चलचित्र ‘रणवीर’ अहिले नेपाली चलचित्र घरहरुमा प्रदर्शनरत छ । गुण्डागर्दी विरुद्धको एक्सन र लभ स्टोरी चलचित्र ‘रणवीर’लाई गोविन्द सिंह भण्डारीले निर्देशन गरेका छन् । कथा पनि निर्देशक स्वयम्ले लेखेका छन् । भारतको तेलङ्गना प्रदेशमा चलचित्र मेकिङ सिकेका भण्डारीले आधा दर्जन तेलगु मुभीमा असिस्ट गरे । ‘रणवीर’ उनको डेब्यू निर्देशन हो तर उनी आधा दर्जन नेपाली चलचित्रमा पनि असिस्ष्ट गरेपछि निर्देशनमा उत्रिएका हुन् । ‘मञ्जरी’, ‘अधकट्टी’, ‘हैरान’, ‘गाजाबाजा’, ‘चिनी कम रङ कडा’ उनले असिस्ट गरेका चलचित्र हुन् । ‘रणवीर’बाट आफूले चलचित्र मेकरहरुबाटै तारिफ पाएका गोविन्द चलचित्र राम्रो भएर मात्रै नहुने भन्दै मार्केटिङमा जोड दिन्छन् । उनै गोविन्दसँग बाह्रखरीका नरेश फुयाँलले गरेको कुराकानीः
० ० ०
चलचित्र प्रदर्शनमा आइसकेको छ, दर्शकको प्रतिक्रिया कस्तो आइरहेको छ ?
जसरी फिल्ममेकरहरुले खुलेर तारिफ गरिरहनु भएको छ, त्यस्तै दर्शकले पनि राम्रो प्रतिक्रिया दिइरहनु भएको छ । चिन्दै नचिनेकाहरुले पनि तारिफ गरेर स्क्रिनसटहरु पठाइरहनु भएको छ । चलचित्र डिजाइन गर्दा र लेख्दाखेरी नै दर्शकले म पराउनुहुन्छ भन्नेमा विश्वस्त थिएँ । तर यति खुलेर बोलिदिनुहुन्छ भनेर सोचेको थिइनँ । नाम चलेका कलाकार र निर्देशकका राम्रा चलचित्रलाई सबैले तारिफ गर्नुभएको छ तर हाम्रो चलचित्रमा क्वालिटीको कुरा गर्नुभएको छ । बलिउड र साउथ इन्डियन चलचित्रसँग तुलना गरिदिनुभएको छ । चलचित्र बुझेको मात्रै होइन, दर्शकले पनि यसरी फिडब्याक दिनु मेरा लागि अनपेक्षित थियो ।
तपार्र्ईंले चलचित्रले पाएको तारिफको कुरा गरिरहँदा हलमा दर्शकको बाक्लो उपस्थिति छैन नि !
यसमा धेरै कुराले अर्थ राख्छ । एउटा प्रचार र अर्को तीन वटा चलचित्र एकैपटक रिलिज भएका छन् । शोको समय पनि मिलेको छैन । एउटा थिएटरमा एउटा शो छ । तीनवटा थिएटरमा एउटा–एउटा शो लगाउनुभन्दा एउटैमा तीनवटा लगाएको भए दर्शकलाई सहज हुनेथियो । पब्लिसिटी डिजाइनमा पनि हामी चुक्यौं कि भन्ने लाग्छ ।
मार्केटिङ कमजोर भयो भन्ने हो ?
चलचित्रको तारिफ सबैले गर्ने हलमा हाउसफुल नहुनुको कारण ठ्याक्कै यही नै हो भनेर त म भन्न सक्तिन । पहिलो निर्देशन हो ‘रणवीर’ मेरो । म चलचित्रलाई कसरी राम्रो बनाउने भन्नेतर्फ मात्रै लागेँ । पब्लिसिटीको जिम्मा प्रोडुसरकै हो । चलचित्र कसरी बेच्ने त्यो मलाईभन्दा बढी प्रोडुसरलाई नै थाहा हुन्छ ।
साउथ इन्डियन फिल्मसँग तुलना गरिएको छ । तपाईंले आफैँले भन्नुपर्दा खास कुरा के हो ?
यो पूर्ण मनोरञ्जनात्मक चलचित्र हो । फिक्सन र रियालिटीलाई मिसाएर बनाइएको चलचित्र हो । रह्यो कुरा साउथ इन्डियन मुभीसँगको तुलनाको, म जन्मेको मात्रै नेपालमा हो । मेरो ८० प्रतिशतभन्दा धेरै समय भारतमा बितेको छ । मैले पढेको र फिल्म मेकिङ सिकेको पनि भारतमै भएकाले त्यसको प्रभावित हुनु स्वाभाविक हो । अमेरिकामा बसेर ४ वर्ष पढेर आउँदा त उसमा अमेरिकाको रहनसहन देखिन्छ भने म त जन्मेहुर्केको र पढेको नै उतै भएकाले स्वाभाविक लाग्छ ।
नेपाली चलचित्रलाई सधैँ बलिउडको कपी गरेको आरोप लाग्छ । पछिल्लो केही समय मौलिक चलचित्र बन्न थालेका थिए । तपाईंले साउथ फ्लेबरमा ‘रणवीर’ बनाउनु भयो । अब नेपाली चलचित्र साउथ इन्डियनतर्फ ढल्किन खोजेको हो ?
कपी त गलत वर्ड हो । संसारमा चलचित्र कसैको पनि हुँदैन । हलिउड, बलिउड जहाँ जे भने पनि चलचित्र भनेको इन्टरटेन्मेन्ट हो । पुस्तकदेखि नाटकसम्म मनोरञ्जन नै हो । सेक्सपियरका पुस्तकमा हामी चलचित्र बनाइरहेका छौं । दर्शकलाई सन्तुष्ट बनाउनु हाम्रो काम हो । कुनै राम्रो टेक्नोलोजी प्रयोग गरेर चलचित्र बनाउनु गलत होइन । सबैले एकै खाले चलचित्र बनाउँछ भन्ने पनि छैन । सबैले मौलिक चलचित्र चाहेर पनि बनाउन सक्तैन । विषयवस्तु र स्थानीयताबारे मेकरलाई जानकारी नहुन पनि सक्छ । स्कुलिङमा भर पर्ने कुरा हो ।
प्रशान्त ताम्राकार र सुशील सिटौलालाई भिडाउनु भएको छ, कत्तिको विश्वास गरे दर्शकले ?
दर्शकले स्वीकार गरिसक्नुभयो । चलचित्रको एनाउन्स गर्दा पत्रकारको पहिलो प्रश्न नै यही थियो । मैले त्यो बेला भनेको थिएँ– मैले विश्वास गरेर नै सुशीललाई लिएको हुँ । चलचित्रमा हेरेपछि तपाईंहरुले विश्वास गर्नुहुन्छ । चलचित्र रिलिज हुँदा मैले प्रुभ गरेर देखाएँ । शारीरिक रुपमा भन्दा इमोशन मुख्य कुरा हो । उसले कसरी हिर्काउँछ भन्दा पनि उसमा रिस कसरी उठेको छ र त्यसको प्रतिकारका लागि उसले के गर्छ भन्ने कुरा हो । इमोशन देखाउन सकियो कि सकिएन पर्दामा त्यसले पुष्टि गर्छ । रियल लाइफमा गर्न नसक्ने कुरा रिल लाइफमा देखाएका हौं हामीले ।
नेपाल र बलिउडका चलचित्रमा फरक के रहेछ ?
त्यस्तो फरक त खास केही छैन । चलचित्रभित्र हुने उतारचढाव त उही नै हो । भारतीय कलाकार तथा क्रू मेम्बरमा आफ्नो कामप्रति उच्च डेडिकेशन र पङ्चुवल छ जुन नेपालमा छ । भारतमा कलाकार र निर्देशकलाई जसरी इज्जत गरिन्छ, त्यो नेपालमा पाइन । जुन काममा आउने हो, त्यसप्रति सम्मान छैन यहाँ । पैसा लिएर काम गर्यो सकियो । कामप्रति इज्जत छैन । यद्यपि केही सुधार नेपालमा पनि हुन थालेको छ । ‘मञ्जरी’ देखि ‘रणवीर’सम्म आइपुग्दा त्यो महसुस मैले गरेको छु ।
भारतीय चलचित्र हामी खोजीखोजी हेरिरहेका छौं, तर हामी आफ्नै चलचित्र चाहिँ किन हेरिरहेका छैनौं ?
बलिउडमा वर्षमा हजारभन्दा धेरै चलचित्र बनिरहेका हुन्छन् । त्यसमा मुस्किलले १० वटा चलचित्र हामी हेर्छौं । हाम्रोमा सयवटा निर्माण हुँदा एकदुई वटा चलिरहेका हुन्छन् । त्यसैले उस्तैउस्तै हो जस्तो लाग्छ । चलचित्र निर्माणको इतिहास लामो छ बलिउडको । बजार ठूलो छ । बलिउडमा पनि कैयौं बकवास चलचित्र बनिरहेका छन् । हामीले नोटिस मात्रै नगरेका हौं ।
त्यसो भए विषयवस्तु र मेकिङका हिसाबले हामी चित्तबुझ्दो अवस्थामा पुगिसक्यौं ?
त्यसो पनि भनिन मैले । गर्न धेरै बाँकी छ । र, गर्न पनि सक्छौं । निराशाजनक अवस्थामा छैनौं । नयाँ सोच र विषय लिएर मेकरहरु आइरहेका छन् । फरक–फरक जानरामा प्रयास भइरहेको छ ।
व्यावसायिक हिसाबले त हामी निकै पछि छौं, किन ?
यो कुरालाई प्रोडुसर र वितरकले मनन् गर्नुपर्ने अवस्था आइसकेको छ । हामी कलाकार र निर्देशक त आर्टभित्र पर्छौं । चलचित्रको प्रदर्शन विजनेश हो । विजनेशको पाटोमा प्रोडुसरले ध्यान दिनुपर्छ । हामी त सहयोगी मात्रै हौं । चलचित्र कसरी राम्रो बनाउने कलाकार निर्देशकको काम हो । प्रदर्शनको पाटो प्रोडुसर र वितरकको हो । यसमा पर्याप्त रिसर्च हुनु आवश्यक देखिन्छ । निर्मातालाई जुन दिन निर्देशकले कथा सुनाएको हुन्छ यस्तो चलचित्र बनाउँछु भनेर त्यसलाई पर्दामा उतार्ने निर्देशक र कलाकारको काम हो । व्यापार दिने र गर्नेमा गएपछि त्यो हाम्रो हातबाट उम्किसक्छ ।
स्क्रिप्टको ७० प्रतिशत पनि पर्दामा देखाउन सकिरहेका छैनन् नेपाली निर्देशकले भनिन्छ नि !
मेरो पक्षमा कुरा गर्ने हो भने म ७० प्रतिशतभन्दा निकै माथि थिएँ । तर पनि म सतप्रतिशत सन्तुष्ट भने छैन । पेपरमा रहेको कुरा पर्दामा देखाउनलाई निर्देशकको मात्रै हुँदैन । धेरै पक्ष हुन्छन् तर निश्चय पनि निर्देशकको धेरै हात हुन्छ । काम गर्ने सबै व्यक्तिलाई मेरो दिमागमा यस्तो छ है भनेर बुझाउन धेरै समय लाग्छ । कतिले मेरो तरिकाले बुझ्छ तर कतिले उसको आफ्नै तरिकाले बुझ्दा भनेजस्तो हुन सक्तैन । तर म धेरै नजिक थिएँ ।
नेपाली र हिन्दी भाषामा धेरै समानता छ र हाम्रो कल्चर पनि मिल्छ । तर त्यहाँको हिन्दी चलचित्र नेपालमा चल्ने तर हाम्रो नेपाली चलचित्र भारतमा किन नदेखाउने ?
मलाई पनि निकै धेरै खड्किएको पक्ष हो । सन् २००५ सम्म पनि बलिउडका चलचित्रले अहिले जसरी हामी विदेशमा नेपाली चलचित्र देखाइरेका छौं त्यसरी नै देखाउँथे । एसराज, करन जोहरको कम्पनीले जसरी बजार डिल गरेर बजार बिस्तार गर्दै गए, त्यसपछि उनीहरुका चलचित्र एकैपटक हजारौं थिएटरमा लाग्न थालेका हुन् । हाम्रा प्रोडक्सन हाउसहरुले पनि भारतीय बजार एनलाइसिस गरेर त्यहाँका कम्पनीलाई चलचित्र बेच्न सक्नुपर्छ ।