‘फागुन ३ बुलबुलको दिन’ स्लोगन नै बनाएर चलचित्र ‘बुलबुल’ युनिटले चलचित्रको प्रचार गरिरहेको थियो । ट्रेलरमा टेम्पो चालकको रुपमा देखिने रणकला (स्वस्तिमा खड्का) र चोपेन्द्र (मुकुन भुषाल) ले मन तानिसकेका थिए । जान त ३ गते नै मन थियो तर ४ गते पनि अवसर जुटेन ।
५ गते बिहान ८ बजे कुमारी हल पुग्दा अघिल्लो दिन सोही समयमा त्यही हलमा लागेको चलचित्र (बुलबुल) थिएन । कुमारीकै नजिक रहेको बिग मुभिजमा पनि ‘बुलबुल’को शो थिएन । बिग मुभिजबाटै चलचित्रका मुख्य पात्र मध्येका एक मुकुनलाई फोन लगाएँ, कुन–कुुन मल्टिप्लेक्समा कुनकुन शो छ भनेर सोध्न । तर, फोन उठेन ।
पत्रकार तथा चलचित्र लेखक सामिप्यराज तिमल्सिनाको नम्बर डायल गरेँ । उनले एकै छिनमा कलब्याक गरे, ‘नरेश, दिउँसो सवा १२ बजेको शो सिभिलमा हेर्नुपर्ने भयो ।”
दिमागमा ‘रणवीर’ आइपुग्यो । ‘रणवीर’ निर्देशक गोविन्द सिंह भण्डारीको स्वर गुञ्जियो, “हिजो लागेको ठाउँ र समयमा आज चलचित्र छैन । आज लागेको हल र समयमा भोलि जाँदा छैन, साथीहरुले यही गुनासो गरिरहेका छन् । चलचित्र बनाउनभन्दा चलाउन गाह्रो रहेछ ।” उनको गुनासो थियो, –कम्तिमा जति शो छ सुरुमै लागेको हलमा सुरुकै समयमा लगाउँदा दर्शक फर्किनु पर्दैन थियो ।
मुकुनको कल मोबाइलमा बज्यो । “तपाईंले आज मलाई एक ट्यांकी तेल हाल्दिनुपर्छ, किन थाहा छ ?” मैले प्रश्न गरेँ । उनलाई थाहा होस् पनि कसरी ? मैले नै भनेँ, “बिहानदेखि पूरै काठमाडौंका हल पुगिसकेँ, कतै पनि छैन तपाईंको ‘बुलबुल’ । तपाईंसँग हलमा भेट नहुने भयो । आउनुस् सुन्धारा हलबाहिरै भेटौं ।”
उनले भने, “हो ? मलाई पनि थाहा छैन । कहाँकहाँ लागिराखेको छ पत्तै नहुने र’छ नि सर । कहाँ कहिले लाग्छ भनेर,” मुकुनको गुनासो पनि त्यही ।
१२ बजे सिभिल कम्पाउन्डको बक्स अफिसमा लाइन बसेँ, हातमा हजार रुपैयाँको नोट बोकेर । लाइनमा म अगाडि त्यस्तै ७–८ जना थिए होला । ‘बुलबुल’सँगै हलमा थिए, बलिउड मुभी ‘गल्ली ब्वाई’ र हलिउड मुभी ‘एलिटा’ । कोही ‘गल्ली ब्वाई’ कोही ‘एलिटा’ त कोही ‘बुलबुल’ को टिकट काटिरहेका थिए । मभन्दा दुई जना अगाडि एक अधबैंसे पुरुष थिए । पालो उनको आयोे । उनी टिकट माग्न खोज्दै थिए, पछाडि हल्ला गरिरहेका दुईमध्ये एक युवकले भने, “अनुहार हेर्दै थाहा हुन्छ नि त्यसले कुन फिल्म हेर्छ भनेर ! हेर् है, त्यसले नेपालीको टिकट माग्छ ।” उनले नेपाली चलचित्रकै टिकट मागे । दुई भाइ गलल्ल हाँसे ।
पछाडि फर्किएँ । अनुमान लगाउन कठिन थिएन ब्याचलर्सका विद्यार्थी हुन् भन्ने । मुखभरीको जवाफ जिव्रोमै आइसकेको थियो । भन्न मन लागेको थियो, “भाइहरु, अंग्रेजी र हिन्दी फिल्म हेर्दैमा कोही महान व्यक्ति हुँदैन । नेपाली हेर्दैमा त्यो ‘पाखे’ पनि हुँदैन ।”
तर आफैँले आफैँलाई रोकेँ । हिन्दी र अंग्रेजी चलचित्रको तुलनामा नेपाली चलचित्रको गुणस्तर कम होला तर अनुहारले चलचित्र हेर्दैन । र, नेपाली चलचित्र हेर्दैमा कोही अनपढ वा अबुझ हुँदैन ।
निरन्तर नेपाली चलचित्र एकपछि अर्को घाटामा गइरहेका छन् । स्टार भनिएकाहरुका चलचित्रले पनि दर्शक तान्न छोडिसकेका छन् । हलमा दर्शकको खडेरी छ । तर पनि चलचित्र बनिरहेकै छन् । कति त्यस्ता निर्माता पनि छन् जो अघिल्ला चलचित्रले पोस्टर टाँसेको पैसा नउठाउँदा पनि चलचित्र बनाइरहेकै छन् । किन ?
कति यस्ता चलचित्र निर्माता तथा निर्देशक पनि छन् जो चलिरहेको बजारभन्दा बाहिर गएर पनि चलचित्र निर्माण गरिरहेका छन् । बजारले हाँसो ठट्टाकै चलचित्र मागिरहेको छ । बनाउनेलाई दर्शकको अनुराग पनि थाहा छ तर किन उनीहरुले बजारको चाहना र चलिरहेको फर्मुलालाई छोडेर चलचित्र बनाइरहेका छन् ?
करोड रुपैयाँभन्दा तल चलचित्र बन्दैन । औंला बाङ्गो नबनाउने नेपालीका लागि करोड रुपैयाँ जुटाउन कति कठिन छ ? सबैलाई थाहा छ । कि काठमाडौंको चार आना जग्गा बेच्नुपर्छ हैन भने घर धितो राखेर बैंकबाट ब्याजमा पैसा लिनुपर्छ । बजारमा चल्छ भन्ने पनि छैन तर पनि के कारणले जोखिम मोलिरहेका छन् केही चलचित्रकर्मी ? दर्शकको अनुराग एकातिर चलचित्र अर्कैतिर किन ?
“मलाई थाहा छ, यो चलचित्रलाई लगानी उठाउन मुस्किल छ र मलाई यो पनि थाहा छ, अधिकांश दर्शकले मलाई गाली गर्नुहुन्छ भनेर,” त्यसो भए केका लागि बनाउनु भयो त बुलबुल ? जवाफमा निर्देशक तथा लेखक विनोद पौडेल भन्दै थिए, “हाम्रै कथा हाम्रै शैलीमा दर्शकलाई भन्न मन थियो मलाई । बलिउड फर्मुलामा बनेका हिन्दी र नेपाली चलचित्र हेर्ने बानी परेका नेपाली दर्शकलाई हाम्रो आफ्नै चलचित्र हेर्न बानी पार्नुछ । एउटा, दुईटा चलचित्रमा गाली गर्नु होला तर तेस्रो चलचित्रमा पुग्दा त हाम्रो आफ्नै चलचित्र त यस्तो पो हो रहेछ भन्ने त थाहा पाउनुहुनेछ र हामीले बनाएका हाम्रै चलचित्र मन पराउन थाल्नुहुनेछ ।”
यस्ता निर्देशक, निर्माता चलचित्रकर्मी जो आफ्नै चलचित्र बनोस् र बजार खोज्दै विदेशसम्म पुगोस् अनि कलिउडको परिचय दिओस् भन्ने पनि छन् । यिनीहरुलाई साथ दिने कि नदिने ? अघिल्लो महिना चलचित्र ‘गोपी’को रिलिजपूर्व पुतलीसडकको पलेँटीमा भेटिएकी अभिनेत्री सुरक्षा पन्त भन्दैथिइन्, “म नेपाली मौलिक कथा र शैली बोकेका चलचित्रका लागि कहिल्यै पनि पैसामा वार्गेनिङ गरेको छैन र गर्दिन पनि । कोही मौलिक कथामा चलचित्र बनाउँदै हुनुहुन्छ भने मलाई सम्झिनु भए हुन्छ ।”
इन्जिनियरको आकर्षक पेशालाई नजरअन्दाज गरेर सुरक्षा किन पारिश्रमिक हैन, मौलिक कथालाई प्राथमिकतामा राख्छु भन्दैछिन् त ? उनलाई सुन्ने र संगत गर्नेहरुलाई भलीभाँती थाहा छ उनी नेपाली फर्मुलाका चलचित्रमा लगाव राख्छिन् ।
हिन्दी र अंग्रेजी सिनेमा हेर्दैमा उपल्लो क्लासको भइन्छ भन्ने भ्रम पालेर टिकटको लामो लाइनमा बस्नेहरुको संख्या सानो छैन । ‘अनुहार हेर्दै थाहा हुन्छ नि कुन फिल्म हेर्छ’ भन्ने नेपाली सोचले नेपाली चलचित्रकर्मीलाई हतोत्साही बनाउनेमात्रै होइन, दशकौं पछि धकेल्छ । यही चेत भएका मेकरहरुले आफ्नै करेसाको कथा भन्ने प्रयास गरे । ‘पशुपतिप्रसाद’मा दीपेन्द्रले अभावको कथा भने, ‘गोपी’मा दीपेन्द्र लामाले गोठको कुरा गरे, ‘बुलबुल’मा विनोदले टेम्पोचालक नव यौवना महिलाको मनोवृत्तिको कुरा देखाए ।
आफ्नै करेसाबारीको कथा भन्ने चलचित्रलाई प्रोत्साहन गर्ने कि निरुत्साहन ? जिम्मा नेपालीकै हो । तर यहाँ हेर्दै नहेरी नेपाली सिनेमा झुर भनेर चियागफ मात्रै होइन लामालामा आर्टिकल लेख्ने प्रवृत्ति छ । यो प्रवृत्तिको अन्त्य नभएसम्म ‘बुलबुल’, ‘पशुपतिप्रसाद’, ‘गोपी’, ‘कालो पोथी’ जस्ता चलचित्रका मेकरहरु फर्किँदैनन् । र उही बलिउड फर्मुलाकै बाटोमा कलिउड हिँडिरहनेछ, विना पहिचान र विना अर्थ ।