site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
ग्वार्को फ्लाइओभरको मुख्य संरचना निर्माण सम्पन्न

काठमाडौं । ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरको मुख्य संरचना निर्माण सम्पन्न भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहित सडक विभागको नेतृत्वले शनिबार (जेठ ३१) फ्लाइओभरको स्थलगत निरीक्षण गरेको छ ।

निरीक्षणका क्रममा मन्त्री दाहालले फ्लाइओभर निर्माण नौलो अभ्यास भएकाले केही ढिला भएको बताए । अरू निर्माणाधीन योजना तथा आयोजना पूरा गराउन मन्त्रालयले प्राथमिकता दिएको उनले उल्लेख गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सडक विभागका महानिर्देशक डा. विजय जैसीले मुख्य संरचनाको निर्माण पूरा भएको बताए । केही दिनभित्रमा यहाँ सार्वजनिक यातायात सञ्चालन गरिने उनले जानकारी दिए ।

सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दीप बाराहीले अब फ्लाइओभरको मध्यभागमा ‘डिभाइडर’ राख्ने र केही सामान्य काम बाँकी रहेकाले यथाशीघ्र सञ्चालनमा आउने विश्वास व्यक्त गरे । २३ दिनभित्रै बाँकी काम पूरा भएपछि यातायात सञ्चालनका निम्ति खुला गरिने उनले जानकारी दिए ।

पूर्वनिर्धारित समयमा निर्माण पूरा हुन नसकेपछि मन्त्री दाहालले पटक–पटक निरीक्षण र अनुगमन गरेर तीव्र गतिमा काम गर्न निर्देशन दिएका थिए । उक्त फ्लाइओभर सञ्चालनपछि कोटेश्वर र ग्वार्को क्षेत्रको यातायात सेवा सहज हुने अपेक्षा गरिएको छ । रासस

प्रकाशित मिति: शनिबार, जेठ ३१, २०८२  १७:५६
प्रतिक्रिया दिनुहोस्