site stats
बाह्रखरी :: Baahrakhari
देश
कसरी बनाइँदैछ ‘स्मार्ट छोरी’ ?

दाङ । तुलसीपुर उपमहानगरपालिका-४ रक्षाचौरमा रहेको गुरुजजुर माविको चौरभरी किशोरीहरु लाइन लागेर उभिएका थिए। १४ देखि १६ वर्ष उमेरका किशोरीहरुले आफूमाथि आपत आइपर्दा कसरी जोगिने भन्ने बारेमा विभिन्न तरिकाहरु सिकिरहेका थिए।

“पछाडिबाट कसैले च्याप्प समात्न आयो भने हातको जोर्नीमा समात्ने” प्रशिक्षक निरज न्यौपानेले उनीहरुलाई विभिन्न उपाय सिकाइरहेका थिए। “मानसिक रुपमा घटनाको सामना गर्न सक्छु भन्ने सोच राख्नुहोला” उनले उपाय सुझाए।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“निकै टाढा जंगलबाट विद्यालय आउनु पर्दा डर लाग्थ्यो। तर, यो तालिमपश्चात् केही आत्मविश्वास पलाएको छ” नौ कक्षामा पढ्ने सुनिता केसीले बताइन्। हरेक दिन दुई घण्टा हिंडेर विद्यालय आउने केसीले अरुलाई पनि यस्तो सीपको बारेमा सिकाउने छिन्।

यस्तै, कक्षा नौ मै पढ्ने सविना डाँगीले सानो कुरामा हुने गरेको तनाव कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा जानकारी पाएको बताइन्। “साथीहरुले या घरमा बाआमाले केहीभन्दा सानो सानो कुरामा पनि तनाव हुन्थ्यो, अब त्यसलाई कसरी कम गर्ने भन्ने बारेमा जानकारी पाइयो ” डाँगीले भनिन्।

महिला हिंसा र बलात्कारका घटनाबाट कसरी जोगिने भनेर तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको प्रतिरक्षाका लागि ‘स्मार्ट छोरी’ कार्यक्रम अगाडि बढाएको छ। "छोरीहरुलाई जटिल अवस्थामा कसरी प्रतिरक्षा गरेर उम्कने भन्ने वारेमा सिकाइएको छ” उपप्रमुख माया शर्माले बताइन्।

प्रमुख प्रशासकीय अधिकृत आनन्द सारुले वित्तिय साक्षरताका बारेमा जानकारी दिँदै आर्थिक रुपमा समृद्ध बनाउनका लागि पैसा कसरी जोगाउने भन्ने बारेमा जानकारी हुनुपर्ने बताए।

पत्रकार दुर्गालाल केसीले कुनै पनि घटना सानो भनेर हेलचक्राइँ गर्दा ठूला घटना निम्तिने भएकाले सामान्य घटना हुँदा पनि कानुनी उपचार खोज्नुपर्ने कुरामा जोड दिए।

सांकतिक तस्बिर

प्रकाशित मिति: शुक्रबार, चैत १, २०७५  १७:३२
प्रतिक्रिया दिनुहोस्