दाङ । कुनै ठाउँमा कुनै घटना भयो भने सबैभन्दा पहिले खबर गरिन्छ प्रहरीलाई । तर, प्रहरीले नै प्रयोग गर्ने सञ्चारको अवस्था भने निकै कमजोर छ दाङको घोराही उपहानगरभित्रकै एक प्रहरी चौकीमा ।
कुनै पनि सञ्चार नेटवर्कले काम नगर्दा घोराही उपमहानगरपालिका-१९ स्थित दुई खोली प्रहरी चौकीमा मोबाइल झुण्ड्याउनकै लागि छुट्टै बाँसको खाँबोको व्यवस्था गरिएको छ । त्यति गर्दा अलि अलि टावर देखिए पनि पूर्णरुपमा भने कुराकानी गर्न सम्भव हुँदैन ।
"केही घटना हुँदा खबर गर्नुहोस् भने नागरिकलाई नम्बर दिएका हुन्छौं तर फोनको यो हालत छ", प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक सागर घर्तीले भने, "सञ्चार सुविधा नहुँदा कार्य सम्पादनमा समस्या आउने गरेको छ ।"
जसले गर्दा कतै केही घटना भइहाल्यो भने नागरिक आफैं दौगडेर प्रहरीलाई सम्पर्क गर्नुपर्ने अवस्था छ । "भौगोलिक विकटताका कारण यो ठाउँमा कतै पनि फोनले टावर दिँदैन", प्रसनि घर्तीले भने, "कतै केही घटना भए पनि हामीलाई निकै कठिन परिरहेको छ ।"
सञ्चारबाट बन्चित भएका कारण यो क्षेत्रमा जति सुबिधा दिनपर्ने हो, त्यति दिन नसकेको उनले बताए । "समयमै सूचना नआउँदा कति अपराध भएलगत्तै अभियुक्त फेला पार्न समस्या हुने गरेको छ", उनले भने, "घटना भएको समयमै थाहा हुँदैन, हामीलाई निकै नै समस्या परिरहेको छ ।"
यो विषयमा पटकपटक माथिल्लो तहमा जानकारी गराएको र स्थानीय जनप्रतिनिधिलाई आग्रह गरिरहेको भए पनि अहिलेसम्म पनि संचारको क्षेत्रमा हामीलाई सहज गराउने गरी कुनै उपाय नआएको उनले बताए ।
बाँसको खाँबोमा अहिले कार्यालयको फोनलगायत मोबाइलमा कुरा गर्नका लागि अन्य प्रहरीको पनि मोबाइल फोन प्लास्टिकको झोलामा झुन्ड्याउने गरेका छन् । प्रहरी मात्र होइन, यस क्षेत्रका स्थानीयबासीको पीडा पनि उस्तै हो । दाङजस्तो सुगम जिल्लाको मुटु मानिने घोराही उपमहानगरपालिकाको बासिन्दा भएको आफूहरुले अनुभव गर्न नपाएको स्थानीयको गुनासो छ ।
उपहानगरपालिकालाई उपमहानगरकै कर तिरे पनि सेवा सुविधामा भने दुर्गमको जस्तो पीडा भोग्नुपरेको स्थानीयको भनाइ छ ।