site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विवादमा \'चट्ट रुमाल\', किन भिड्दैछन् सर्जक र रिमेकर ?

काठमाडौं । चलचित्र ‘आफ्नो मान्छे’मा समावेश गीत ‘चट्ट रुमाल क्या मालुम’ गीतका गीतकार तथा संगीतकारले उक्त गीतको रि–एरेन्जप्रति असन्तुष्टि जनाएका छन् । आफूसँग अनुमति नलिई गीत रि–एरेन्ज र नयाँ भोकल गरिएको प्रति गीतकार बाबुराम दाहालले असन्तुष्टि जनाएका छन् भने संगीतकार शम्भुजित बाँस्कोटाले रि–एरेन्जका लागि सम्झौता नभएको र आफूलाई गीत तयार भएपछि नसुनाइएको बताएका छन् । 

“मलाई एक पटक पनि सोधिएन । गीतकारका नाताले मलाई सोध्नुपथ्र्यो । आफ्नो सिर्जना नराम्रो हुँदा पक्कै पनि राम्रो लाग्दैन । म अरुका गीत तथा चलचित्रमा सुझाव दिने मान्छे आफ्नै गीतलाई थप राम्रो बनाउन पक्कै पनि जानेको सुझाव दिन्थेँ होला,” दाहालले बाह्रखरीसँग भने । 

केही दिन कुर्ने र यसलाई सुधारको बाटोतर्फ प्रोडक्सन टिमले ध्यान नदिए आफू चुप लागेर नबस्ने उनले बताए । “दर्शक तथा स्रोताले मन नपराएर गाली गर्न थालेपछि म पनि चुप लागेर बस्न सक्ने अवस्था आएन । एक दुई दिन अझै बाटो हेर्छु,” दाहालले भने, “करौडौं रुपैयाँ लगानी गरेको चलचित्रलाई असर गर्नेगरी किन आउनु भनेर चुप लागेर बसेको हुँ । तर, यो हेपाहा प्रवृत्ति भयो । हेपेर नै मलाई नसोधिएको हो ।”

यता गीत समेटिएको चलचित्र ‘यात्राः अ म्युजिकल भ्लग’ का निर्माता केशव भट्टराई भने गीतकार दाहालको तर्कलाई आरोप भन्छन् । अनुमतिका लागि खोज्दा गीतकार नेपालमा नरहेको र संगीतकार शम्भुजीत बास्कोटासँग आफूले अनुमति लिएको भट्टराई दाबी गर्छन् । 

“पछि उहाँले मलाई त सोध्नु पनि भएन भनेर भन्नुभयो, त्यो बेला मैले उहाँलाई तपाईंको फोन लागेन भन्दा उहाँले त्यो बेला आफू नेपालमा नरहेको बताउनु भयो । उहाँले अहिले आएर आरोप लगाउँदै हिँड्नुको कुनै तर्क छैन,” केशवले बाह्रखरीसँग भने, “मैले शम्भु दाइसँग अनुमति लिएको छु । उहाँले यो गीतले त मेरो भ्वाइस नै खोज्यो कि के हो भनेर भन्नुभएको हो । बाबुरामजीलाई हामीले कार्यक्रममा बोलाउँदा पनि आउनु भएन ।”

उनले कपीराइटबारे राम्रो अध्ययन गरेर मात्रै बोल्न पनि बाबुरामसहित सबैलाई सुझाव दिए । “चलचित्र आफ्नो मान्छेको म सोलो निर्माता हुँ । मैले त्यो बेला गीतकार, संगीतकार सबैलाई फुल पेमेन्ट गरेको छु । यो गीत मैले चलचित्रका लागि किनिसकेपछि यसमा मेरो एकल अधिकार हुन्छ,” केशव तर्क गर्छन्, “उहाँको आफ्नो एल्बमको गीत हुन्थ्यो र अहिले हामीले उहाँसँग अनुमति नै नलिई प्रयोग गरेको भए कपिराइटको कुरा आउँथ्यो । मैले पैसा तिरेर किनेपछि त्यो त्यतिबेलै मेरो भइसक्यो । बाँकी रह्यो– युट्युब र रेडियो, टेलिभिजनबाट आउने रोयल्टीमा मैले दाबी गरेको छैन र गर्दिन पनि ।”

संगीतकार शम्भुजित बाँस्कोटाले आफूसँग मौखिक रुपमा अनुमति लिए पनि लिखित सम्झौता नभएको स्पष्ट पारे । “दाजुभाइको नाताले अझै राम्रो गर्न सकिन्छ भने गर्नुस् न त भनेको हो । तर लिखित सहमति भएको थिएन,” बाँस्कोटाले बाह्रखरीसँग भने, “मैले गीत तयार भएपछि म सुन्छु भनेको थिएँ । तर सुनाइएन । गीत सार्वजनिक कार्यक्रममा मात्र बोलाइयो । मैले त्यहीँ गीत सुनेको हो, मलाई चित्त बुझेन र म हिँडे । गीत राम्रो छैन । मलाई चित्त बुझेन ।” उनले सबै पक्ष बसेर तत्काल समाधान खोजिने आफ्नो अपेक्षा रहेको बताए । 

यही गीतमा स्वर दिएकी गायिका मेलिना राईले पनि चलचित्रको निर्माण पक्षले पटक–पटक भोकल गरिएको फाइनल गीत अपलोड नगरेर नराम्रो गीत अपलोड गरेको भन्दै असन्तुष्टि जाहेर गरेकी छन् । 

“कुनै पनि लिजेन्डस्ले गाइसक्नुभएको र उही बेला सुपरहिट भइसकेको गीतलाई रिमेक गरेर बजारमा ल्याउनु आफैंमा ठूलो च्यालेन्ज थियो । त्यही कुरालाई ध्यानमा राखेर पूरा मेहनत गर्न पछि परेका थिएनौं,” मेलिनाले भनिन्, “मैले गीतलाई दुईचोटी भोकल गरेकी थिएँ । सुमन केसीले तीन पटक भोकल गर्नु भएको थियो तर उहाँको भ्वाइस राखिएको छैन । श्यामश्वेत दाइले तीन पटक मिक्सिङ गर्नुभएको छ र अरु बाजा पनि राखिएको थियो । तर त्यति गेरर तयार गरिएको फाइनल गीत नराखेर त्यही थोत्रे पुरानै गीत राखियो ।” 

फाइनल गीत रिप्लेस गर्न आग्रह गर्दा पनि नसुनिएको भन्दै उनले गुनासो गरिन्, “ट्रेन्डिङ र भ्युजको अनहेल्दी प्रतिस्पर्धामा हामीलाई पनि पारियो । हाम्रो पनि बोल्ने अधिकार छ । टिमप्रति घोर निन्दा गर्छु ।” 

मेलिनाको असन्तुष्टिको पनि केशव आलोचना गर्छन् । एक वर्ष अगाडि मेलिनाले गीत रेकर्ड गरिसकेर खुसी भएर पारिश्रमिक लिएर गएको उनी बताउँछन् । “गीत रेकर्ड गरेर अंगालो मारेर अवसरका लागि धन्यवाद भन्दै फुल पेमेन्ट लिएर हिँड्नु भएको हो,” केशव अगाडि भन्छन्, “पछि केही भाइहरुले गीत अझै राम्रो बनाउन सकिन्छ कि भनेर ट्रयाक लिएर हिँडेका थिए । उहाँले कहाँ कस्तो गाउनु भयो, मलाई थाहा छैन । गज्जबको कुरा ! उहाँ नै अहिले विरोध गर्दै हिँड्नु भएको छ ।” 

भट्टराईले दुई तीन दिनमा पत्रकार सम्मेलन गरेर आफूले वास्तविकता सार्वजनिक गर्ने बताए । 

चलचित्र ‘आफ्नो मान्छे’ मा समावेश गीत ‘चट्ट रुमाल’लाई रि–एरेन्ज गर्दै ‘यात्राः अ म्युजिकल भ्लग’ मा समावेश गरिएको हो । सञ्चारकर्मी बाबुराम दाहालको शब्द रचनामा तयार गीतमा पुरानो भर्सनमा संगीत शम्भुजित बास्कोटाको छ । शम्भुजित र साधना सरगमले स्वर दिएका थिए । रि–एरेन्ज गरिएको गीतमा मेलिनासँगै धर्मेन्द्र सेवानको स्वर छ । राजन इशानले रि–एरेन्ज गरेका हुन् । चलचित्रलाई केशव भट्टराई र सुशील पौडेलले संयुक्त रुपमा निर्माण गरेका छन् । 

पुरानो गीत

नयाँ गीत

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २६, २०७५  १४:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro