site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
ठूला विकास आयोजनाको गति सुस्त

दाङ । दाङमा ठूला विकास आयोजनाको गति सुस्त देखिएको छ । विकासका लागि आएको बजेट पनि कम खर्च भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयको तथ्यांकले चालु आर्थिक वर्षको हालसम्म भइसक्नु पर्ने विकास र खर्च कम देखाएको हो ।

चालु आर्थिक वर्षको दोस्रो चौमासिक पूरा हुनै लाग्दा विकास आयोजनाले गति लिन सकेका छैनन् । आयोजनाका लागि आएको रकम कम खर्च हुनु नै विकास आयोजनाले गति लिन नसक्नुको कारण हो । देशमा तीन तहको सरकार सञ्चालनमा छ तर पनि जनताले अनुभुति गर्ने गरी विकासका कामहरु तिव्र रुपमा अघि बढ्न सकेका छैनन् । न गतिलो विकासका योजना बन्न सकेका छन् न त छनोट भएका योजनाले नै गति लिन सकेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कोष तथा लेखा नियन्त्रक कार्यालय दाङकाअनुसार विभिन्न ठूला तथा साना आयोजनाका लागि आएको पुँजीगत खर्च हालसम्म करीब ५६ प्रतिशत मात्र खर्च भएको छ । अहिलेसम्म ७५ प्रतिशतसम्म विकास खर्च हुनुपर्ने हो । विकासका योजनाका लागि आएको रकम समयमै खर्च हुन नसक्दा प्रत्येक वर्ष अर्बौंको रकम फिर्ता भएर जाने गरेको छ भने कतिपय योजना असार मसान्त सकिनै लाग्दा हतार-हतारमा खर्च गर्ने गरेको कोष तथा लेखा नियन्त्रक अर्जुनबहादुर डिसीले बताए ।

उनले भने, "अधिकांश विकासका योजना दोस्रो चौमासिकसम्म सुस्त हुने गर्छन्, अन्तिम चौमासिक आउँदा अधिकांश योजनाले विकास बजेट हतार-हतारमा खर्च गर्ने परिपाटी छ। पुँजीगत खर्च कम हुनु भनेको विकासका योजना निर्माणले गति लिन नसकेको प्रष्ट रुपमा बुझ्न सकिन्छ, दाङमा विभिन्न योजनाका लागि आएको पुँजीगत बजेट वर्षेनी फ्रिज भएर जाने गरेको छ ।"

जिल्लामा चालु आर्थिक वर्षको दोस्रो चौमासिक सकिनै लाग्दा ४४ प्रतिशत पुँजीगत रकम खर्च हुन बाँकी छ । विगतको तुलनामा पुँजीगत रकमको खर्च बढे पनि सोंचे अनुसारको नभएको सूचना अधिकारी चौधरीको भनाइ छ । "अघिल्लो वर्ष यो समयमा करिब ५० प्रतिशत मात्रै पुँजीगत रकम खर्च भएको थियो", उनले भने, "तर यो वर्ष ५६ प्रतिशत खर्च भएको छ । अघिल्लो वर्षको तुलनामा ६ प्रतिशत बढी खर्च भएपनि सोचे अनुसार खर्च हुन सकेको छैन् ।"

चौधरीका अनुसार पछिल्लो समय पुँजीगत खर्च यो समयमा करीब ६५ प्रतिशत पुगेको हुनुपर्छ । आर्थिक वर्ष सकिनै लाग्दा योजनाको रकम व्यापक खर्च हुने गरेको छ, जसले गर्दा आर्थिक वर्षको दोस्रो चौमासिकसम्म खर्च बढ्न नसकेको उनले बताए । 

प्रकाशित मिति: बुधबार, चैत १३, २०७५  १९:१९
प्रतिक्रिया दिनुहोस्