रूपमा पनि उनको परिचय बन्यो । श्रवणशक्ति थोरै कमजोर भए पनि उनको जोश कमजोर भएको छैन । उमेर ९७ लागे पनि आँत मरेको छैन । भूमिका बाँधेर दिन थाले जवाफ । सेतो खास्टो ओडेर ‘स्टडी टेबल’ अगाडि बसेका उनी बोल्दा हात पनि बेलाबेला हल्लाइरहन्छन् ।
मदनमणि बनारस पुगेर एमए पास गरिसकेका थिए । एमए पास गर्ने नेपालका २१औं नेपाली हुन् उनी । बनारस बस्दा उनले त्यहाँ कांग्रेस र कम्युनिस्ट नेताहरूलाई भेटेका थिए । बीपी कोइराला, गणेशमान सिंह, डा. डिल्लीरमण रेग्मीले कांग्रेस स्थापना गर्दाका साक्षी हुन् उनी । कलकतामा भएको बैठकमा मदनमणि पनि थिए । कांग्रेस स्थापनापूर्व भएका बहसमा उनी पनि सामेल थिए । ती बहसमा भएका वैचारिक छलफल र मतभेद पनि उनलाई थाहा छ ।
एमएका वीद्यार्थी भएकाले बीपीले उनलाई विद्यार्थी संगठनको अध्यक्ष भइदिन आग्रह गरेका थिए । त्यो सन्दर्भ यसरी सम्झिए मदनमणिले, “बनारसमा हाम्रो घर थियो । बुवा र म बसिरहेका थियौं । हाम्रो घरअगाडि आएर रिक्सा रोकियो । रिक्साबाट बीपी ओर्लिए । बुवा उहाँलाई नभेटी आफ्नो कोठामा जानुभयो । बीपी र मबीच करिब १५ मिनेट गफगाफ भएपछि उहाँले मलाई विद्यार्थी संगठनको सभापति भएर नेतृत्व गरिदिनुपर्यो भन्नुभयो । मैले ‘हुन्छ’ पनि भनिनँ र ‘हुँदैन’ पनि भनिनँ । मैले केही नभनेपछि उहाँ रिसाएर फर्किनुभयो ।”
उनको चिजान र भेटघाट मनमोहन अधिकारी र पुष्पलाल श्रेष्ठसँग पनि थियो । उनलाई कम्युनिस्ट विचारधारा मनपपथ्र्यो । तर, पार्टीमा भने थिएनन् ।
कम्युनिस्ट पार्टी विधिवत् रूपमा स्थापित नहुँदै भाइ शैलेन्द्र कुमारसँग मिलेर उनले बनारसका विद्यालय र नेपाली बस्तीमा गएर कम्युनिस्टबारे नेपालीलाई बुझाए । धेरै नेपालीलाई कम्युनिस्ट बनाए । २००६ सालको अन्तिममा उनले कम्युनिस्ट पार्टीको सदस्यताका लागि निवेदन दिए । त्यो बेला कम्युनिस्ट पार्टीमा सबैभन्दा शिक्षित व्यक्ति मदनमणि नै थिए ।
बीएचयू (बनारस हिन्दू विश्वविद्यालय)मा फिलोसफीमा एमए टप गरेपछि मदनमणि पीएचडीको तयारी गरिरहेका थिए । नेपालका तत्कालीन राणा प्रधानमन्त्री र मदनमणिका हजुरबुवा लक्ष्मणमणिबीच सल्लाह भयो । मदनमणिलाई नेपाल बोलाउने निर्णय भयो । विसं. २००४ मा मदनमणिलाई नेपाल बोलाएर वीरगन्ज हाइस्कुलको हेडमास्टरको जिम्मेवारी दिइयो । उनले पढाउन थाले । स्नातकोत्तर गर्ने २१ औं नेपाली । कहलिएका विद्वान पनि आँखामा आँखा जुधाएर बोल्न डराउँथे । नाम काढेर बोलाउँदैनथे । त्यसैले सबैले उनलाई मास्टरसाप भनेर बोलाउँथे । मास्टरी छोडे पनि कालान्तरसम्म उनलाई ‘मदनमणि मास्टरसाप’ भनेर बोलाउन थालियो । अहिले पनि उनलाई धेरैले त्यही भनेर बोलाउँछन् ।
कम्युनिस्ट पार्टीमा उनको ठूलो झुकाव थियो । त्यसैले उनी मास्टरी छोडेर पार्टीमा लागे । त्यही कारण उनी पैतृक सम्पत्तिबाट बञ्चित भए । कारण थियो— उनी कम्युनिस्ट भएका थिए । हजुरबुवा लक्ष्मणमणि रिसाएर उनलाई पैतृक सम्पत्तिबाटै बञ्चित गराइदिए । चन्द्र शमशेरको पालामा पाएको वीरगन्जको ३ सय रोपनी जग्गामध्ये उनले २ सय रोपनी अरूलाई बाँडिदिए । एक सय रोपनी जग्गा आफ्ना अरू सन्तानका नाममा गरिदिए ।
पढेलेखेका थिए । देश–दुनियाँ चिनेका थिए । मनमा आँट थियो । गर्न सक्छु भन्ने हिम्मत थियो । त्यसैले उनी ०१२ साल फागुनमा कामको खोज्दै काठमाडौं आए ।
‘हालखबर’
‘हालखबर’ दैनिकका सञ्चालक रंगनाथ शर्माले श्यामप्रसाद शर्मामार्फत मदनमणिलाई कामका लागि प्रस्ताव पठाए ।
मदनमणिले भने, “त्यो राजावादी पत्रिका हो, म काम गर्दिनँ ।”
मदनमणिले ‘हालखबर’लाई किन राजावादीको ‘चार्ज’ लगाए ?
उनी आफैं भन्छन्, “खास त्यस्तो कुनै कारण छैन । पत्रिका बेचेर पैसा कमाउने समय थिएन । विज्ञापन आउँदैनथ्यो । त्यसो भए कसरी चल्छ पत्रिका ? प्रश्न थियो । सामान्य बुझाइ— दरबारको आर्थिक सहयोगमा त चलेको होला भन्ने थियो । तर, त्यो मेरो शंकामात्रै थियो ।”
श्यामप्रसादले अफर गरेको ६ महिना बितेको थियो । त्यतिबेलासम्म पनि उनले कतै काम पाएका थिएनन् । जो पनि कम्युनिस्ट हो भन्ने थाहा पाउनेबित्तिकै तर्किन्थे । जागिर त टाढाको कुरा थियो ।
मदनमणि प्युखामा बस्थे । घरबाट एक रुपैयाँ पैसा नलिई आएका उनलाई चरम आर्थिक संकट पर्यो ।
“म नयाँ सडकमा कोही भेटिए भने पैसा सापट लिन्छु भनेर जान्थें । चिनेको मान्छेसँग पहिला नै पैसा सापट लिएको हुन्थें । फेरि माग्ने कुरा भएन, पुरानै फिर्ता गरेको हुन्नथें । नचिनेका मान्छेसँग पैसा माग्न भएन,” मदनमणि आफ्ना कष्टकर दिन सम्झिन्छन्, “हुँदाहुँदा म नयाँ सडकको बाटो हिँड्न छोडेर रञ्जना सिनेमा हलको बाटो हिँड्न थालेको थिएँ । पैसा दिनेहरूले देखेभने माग्छन् भन्ने डर थियो ।”
पढेलेखेको शिक्षित बेरोजगार भएर बसिरहेका थिए । घण्टाघरको सुइँ घुमिरहेको थियो । भीमकाय आर्थिक संकटले किचिरहेको थियो । ०१३ साल लाग्यो । ठूला कान्छा काका नरेन्द्रमणि दीक्षित परराष्ट्र मन्त्रालयको सचिवबाट निवृत्त भएका थिए । उनले भेट्न बोलाए । गैरीधारामा घर थियो । गए ।
नरेन्द्रमणिले सोधे, “मदन ! तँ ‘हालखबर’मा काम गर्छस् ?”
(नरेन्द्रमणि नाताले रंगनाथ शर्माका सम्धी थिए ।)
काम नपाएर थाकिसकेका थिए । त्यसैले मदनमणिले ‘हुन्छ’ भन्दिए । नरेन्द्रमणिले छोरा कुमारमणिलाई बोलाएर भने, “दाजुलाई लिएर रंगनाथ शर्माकोमा जा ।”
जाने बेलामा नरेन्द्रमणिले भने, “कति दिन्छन्, त्यो त मलाई थाहा छैन तर ४ सय रुपैयाँभन्दा कममा काम गर्दिनँ भन्नू ।”
मदनमणि कुमारको साथ लागेर रंगनाथ शर्माकोमा पुगे । मदनमणिले ‘हालखबर’लाई राजावादी अखबार भनेर लगाएको आरोप रंगनाथले खण्डन गरे, “हालखबर कुनै राजनीतिक पार्टीप्रति सदाशयता राख्ने पत्रिका होइन । र, यो राजाको समर्थक वा विरोधी पनि होइन ।”
तीनवटा बुँदामा अडेर काम गर्ने शर्त रंगनाथले मदनमणिसमक्ष राखे—
१) कुनै पार्टीको पक्ष नलिने ।
२) स्वतन्त्र व्यक्तिले राजनीति गरिराखेका छन् भने तिनका काम हेरेर समर्थन वा विरोध जे गर्नुपर्ने हो गर्ने र,
३) राजाको विरोध र समर्थन नगर्ने ।
रंगनाथले भने, “यी शर्तमा मञ्जुर हुनुहुन्छ भने भोलिबाटै आउनुस् । ६ महिनादेखि कामको खोजीमा भौतारिरहेका मदनमणिले ‘हुन्छ’ भने । कुरा रह्यो तलबको । मदनमणिले भने, “तलब कति दिनुहुन्छ ?”
“२५० रुपैयाँ ।”
मदनमणिले भने, “४ सय रुपैयाँ नभए त गाह्रो हुन्छ ।”
३ सय रुपैयाँमा कुरा मिल्यो । अर्को दिनबाटै काम शुरु गरे ।
“म त्यो बेला सय रुपैयाँभन्दा बढी दिन्नँ भनेको भए पनि मान्ने अवस्थामा थिएँ,” उनी सम्झिन्छन् ।
‘हालखबर’मा काम गर्दा पनि उनी कम्युनिस्ट पार्टीको सदस्य थिए । तर, उनलाई नेता हुने भने रहर थिएन ।
उनी बनारसस्थित मामाघरमा बस्दा हिन्दी भाषाको ‘आज’ र अंग्रेजी भाषाको पत्रिका ‘शेष म्यान’ आउँथ्यो । वि.सं. १९९१ को कुरा सुनाउँछन् उनी । त्यो बेला उनी समाचार कसरी लेख्दा रहेछन्, केचाहिँ समाचार हुँदो रहेछ भनेर विचार गरेर पढ्थे । त्यो चेतनाले उनलाई समाचार कसरी लेख्ने भन्ने थाहा भएको थियो । त्यसले ‘हालखबर’मा सहयोग गर्यो ।
काम गरेको पाँच दिन भएको थियो । काम सकेर घर फर्किंदै गर्दा महांकाल मन्दिरछेउ पुगेका थिए । त्यहाँ पाँच–सात जनाको समूह–समूहमा बसेर राजनीतिक गफ हुन्थ्यो । ती समूहमा उनलाई चिनेका व्यक्ति पनि थिए । देख्नेबित्तिकै उनलाई बोलाउँदै भने, “मदनमणि, आउनुस् बसौं ।”
कुरा उठ्यो— ‘हालखबर’मा कसले काम गर्छ अचेल ?
तीन–चार जनाको नाम आयो । सबैले ‘म त होइन’ भने । मदनमणिले पनि भनेनन् । उनी भन्छन्, “त्यहाँ ‘हालखबर’ले केही दिनदेखि राम्रो लेखिरहेको छ भनेर चर्चा चलेको थियो । त्यहाँ मैले म काम गर्न थालेको छु भनेको भए शायद म सम्मानित हुने थिएँ होला । मेरो तारिफ गर्थे होला । तर, म मैले भनिनँ ।”
अर्को दिन बिहान मदनमणि आफूलाई ‘हालखबर’ पठाउने ठूला कान्छा काकालाई धन्यवाद दिन भनेर गए ।
मदनमणिलाई सोधे, “हालखबरमा सुठोको समस्या भनेर सम्पादकीय कसले लेखेको ?”
उनले भने, “मैले लेखेको ।”
त्यतिबेला पश्चिम नेपालमा उत्पादन हुने सुठो भारतका व्यापारीले खरिद गर्थे । तर, नेपाल र भारत सरकारबीच व्यापार सन्धी नहुँदा भारतीय व्यापारीले सुठो खरिद गर्न छोडेका थिए । उत्पादन भएको सुठो भारत निकासी नभएपछि त्यसले नेपाली किसानलाई परेको समस्या र त्यसको समाधानको उपायसहित सम्पादकीय लेखिएको थियो ।
“तैंले त गम्भीर अन्तर्राष्ट्रि विषय उठाउलास् भन्ने सोचेको थिएँ तर कसैले थाहै नपाएको सुठोको विषय पो उठाइछस् । विषयमात्रै उठाइनस्, त्यसको समाधान पनि सुझाएको छस् । भारतसँग कुरा गर्नुपर्छ भनेर भनेको छस् । आजसम्म यस्तो कसैले भनेको थिएन । ठीक गरिस्,” ठूला काकाले भनेको त्यो वाक्यले उनमा उत्साह थपिदियो ।
‘हालखबर’ प्रवेश गरेको तेस्रो दिनमा लेखेको पहिलो सम्पादकीयबाटै अनपेक्षित र उत्साहजनक प्रतिक्रिया आएपछि उनले लगातार आफैं सम्पादकीय लेख्न थाले । न कसैलाई सोध्थे न सल्लाह नै लिन्थे ।
‘आज’ र ‘शेष म्यान’ पढ्दा दिमागमा बसेको तर अभ्यास नगरेको कुरालाई नै उनले व्यवहारमा उतार्दै गए । उनले ‘हालखबर’मा काम शुरु गरेको १० दिनपछिको घटना सुनाए ।
काम गरेको १० दिनपछि भारतको ‘पीटीआई’ र ‘हिन्दू’मा समाचार पठाउने पत्रकार उनलाई भेट्न आएर भने, “मदनमणिजी ! नेपालको पत्रकारितामा एउटा समस्या छ । त्यो समस्यामा तपाईंलाई चिन्ता छ कि छैन ? आज सम्पादकीय लेख्यो, भोलि के सम्पादकीय लेख्ने भन्ने समस्या छ यहाँका सम्पादकमा । तपाईंलाई यो समस्या छैन ?”
मदनमणिले भन्दिए, “मलाई यो समस्या छैन र पर्दैन पनि । नेपालका दैनिक पत्रिका र भारतीय पत्रिकाका समाचार हेर्दा आजको सम्पादकीय के लेख्ने भन्ने थाहा भइहाल्छ । सम्पादकीयका लागि विषय अभाव हुँदैन ।”
त्यो बेला काठमाडौंबाट चार–पाँच वटा पत्रिका निस्किन्थे । भारतको ‘पीटीआई’मा नेपालका सबै राजनीतिक गतिविधि आउँथे । नेपालका नेताहरू ‘पीटीआई’का पत्रकारलाई भेटेरै समाचार दिन तँछाडमछाड गर्थे ।
पछुतो र खण्डन
दोस्रो विश्वयुद्धको सकारात्मक परिणाम केही आएको थिएन तर त्यसको असर चौतर्फी परिरहेको थियो । अमेरिकाले लेबननमा आफ्ना सेना पठाएर आक्रमण गरिरहेको थियो । अमेरिकाको त्यो रवाफप्रति मदनमणिले लेखे, “अमेरिकाले लेबननमा गरेको आक्रमण नेपालको हिमाली प्रदेशको भोटे कुकुरजस्तै हो ।” उनले अमेरिकका राष्ट्रपतिलाई भोटे कुकुर भनेर व्यंग्य गरेका थिए ।
रंगनाथ शर्माका भाइ कुलखेशर शर्माले सोधे, “अमेरिकाका राष्ट्रपतिलाई तपाईंले कसरी र किन भोटे कुकुर भन्नुभयो ?”
“यो प्रश्न गर्ने अधिकार तपाईंलाई छैन । रंगनाथ शर्माका भाइ हुनुहुन्छ, त्यसैले प्रश्न गर्नुभयो, ठीकै छ । मैले हेर्दा जस्तो देखें, त्यही लेखें ।”
चर्कै वादविवाद भयो तर मदनमणि लत्रिएनन् । तर, पछि मदनमणिले समीक्षा गर्दा उनले अनुभूत गरे— त्यो शब्द गाली भयो । त्यो शब्दको ठाउँमा अरू नै कुुनै शब्द लेखेको भए पनि हुन्थ्यो ।
डा. डिल्लीरमण रेग्मीको कार्यालयमा गएर उनले समाचारका लागि कुनै एक विषयमा कुरा गरे । रेग्मीले भनेको कुरा उनले ‘हालखबर’मा छापे । तर, डा. रेग्मीले वक्तव्य दिए, “मदनमणिसँग मेरो भेटै भएको छैन । मैले भन्दै नभनेको सरासर झुट कुरा लेख्यो ।”
वक्तव्य ‘हालखबर’मा छापियो । आफैं बोल्ने अनि आफैं खण्डन छाप्ने ? रिस उठ्यो मदनमणिलाई । उनले ‘हालखबर’मा हाँस्यव्यंग्य स्तम्भ ‘कटुमधु’ शुरु गरेका थिए । (त्यसैको विकसित रूप अहिलेको कार्टुन भएको उनी बताउँछन् ।) त्यसमा उनले लेखे, “नेता भएपछि जिब्रोमा काम्रो बाँध्नुपर्छ ।”
काम गर्न थालेको एक महिनापछिको घटना थियो त्यो ।
अनपेक्षित सफलता
‘हालखबर’को मुख्य प्रतिस्पर्धा थियो— तारणीप्रसाद कोइरालाको ‘कल्पना’सँग । ‘कल्पना’ दैनिक ४ सय प्रति बिक्री हुन्थ्यो । ‘हालखबर’ डेढ सय प्रति मात्रै ।
“मेरो लेखाइले ‘हालखबर’को बिक्री बढ्दै गयो । तीन महिनापछि तारणीप्रसादको ‘कल्पना’ ८ सय प्रति निस्किन थालेको थियो भने ‘हालखबर’ दैनिक १५ सय प्रति । अब मलाई त्योभन्दा बढ्ता के चाहियो ?” ९७ वर्षका मदनमणिको अनुहार त्यो सफलताको कथा सुनाउँदा अहिले पनि उसैगरी उज्यालो हुन्छ, “अखबारको बिक्री बढाएँ । विश्वसनीयता बढाएँ । सत्यता बढाएँ । यो मेरो सफलताको प्रारम्भिक जग थियो ।”
अफरै अफर
‘हालखबर’मा काम गरेको दुई वर्ष भएको थियो । बीपी कोइराला नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री भएका थिए । तारणीप्रसाद बीपीका भाइ । बोलाएर मदनमणिलाई भने, “कल्पना’मा आएर काम गर्नुस् ।”
मदनमणिले इन्कार गरे । फेरि बोलाएर तारणीप्रसादले भने, “सूचना विभागको डाइरेक्टर बन्दिनुस् ।”
मदनमणिले त्यो पनि इन्कार गरिदिए ।
एकदिन बीपीलाई भेट्न मदनमणि त्रिपुरेश्वरस्थित उनी बस्ने १ नम्बर गेस्ट हाउस पुगेका थिए । भर्याङबाट माथि उक्लिँदै थिए । तारणीप्रसाद तल झर्दै रहेछन् । आँखा पल्टाएर हेर्दै बोल्दै नबोली उनी तल झरे । मदनमणिले पनि बोलाएनन् । मदनमणि बीपीकोमा पसे । बीपीले उनलाई भने, “तारणीले मसँग मदनमणिलाई सूचना विभागको डाइरेक्टर बनाउँदा कस्तो हुन्छ भनेर भन्दै थियो । मैले उसलाई तैले भनेर मदनमणिले मान्दैनन् भनेको थिएँ ।”
मदनमणिले बीपीलाई भने, “सानदाजुले ठीक भन्नुभयो । म अरूको नोकरी किन गर्थें ।”
अनपेक्षित बहिर्गमन
१७ नेपालीलाई सोभियत संघले भ्रमणका लागि बोलाएको थियो । मदनमणि पनि १७ मध्येका एक थिए । फेरि बीपी कोइराला चीन जाने भए । बीपीले मदनमणिलाई बोलाउन पठाए । तर, उनी कमलपित्त रोगले थला परेका थिए । सर्वांग शरीर बेसारजस्तो पहेंलो भएको थियो । अन्तर्राष्ट्रिय बाल दिवसको दिन बीपी जयसेवा सिनेमा हलमा भाषण गर्दै थिए । मदनमणिका भाइ कुमारमणि बीपीको सचिवालयमा थिए । बीपीले कुमारमणिलाई भने, “मदनमणिलाई देख्दिनँ त ।”
कुमारमणिले भने, “उहाँ बिरामी हुनुहुन्छ जस्तो लागेको छ ।”
बीपीले भने, “बोलाएर ल्याऊ ।”
कुमारमणिले घरमै आएर भने, “बीपीले बोलाउनुभएको छ । जानुपर्ने भयो ।”
प्रधानमन्त्रीले बोलाएपछि जानै पर्यो । उनलाई कारमा हालेर जयसेवा सिनेमा हलमा लगियो । उनी उठ्न पनि सक्ने अवस्थामा थिएनन् । गाडीमै सुतिरहेका थिए । कुमारमणिमात्रै गए । बीपीले सोधे, “खोइ मदनमणि ?”
कुमारमणिले भने, “गाडीमै हुनुहुन्छ ।”
भाषण रोकेर बीपी गाडीमा गएर मदनमणिलाई हेरे । उनी अचेत अवस्थामा सुतिरहेका थिए । बीपीले कुमारमणिलाई भने, “यस्तो बिरामीलाई ल्याउने हो ? मलाई भन्नुपर्दैनथ्यो ? यति धेरै बिरामी भन्ने मलाई के थाहा ? घर पुर्याएर आऊ ।”
बिरामी भएका कारण बीपीसँग चीन जान पाएनन् उनी । १५ दिनमा मदनमणि तंग्रिए । तर, त्यो १५ दिनसम्म बिरामी हुँदा ‘हालखबर’का सञ्चालक रंगनाथ शर्मा मदनमणिको स्वास्थ्य अवस्था बुझ्न आएनन् । न त उनीसँग काम गर्ने भैरव रिसाल र दाताराम शर्मा नै आए ।
“तपाईंको पत्रिकाको बिक्री बढ्यो । प्रतिष्ठा बढ्यो । देशभरका समाचार पत्रिकामा छापिन थाले । यो सबै मैले गरें तर म यति धेरै बिरामी हुँदा पनि न तपाईं एकपटक के भयो भनेर सोध्न आउनुभयो न तपाईंले कसैले पठाउनुभयो । मेरो चित्त दुख्यो । म तपाईंको पत्रिकामा काम गर्दिनँ । मेरो लिनुपर्ने बाँकी तलब १८ सय छ । त्यो पठाइदिनुस् । यति लेखेर राजीनामा पठाएँ,” ‘हालखबर’ छोड्दाको तीतो प्रसंग सुनाए मदनमणिले, “उहाँले ११ सय रुपैयाँ पठाइदिनुभयो । बाँकी पैसा उहाँले अहिलेम्म तिर्नुभएको छैन ।” यति भनेर मदनमणि हाँसे ।
रंगनाथले बीपीसँग चीन जानका लागि दातारामको नाम सिफारिस गरेका थिए । तर, बीपीले दातारामलाई लगेनन् ।
‘समीक्षा’को जन्म
‘हालखबर’ छोडेपछि गर्ने के ? अब अरूको पत्रिकामा होइन, आफैं पत्रिका निकाल्ने । त्यसमै काम गर्ने ।
त्यो बेला दरबारमा जाहेर गर्यो भने पत्रिका निकाल्ने खर्च दरबारले दिन्थ्यो । दरबारका तत्कालीन संवाद सचिव मधुसूदन पाठकको घर पुगे मदनमणि । कुरा राखे । मधुसूदनले भने, “यो अफिसियल कुरा अफिसमै गरौं । अफिसमै आउनुस् ।”
मदनमणि दरबारको संवाद सचिवालय पुगे । त्यहाँ मधुसूदनले भने, “निजीस्तरबाट निस्किने अखबार व्यक्तिको हुन्छ । व्यक्तिले निकाल्ने अखबारलाई सरकारले किन सहयोग गर्ने ?” बाटै बन्द गरिदियो दरबारले ।
कम्युनिस्ट भएकाले दरबारले सहयोग नगरेको मदनमणिको बुझाइ छ ।
त्यसपछि ?
एकजनाले अखबार निस्किँदैनथ्यो । संवाददाता र कार्यालय सहयोगी पनि चाहिन्थे । प्रेस र कागज खर्च पनि चाहिन्थ्यो । जुटाउने कसरी ? खर्चको समस्या छँदै थियो । नाम के राख्ने, त्यसको पनि टुंगो लगाउनु थियो ।
नयाँ सडकमा पढेलेखेका व्यक्ति र साहित्यकारको जमघट हुन्थ्यो । हरेक दिन मदनमणि त्यहाँ पुग्थे र अखबार निकाल्न लागेको भन्दै ‘नाम के हुन सक्छ ?’ भनेर सुझाव माग्थे ।
एकदिन सैनिक अस्पतालको पछाडि बस्ने धनुषचन्द्र गौतमको कोठामा पुगे उनी । शैलेन्द्रकुमार उपाध्याय पनि त्यहीँ थिए । त्यहाँ पनि पत्रिकाको नाम र आर्थिक स्रोतबारे चर्चा शुरु भयो । करिब ४ सयवटा नाम आए पनि चित्त नबुझेर सबैलाई खारेज गर्दै गएका थिए मदनमणि । धनुषचन्द्रले भने, “समीक्षक’ राखौं ।
मदनमणिले भने, “समीक्षक भनेपछि व्यक्तिकेन्द्रित हुन जान्छ । ‘समीक्षा’ भयो भने व्यक्तिको विचार भए पनि त्यो तटस्थ देखिन्छ । त्यसैले ‘समीक्षा’ राखौं ।”
तीनै जनाले ‘समीक्षा’ नाम राख्ने निर्णय गरे । नाम जुटेपछि पैसाको बन्दोबस्ती अर्को महाभारत थियो ।
बीपी कोइरालासँग भेट्न उनी १ नम्बर गेस्ट हाउस त्रिपुरेश्वर पुगे । कुरा राखें । बीपीले भने, “मैले कति आर्थिक सहायता गर्नुपर्यो ?”
मदनमणिले भने, “मलाई महिनाको ६ सय रुपैयाँ चाहिन्छ ।”
बीपीले भने, “भोलि आएर लैजानुस् ।”
घर आएर हिसाब गर्दा ६ सयले त प्रिन्ट र कागजलाई मात्रै पुग्ने रहेछ । ९ सय रुपैयाँ चाहिने रहेछ । अर्को दिन बीपीसँग भने, “मैले हिजो गल्ती गरेछु । ६ सयले नपुग्ने रहेछ । ९ सय चाहिने रहेछ ।”
बीपीले भने, “तपाईंले हिजो ६ सय रुपैयाँ भन्नुभयो, त्यसैले ६ सय रुपैयाँ बन्दोबस्त गरिदिएको छु । लैजाने भए लैजानुस्, नत्र भैगयो ।”
त्यही ६ सय रुपैयाँ भए पनि छोड्ने कुरा भएन । लिएर आए । पैसा लिएर आएको तीन दिनमा ‘समीक्षा’को पहिलो अंक निकाले २ सय प्रति ।
०१६ साल चैतमा निस्किएको थियो ‘समीक्षा’को पहिलो अंक । असनमा छापिने पत्रिका प्युखामा रहेको कोठासम्म आइपुग्दा सय प्रतिभन्दा धेरै बिक्री भइसक्थ्यो । बाँकी पिपलको बोटमा बसेर पत्रिका बेच्ने जितमान बूढालाई दिन्थे । त्यही दिन त्यो पत्रिका सकिन्थ्यो ।
०१७ सालमा राजा महेन्द्रले राजनीतिक ‘कू’ गरे । प्रजातन्त्र खोसियो । ‘समीक्षा’ले पाउँदै आएको ६ सय रुपैयाँ पनि प्रजातन्त्रसँगै खोसियो ।
जग्गा बेचेर पत्रिका
हजुरबुवा ०२१ सालमा परलोक भएपछि उनले बाँडेर बाँकी रहेको सय बिगाहा जग्गामध्ये ३३ बिगाहा मदनमणिको भागमा प¥यो । त्यही जग्गा बेच्दै ‘समीक्षा’ प्रकाशन गर्न थाले मदनमणि ।
“हामी रुसमा पढ्दै थियौं । उहाँ (मदनमणि) विज्ञापन माग्न जाँदै नजाने । प्रेसले विश्वास गथ्र्यो । ६–८ महिनामा जग्गा बेचेर एकमुष्ट प्रेसलाई पैसा तिर्नुहुन्थ्यो,” छोरा विनोद भन्दै थिए ।
‘समीक्षा’मा प्रतिबन्ध
पञ्चायती व्यवस्था थियो । मदनमणि इमानका खम्बा । न कसैसँग झुक्थे न डराउँथे । उनको कलम निरन्तर चलिरहन्थ्यो । पञ्चायत आफ्नो प्रशंसामा लेख्नेलाई पुरस्कृत गथ्र्यो, नलेख्नेलाई प्रतिबन्ध लगाउँथ्यो । विम्ब र प्रतीक प्रयोग गरेर मदनमणि समाचार लेख्थे । तर, लेख्न खोजेको के र भन्न खोजेको कसलाई भनी प्रष्टै थाहा हुन्थ्यो । त्यसैले ‘समीक्षा’ पञ्चायको तारो बन्यो ।
हरेक १५ दिनको बिहान १० बजे सीडीओ कार्यालय र हरेक महिना दिनमा अञ्चलाधीशको कार्यालय पुगेर बयान दिनुपथ्र्यो । पञ्चायत कालभरि ‘समीक्षा’ आठ पटक प्रतिबन्धमा पर्यो ।
धेरै पटक हनुमानढोका र अञ्चलाधीशको हिरासतमा थुनिए मदनमणि । शुरुमा त अञ्चलाधीशकै तजबिजीमा सबै कुरा थियो । तर, जब सर्वोच्चमा मुद्दा चलाउन पाउने व्यवस्था आयो, त्यसपछि चारपटक लागेको प्रतिबन्ध भने अदालतको आदेशबाटै फुकुवा भयो ।
८–१० पेजको पत्रिका मदनमणि एक्लै निकाल्थे । उनले ‘हालखबर’देखि ‘समीक्षा’सम्मको हिसाब गर्दा ३ करोडभन्दा धेरै लेखेको आँकलन आएको छ । उनका ४४ वटा पुस्तक प्रकाशन भइसकेका छन् । गत वर्ष मात्रै पनि पुस्तक ‘मेरी माता’ प्रकाशन गरेका मदनमणिको केही महिनापछि राजा महेन्द्रका बारेमा लेखिएको करिब डेढ सय पृष्ठको पुस्तक सार्वजनिक हुँदै छ । उनी अहिले पनि कतिपय लेख्य सामग्री आफैं लेख्छन् । कति अरूलाई आफू अगाडि बसेर टाइप गर्न लगाउँछन् । भाषामा विज्ञ उनी ह्रस्व, दीर्घसहित भनेर टाइप गराउँछन् ।
० ० ०
०१७ सालमा पञ्चायतले नेताहरूलाई पक्राउ गरेर जेल हाल्यो । इन्द्रचोकमा मदनमणि दुई महिना भूमिगत भए । ०१८ वैशाखमा राजाले आममाफी घोषणा गरे । उनी पनि बाहिर आए । विश्वबन्धु थापा गृहमन्त्री थिए । मुख्य अञ्चलाधीश विश्वमणि आचार्य थिए । आचार्यले थापालाई फोन गरेर भने, “मदनमणि सडकमा घुमिरहेको छ रे ! उसलाई पक्राउ गर्नू ।”
विश्वमणिले भनेछन्, “श्री ५ बाट आममाफी भएको छ । कसरी पक्राउ गर्नू ?”
“मैले भनेपछि गर्नुस् ।”
(राजाका विश्वास पात्र आचार्य मन्त्रीभन्दा पनि शक्तिशाली थिए ।)
“त्यसो भए लेखेर पठाउनुस्, अनि म पक्राउ गर्छु ।”
उनले लेखेर पनि पठाएनन् र मदनमणि पक्राउ पनि परेनन् ।
०१८ को पुसमा प्युखा टोलमा एउटा केटाले हात समाएर भन्यो, “तपार्इं मदनमणि हो ?”
“हो ।”
मदनमणिलाई नख्खु जेल पुर्याइयो । न पुर्जी न केही— बिनाकारण पक्राउ परे । पत्रिकामा पनि प्रतिबन्द लगाइदिए ।
० ० ०
०१७ सालको राजनीतिक ‘कू’भन्दा अगाडि राजा महेन्द्रसँग मदनमणिको भेट भयो । महेन्द्रले मदनमणिलाई भने, “म ‘समीक्षा’ पढ्छु । राम्रो लाग्छ । चित्त बुझ्छ ।”
पछि ‘कू’ गर्दा दरबारले मदनमणिलाई ‘भूमिगत बस्नू’ भनेर खबर पठायो ।
कारण ?
पत्रिका प्रकाशन गरिरहेको, कुनै पनि राजनीतिक दलसँग खुलेर आबद्ध नभएको र त्यस्तो गतिविधि पनि नगरेकोलाई पक्राउ गर्दा राम्रो सन्देश जाँदैन भन्ने राजा महेन्द्रको निष्कर्ष थियो । पछि महेन्द्रले ‘कू’ गरेपछि मदनमणि दरबार गएर पत्रिकामा प्रतिबन्ध लगाइएको विषयमा जाहेर गर्ने भए । उनले ‘नेपालको पहिलो संविधानबाट राजाले धेरै अधिकार आफूमा राख्नु हुन्न’ भनेर लेख्नु नै पत्रिका बन्द गरिनुको कारण थियो ।
यही विषयमा कुरा गर्ने भनेर संवाद सचिवमार्फत मदनमणिले जाहेर गरेका थिए तर महेन्द्रले भेटमा यो विषय नै उठाएनन् । मात्रै यति भने, “समीक्षाले जे लेखेको छ, ठीक छ । मेरो असन्तोष छैन । गल्ती सबैबाट हुन्छ । तिमीबाट पनि भयो होला ।” त्यसपछि फेरि एकपटक राजा महेन्द्रसँग भेट भयो तर त्यो बेला के कुराकानी भयो, उनलाई याद छैन ।
राजा वीरेन्द्रसँग दर्शनभेट माग भनेर मदनमणिलाई धेरैले सुझाए तर उनले मानेनन् । उनी भन्दिन्थे, “राजासँग भेट्नुपर्ने मेरो कुनै काम छैन । उनको काम छ भने उनी आफैंले बोलाउँछन् ।”
राजा महेन्द्रको अवसान भएकै वर्षको दशैंका बेला राजा वीरेन्द्रले मदनमणिलाई बोलाए । वीरेन्द्रसँगको भेट खासै यादगार भएन । मदनमणि भन्छन्, “न वीरेन्द्रले मप्रति कुनै असन्तुष्टि देखाए न मेरो प्रशंसा नै गरे । उनले राजाको रूपबाट जति सामान्य नागरिकलाई व्यवहार गर्थे, त्यति नै गरे ।”
मन्त्री र राजदूतको अफर
“मेरो एउटा बानी थियो । त्यो अहिले पनि छ । म मान्छेहरूसँग त्यति धेरै भेट्दिनँ । एकपटक भेटेपछि हतपत्ति अन्त्य गर्दिनँ । १५ मिनेटका लागि मात्रै भए पनि हप्ता–दश दिनमा भेट्न जान्छु,” मदनमणिले ०२१ सालको एउटा घटना सुनाए ।
डा. तुलसी गिरीसँग उनले समय मागे । उनी १ नम्बर गेस्ट हाउसमा बसेका थिए । कुराकानी भयो । दोस्रोपटक जाँदा उनले मदनमणिलाई भने, “तपाईं मेरो मन्त्रिपरिषद्मा आउनुस्, सहायक मन्त्री बन्नुस् ।”
मदनमणिले जवाफ दिएनन् । एउटा कानले सुने, अर्को कानले उडाइदिए । त्यसको १० दिनपछि फेरि गए । गिरीले भने, “सहायक मन्त्रीमा बोलाको, तपाईं आउनुभएन । राज्यमन्त्रीमा आउनुस्, सरकारसँग बिन्ती चढाउँछु ।”
मदनमणिले भने, “तपाईं मलाई राज्यमन्त्रीमा राख्नुहुन्छ, ठीक छ त्यसका लागि धन्यवाद । तर, यो निर्दलीय व्यवस्थाप्रति मेरो असहमति छ ।”
गिरीले भने, “यो निर्दलीय होइन, एकदलीय व्यवस्था हो ।”
मदनमणिले भने, “त्यसो भए यो एकदलीय व्यवस्था हो भनेर ‘गोरखापत्र’मा वक्तव्य दिनुस्, त्यो छापिएकै दिन म तपाईंको मन्त्रिपरिषद्मा आउँछु ।”
उनले भने, “त्यो त हुन सक्दैन ।”
मदनमणिले पनि भनिदिए, “त्यसो हो भने म पनि तपाईंको मन्त्रिपरिषद्मा आउन सक्दिनँ ।”
मन्त्रीका लागि अफर गरेको तीन हप्ता भएको थियो । शैलेन्द्रकुमार उपाध्याय (नाताले मदनमणिका भानिज)लाई भेट्न उनी पाटन गएका थिए । फर्किंदा उनले ‘सिंहदरबारसम्म छोड्दिन्छु’ भने । मदनमणि उनकै मोटरमा बसे । बागमती पुल तरेपछि उनले भने, “मामा ! तपाईंलाई परराष्ट्र मन्त्रालयमा काम मिलाऊँ ?”
मदनमणि— परराष्ट्र सचिव कि सहायक ?
शैलेन्द्रकुमार— राजदूत नै हो नि !
मदनमणि— कुन देशको ?
शैलेन्द्रकुमार— रुसको ।
मदनमणि केही जवाफ नदिई घर आए । तीन जना कम्युनिस्ट नेता साथी (कमर शाह, कृष्णराज बर्मा, कृष्णप्रसाद श्रेष्ठ) लाई बोलाएर छलफल गरे । दुई घण्टा चलेको छलफलमा उनीहरूले भने, “घर खर्च चलाउन कठिन भइरहेका बेला राजदूतका लागि अफर आउँछ भने जानुस् ।”
मदनमणिले भने, “म राजदूत भएर रुस त जान्छु तर मेरो ‘समीक्षा’ के हुन्छ ?”
तीनै जनाले भने, “केही समयका लागि बन्द हुन्छ । पछि आएर फेरि चलाउँदा हुन्छ ।”
मदनमणिले भने, “समीक्षा बन्द गरेर म राजदूत हुन चाहन्नँ ।”
पछि उनले थाहा पाए— राजा महेन्द्रले ‘मदनमणिलाई रुसको राजदूत बनाउनु पर्यो, मनाऊ’ भनेर शैलेन्द्रलाई पठाएका रहेछन् ।
शैलेन्द्र पञ्चायतका खम्बामध्येका एक हुन् । डा. तुलसी गिरी, सूर्यबहादुर थापा, कीर्तिनिधि विष्टलाई दरबारले जति विश्वास गथ्र्यो, त्यत्ति नै विश्वास उनलाई पनि गथ्र्यो ।
आत्मदाहको प्रयास
०३२ सालमा डा. तुलसी गिरीले तत्कालीन प्रधानमन्त्री नगेन्द्रप्रसाद रिजाललाई सल्लाह दिए, “भारतमा इन्दिरा गान्धीले संकटकाल घोषणा गरिन् । भारतमा अब २५औं वर्षसम्म प्रजातन्त्र हुँदैन, नेपालमा चाँहि किन चाहियो प्रजातन्त्र ?”
गिरीले दिएको सुझावका आधारमा रिजालले सात वटा पत्रिकामा प्रतिबन्ध लगाए । 'मातृभूमि', 'राष्ट्रपुकार', 'समाज', 'कमनर' लगायत थिए । तीमध्ये एउटा ‘समीक्षा’ पनि थियो । बन्द गर्नुको कुनै कारण थिएन । मदनमणि भन्छन्, “बन्द गर्नुको कारण यत्ति हो— म सरकारको चाकडी गर्दिनथें ।”
प्रतिबन्ध लागेको ‘समीक्षा’लाई कसरी फुकुवा गर्ने उपाय खोज्न थाले । राति सुत्ने बेलामा उनको मनमा कुरा आयो, “अखबार निकालेको दिनदेखि आजसम्म अखबारबाट पैसा कमाउने कुनै पनि काम गरिनँ । कसैको सेवा, चाकडी गरिनँ । देश र जनताका विरुद्धमा एक अक्षर लेखिनँ तर पनि मेरै पत्रिका किन बन्द भयो ? यही हो हाम्रो व्यवस्था ? भोलि दरबारको ढोकाअगाडि पुलिस बस्ने ठाउँनेर शरीरमा पेट्रोल खन्याएर आत्महत्या गर्छु ।”
तर, अर्को दिन त्यसो गरेनन् । त्यसको तीन दिनपछि फेरि झोक चल्यो । जे पर्छ आत्मदाह गर्छु भन्ने सोचे । फेरि अर्को मनले भन्यो— मैले के अपराध गरेको छु र मैले आफैंलाई प्राण दण्ड दिने ?
अर्को दिन उनी तुलसी गिरीकहाँ पुगेर सोधे, “के कारणले ‘समीक्षा’ बन्द भयो ?”
गिरीले भने, “हेर्नुस् मदनमणिजी ! नेपालमा तपाईंजस्तो स्वच्छ र इमानदार व्यक्ति अर्को कोही छ ?”
छ/छैन, मदनमणिले केही भनेनन् ।
गिरीले भने, “तपाईंले मलाई भन्नुभएको कुरा दरबारमा गएर भन्नुस् ।”
चिरण शमशेर थापाकोमा गएर मदनमणिले आफ्नो सबै कुरा राखे । चिरण शमशेरले भने, “मदनमणिजी ! नेपालको जनसंख्या अहिले डेढ करोड पुगेको छ । नेपालको राजामा तपाईं एक जनामा मात्रै दुश्मनी होला र ? जानुस्, तुलसी गिरीकोमा गएर कुरा गर्नुस् ।”
गिरीले पुरानै कुरा गरे । फेरि पुगे चिरणकोमा । तीनपटक यता र उता गरे तर समाधान निस्किएन । त्यसपछि उनले निर्णय गरे— तिम्रो पञ्चायतको प्रजातन्त्र भनेको यही रहेछ, अब म आत्मदाह गर्छु ।
बिहान साढे ४ बजे उठेर मनमा निर्णय लिए— आज दिउँसो साढे ४ बजे दरबारको दक्षिणढोका अगाडि एउटा रोचक घटना हुनेवाला छ, इन्ट्रेस्ट छ भने हेर्न आउनुहोला भनेर नेपालमा रहेका अन्तर्राष्ट्रिय मिडियालाई खबर गर्छु र आत्मदाह गर्छु ।
यो सोच्दासोच्दै उनी झकाएछन् । ५ बजे पुनः ब्युँझिए । मनमा फेरि प्रश्न उठ्यो— अपराध कसले गरेको हो ?
मैले ?
होइन ।
त्यसो भए किन आफूलाई प्राण दण्ड दिने ?
फेरि निदाए । १५ मिनेटपछि आँखा खुल्यो ।
०३२ मंसिर १ गते बिहान उठेर निर्णय गरे— म आत्महत्या गर्दिनँ । सरकारले मेरो अखबार त खोस्न सक्छ तर मेरो हातको कलम र मेरो विचार खोस्न सक्दैन भन्ने प्रमाणित गर्न म लेख्छु ।
दिउँसो ११ बजेबाट उनले लेख्न थाले । १८ पेज लेखे । “त्यो १८ पेज मदन पुरस्कार पुस्तकालयमा अहिले पनि होला,” उनी भन्छन् ।
मंसिर २ गते मदनमणिका साथी रामजीप्रसाद उपाध्याय आए । उनले आफ्नो पीडा र मनमा उठेका विचार सुनाए । उनले सोधे, “तपाईंले आत्मदाह गर्ने निर्णय रोक्नुभयो । पुस्तक लेख्ने निर्णय पनि गर्नुभएछ । तर त्यो पुस्तकचाँहि के हो ?”
मदनमणिले महाभारतमा रहेको नलदमयन्तीलाई लिएर पुस्तक लेख्ने विचार रहेको सुनाए । रामजीप्रसादले सुझाए, “योभन्दा माधवी चर्चित छ, त्यसमा लेख्नुस् ।”
मदनमणिलाई चित्त बुझ्यो । माधवीबारे महाभारतमा जम्मा तीन पृष्ठ छ । लेख्न त लेख्ने तर के लेख्ने ? माधवीको समय के हो ?
माधवीको समय निर्धारण गरे— वि.सं. १३ सयभन्दा अगाडिको हो । भाषा कुन ? संस्कृतमा ।
संस्कृतमा लेख्दा पाठकले बुझ्दैनन् भन्ने लाग्यो । त्यसैले इसापूर्वभन्दा ८ सय वर्षयताको कौटिल्य, विष्णुगुप्तको भाषा प्रयोग गर्छु भनेर मदनमणिले ‘माधवी’ लेखे । ‘समीक्षा’को प्रतिबन्धले जन्माएको ‘माधवी’ ०३९ सालमा प्रकाशन भयो र सोही वर्ष मदन पुरस्कार पायो । ०४० सालबाट एमएका विद्यार्थीले पाठ्यक्रममा ‘माधवी’ पढ्नुपर्छ ।
सँगै रहेका छोरा विनोदलाई र्याकबाट ‘माधवी’ झिक्न लगाए । हातमा रहेको ‘माधवी’लाई देखाउँदै मदनमणिले भने, “यो ‘माधवी’को पहिलो संस्करण हो । अहिलेसम्म सातौं संस्करण आइसक्यो ।”
अहिलेको पत्रकारिता
अहिले पनि मदनमणि लेख्छन् । पढ्छन् । करिब तीन–चार महिनाअगाडि उनको लेख पत्रिकामा छापिएको थियो । लेख्नुपर्ने कुरा कपीमा बुँदा टिपेर राख्छन् र मान्छे आएपछि टाइप गराउन लगाउँछन् ।
अहिले मदनमणि दैनिक दुइटा पत्रिका पढ्छन् । ‘अन्नपूर्ण पोस्ट’ र ‘राजधानी’ । अहिलेको पत्रकारितालाई लिएर उनी भन्छन्, “हेर्नुस् ! म अहिले जम्मा दुइटा मात्रै पत्रिका पढ्छु । ‘अन्नपूर्ण पोस्ट’ र ‘राजधानी’ । यी दुइटै पत्रिकामा भाषाको ठूलो समस्या छ । दुइटैमा अंग्रेजी र हिन्दी भाषा प्रचुर प्रयोग भएको पाइन्छ । यो राम्रो होइन । पहिला त्यस्तो थिएन । अब समाचारको कुरा गर्दा म सम्पादकीय पढ्दै पढ्दिनँ किनभने मलाई चित्तै बुझ्दैन । सरसर्ती न्युज हेडलाइन पढ्छु । हेडलाइनले आकर्षित गर्यो भने त्यसभित्र जान सकिन्छ । आज एउटा पत्रिकाले प्रमुख समाचार बनाएको छ भने भोलि अर्को पत्रिकाले त्यही समाचारलाई प्राथमिकता दिएको देखिन्छ । यसले पत्रिकामा प्रतिस्पर्धा रहेको देखाउँछ । एउटाको समाचार अर्कोले भोलिपल्ट फलोअप गरेको देखिन्छ । यसको अर्थ समाचारको स्रोत गोलमाल छ । अर्को कुरा— एउटा पत्रिकामा तीन–चार पेज विज्ञापनले भरिभराउ हुन्छ । त्यति धेरै विज्ञापन छापेपछि १० रुपैयाँ मूल्य अनुचित हो जस्तो लाग्छ । विज्ञापनलाई प्राथमिकता दिने हो भने अझै पैसा घटाउनुपर्छ । अरू कुरा ठिकै छ ।”