दाङ । दाङमा नेक्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका पाँच जना नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
नेकपाका घोराही नगर इन्चार्ज सहदेब चौधरी 'बिहानी' लाई बेलुका पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । यस अघि चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
उनीहरुलाई सार्वजनिक नैतिकता विरुद्धको मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले विप्लव समूहबाट दाङमा चन्दा आतंक मच्चिएको जनाएको छ ।
जनप्रतिनिधी, शिक्षक, कर्मचारी, उद्योगी व्यवसायीबाट विना रसिद चन्दा लिने क्रम बढ्दै गएको सूचना आएको प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।
नेक्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका गतिबिधीहरु हिंसात्मक तर्फ उन्मूख हुन थालेको भन्दै सरकारले गएको फागुन २८ गतेदेखी प्रतिबन्ध लगाएको थियो ।
यसैबीच प्रहरीले अहिले सम्म ७ थान अवैध हतियार संकलन भएको जनाएको छ । केही दिन पहिले प्रहरीले सार्वजनिक सूचना जारी गरी अवैध हातहतियारहरु ३५ दिन भित्र प्रहरीमा बुझाउन भनेको थियो । एसपी पाण्डेका अनुसार अहिलेसम्म खिलतपुर प्रहरीमा ४ र तुलसीपुर क्षेत्रमा ३ थान गरी ७ थान अवैध भरुवा बन्दुक नागरिकहरुले बुझाएका छन् ।